टिप्पणीबुधवार, चैत्र २१, २०७४

प्रधानमन्त्रीकाे पहिलाे विदेश भ्रमणमा किन पर्‍याे दिल्ली

विष्णु रिजाल

नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण आफूकहाँ होस् भन्ने सदाबहार भारतीय चाहनाका कारण यहाँ सरकार बन्नासाथ कुनै ‘अजेन्डा’ नभए पनि दिल्ली यात्रा भइहाल्ने गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमणको मिति घोषणा हुन बाँकी छ, तर चैत अन्तिम साता दक्षिणी छिमेकी भारत जाने भित्री तयारी अन्तिम चरणमा पुगेको बुझिन्छ ।

अघिल्लो पटक झैं अहिले पनि कुनै ठोस ‘अजेन्डा’ नभए पनि प्रधानमन्त्री ओलीले सद्भावना भ्रमण गर्ने तयारी छ । दुईचार विषयमा छलफल हुनु र हस्ताक्षर गरेर शोभा बढाउनु बेग्लै कुरा, तर अहिले नेपाल र भारतका बीच प्रधानमन्त्री तहको भ्रमण हुनुपर्ने ‘अजेन्डा’ देखिंदैन । तथापि, प्रम ओलीले पहिला भारत र त्यसपछि चीन भ्रमण गरेर देशभित्र ध्यान केन्द्रित गर्न चाहेको देखिन्छ ।

निरन्तरको भारतीय पहल
हालै सम्पन्न निर्वाचनमा केपी ओली नेतृत्वको वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाउनका लागि अरू नेतालाई समेत फोन गरे पनि बधाईका मुख्य पात्र ओली नै थिए ।

ओलीले पदभार ग्रहण नगर्र्दै मोदीले दोस्रो पटक फोन गरेर त्यही वार्ताका आधारमा विदेशमन्त्री सुषमा स्वराजलाई नेपाल भ्रमणमा पठाए ।

कूटनीतिक अभ्यास र आवश्यकताभन्दा बाहिरको उक्त भ्रमण नेपालका लागि भन्दा ओलीका लागि थियो भन्ने कुरा उनले दिएका अभिव्यक्ति र महत्वले त्यतिबेलै देखाइसकेको छ । त्यसको मुख्य उद्देश्य प्रधानमन्त्री हुनासाथ ओलीलाई भारत बोलाउनु थियो ।

केपी ओली नेपालको सत्तामा आउने कुरा भारतका लागि प्रीतिकर थिएन भन्ने कुरा कसैबाट लुकेको छैन । संविधान लेख्ने वेलादेखि चिसिएको सम्बन्धलाई उनी प्रधानमन्त्री हुँदा गरिएको औपचारिक भारत भ्रमणले पनि न्यानो बनाउन सकेन ।

भ्रमणपछि जारी हुने संयुक्त वक्तव्यसमेत रोकिएको परिस्थितिलाई भारतले पक्कै पनि बिर्सेको छैन । संविधान विभेदकारी छ भनेर भारतले नेपालका मधेशकेन्द्रित दलहरूलाई त उचाल्यो नै, अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत नेपालको बेइज्जत गर्न खोज्यो ।

नेपालमा त्यही संविधान सहज ढंगले कार्यान्वयन भएपछि भारतका सामु बहादुरीका साथ पछि हट्नुबाहेकको विकल्प रहेन । अनि ओलीसँगको हार्दिकतामा नयाँ अध्याय शुरू गरेको बुझ्न सकिन्छ ।

भारतीय प्रधानमन्त्री मोदीले फोन गर्दा, विदेशमन्त्री सुषमा स्वराजलाई नेपाल पठाउँदा र ओलीका प्रतिनिधिका रूपमा दिल्ली गएका व्यक्तिहरूसँग भारतीय अधिकारीहरूले कुरा गर्दा नै प्रम ओलीको पहिलो विदेश भ्रमण भारत हुनेछ भन्नेमा सहमत गराएका कारण यहाँ सरकार बन्नासाथ भ्रमणको तयारी शुरू भएको बुझाइ छ ।

प्रतिकूलताभित्र अनुकूलता खोज्नु कूटनीतिमा महत्वपूर्ण मानिन्छ । ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदाको असहज अवस्थामा पनि भारतले उनलाई दिल्लीमा स्वागत गर्ने सफलता पाएको थियो ।

कमल थापालाई परराष्ट्र मन्त्रालयको बागडोर मिल्नु पनि त्यही सफलताको एउटा कडी थियो । भारतले यसपटक पनि नेपालमा आफूलाई बलियो बनाउने अभ्यास मन्त्रिपरिषद् गठनदेखि नै गरेको छ ।

राजदूतको सक्रियता
आफ्ना देशका नीतिहरू कार्यान्वयन गर्ने प्रमुख अधिकारीका रूपमा राजदूतले खेल्ने भूमिकाले दुई देशबीचको सम्बन्धमा प्रभाव पार्ने अनुभव नेपालले राम्ररी गरेको छ ।

विगतका कतिपय भारतीय राजदूतका व्यक्तिगत व्यवहार, कुरा गर्ने शैली, सार्वजनिक अभिव्यक्ति, नेपालका प्रधानमन्त्रीलाई भेट्न जाँदा लगाउने लुगा, बस्ने तरिका जस्ता कुराले आलोचित बनाएका थिए । राजदूत मञ्जीवसिंह पुरी अहिले त्यस्ता विवादमा अल्झ्एिका छैनन् ।

सरकारी नोकरीको अन्तिम ‘असाइनमेन्ट’ का रूपमा काठमाडौं आएयता उनले नेपालको नेतृत्व तहसँग सुमधुर सम्बन्ध बनाइरहेका छन् ।
प्रम ओलीसँग राजदूत पुरीको व्यक्तिगत रूपमा समेत सहज पहुँच छ ।

ओलीको जन्मदिनमा उनले श्रीमतीसहित बालुवाटार पुगेर शुभकामना मात्र दिएनन्, ओली टेबुलटेनिस खेल्छन् भन्ने थाहा पाएपछि त्यसको सेटै उपहार दिए । यी अनुभवी कूटनीतिज्ञले ओलीसँग ती चीज छैनन् भनेर होइन, कूटनीतिमा यस्ता कुराले अर्थ राख्ने हुनाले उपहार दिएका हुन् ।

कुनै पनि दूतावासको काम दुई देशबीच सम्बन्ध सहज बनाउने नै हुन्छ । काठमाडौंको भारतीय दूतावास चाहिं सामान्यतः त्यतिमा सीमित नरहँदा आलोचित भएको कुरा बुझेर नै हो, राजदूत पुरीले सम्बन्ध सहजीकरणमा ध्यान केन्द्रित गरेको देखिन्छ । उनले ओलीसँग मिलेर काम गर्न सकिन्छ भन्ने विश्वास आफ्नो सरकारलाई दिलाउने भूमिका खेलेका छन् ।

सम्बन्ध सुधारको चाहना
नेपाल र भारत धेरै विषयमा समानता भएका मुलुकहरू हुन् । यस्तोमा त्यति नै जटिलताहरू हुन्छन् । केही भन्नुपर्दा हाम्रा लागि भारत सहज छ । त्यही सहजताभित्रको जटिलताले सम्बन्धलाई असहज बनाइरहेको छ ।

नेपालले कूटनीतिका सीमारेखाहरू धुमिल भएर अरू सम्बन्ध हावी हुने खतरा भोग्दै आएको छ । भारतसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ भन्नेमा कुनै नेता, पार्टी वा सरकारको विमति छैन । सम्बन्ध सुमधुर बनाउने तरिका वा बुझइ फरक छ ।

त्यही फरकपन असहज लाग्दा भारतले नेपाली नेताहरूसँग व्यवहार परिवर्तन गर्ने गर्छ । केपी शर्मा ओली त्यसका एक उदाहरण हुन् ।

भारतसँग राम्रो सम्बन्ध राख्नुपर्छ भन्ने मान्यता समकालीन नेपाली नेतामध्ये ओलीमा बढी छ । नेपाल–भारत सम्बन्धका कडीहरूका विषयमा ओलीको व्याख्या सुन्दा कुनै कूटनीतिक अध्येताभन्दा कम प्रतीत हुँदैन ।

पौराणिक कालका कथादेखि भौगोलिक सहजतासम्मका उनका व्याख्यामा दुई देशबीचको अन्योन्याश्रित सम्बन्ध अरू देशहरूको भन्दा फरक छ भन्ने झ्ल्किन्छ । तथापि, संविधान निर्माणका वेला उनले लिएको अडानका कारण भारत चिढियो ।

तर, ओली भारतसँग दूरी कायम गर्न चाहँदैनन् भन्ने पहिले र अहिले आफ्नो पहिलो विदेश गन्तव्यका रूपमा दिल्लीलाई छान्नुले स्पष्ट पार्छ ।
प्रम ओलीले धेरै ठूला सपना देखाएका छन्, जनतामा आशा जगाएका छन् । ती सपना र आशाको परिपूर्ति सानोतिनो आँट र योजनाबाट सम्भव छैन ।

निर्वाचनमा सुविधाजनक बहुमत र पार्टी एकताले आन्तरिक रूपमा बलियो भएको अवस्थामा पनि बाह्य शक्तिहरूसँग सन्तुलित सम्बन्ध राख्न नसके गाह्रो हुन्छ भन्ने तथ्य ओली जत्तिको अनुभवी राजनीतिज्ञलाई थाहा नहुने कुरै भएन ।

भारतसँग हाम्रो राजनीतिभन्दा बढी अर्थतन्त्र जोडिएको छ । भारतसँग पैसा छ, त्यसभन्दा बढी नेपालका योजनाहरूप्रति चासो छ । यो अवस्थामा भारतलाई सन्तुलनमा राखेर अरू मुलुकसँग पनि सहकार्य गर्दा मुलुकका लागि फलदायी हुन्छ भन्ने बुझइ ओलीमा छ ।

भारतसँग सम्बन्ध राख्दा चीन झस्किन्छ कि भन्ने बुझाइ प्रम ओलीमा छैन । उच्च तहका प्रायः हरेक भेटमा चिनियाँ पक्षले नछुटाएर भन्दै आएको कुरा हो– भारतसँग राम्रो सम्बन्ध राख्नुस् ।

भारतसँग राम्रो सम्बन्ध राख्नुको अर्थ चीनसँग नराम्रो सम्बन्ध राख्नुपर्छ भन्ने होइन । भारतसँग जत्तिकै राम्रो सम्बन्ध चीनसँग पनि राख्नुपर्छ, राख्न सकिन्छ ।

वर्षौंदेखि हुन नसकेका सम्झाैताहरू गरेर चिनियाँ पक्षको विश्वास जितेका र असल मित्रका रूपमा चिनियाँ नेतृत्वमा छाप बनाइसकेका ओलीले दक्षिण जत्तिकै उत्तरलाई पनि विश्वासमा लिएका छन् ।

आश्चर्यजनक रूपमा विकासमा प्रगति गरिरहेको चीनबाट रेल ल्याउने ओलीको गृहकार्यबाट भारत बेखबर छैन । सम्बन्धको सन्तुलन यहींनेर आवश्यक छ ।

पढ्नुहाेस् । 

सम्बन्ध सुधार्न आतुर भारत

प्रमको भारत भ्रमणः दिल्लीमा आत्मसम्मानको परीक्षा

प्रतिकृया दिनुहोस