थप समाचारबुधवार, चैत्र २१, २०७४

बेचिएकी चेली १७ वर्षपछि घर फर्किइन्

हिमालखबर

भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिइनन् ।

पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न जाँदा नशालु पदार्थ खुवाएर विसं २०५८ मा दलालहरुले अपहरण गरी उनलाई भारत पुर्‍याएर बेचेका थिए । “यहाँबाट लगेपछि कोठामा थुनेर राखे, होशमा आउने बित्तिकै नशालु सूई लगाएर बेहोस बनाउँथे,” ताराले भनिन् – “कहाँ लग्दैछ थाहा पाउने कुरै भएन । कार चढेर आउनेसँग एक हातमा पैसा लिन्थे, अर्का हातले मेरो हात सुम्पन्थे । चार पाँच ठाउँमा यसैगरी बेचिएँ ।”

“डेढ वर्षसम्म रोइ नै रहेँ, रोएको कसैले सुनेनन्, नशालु सूईका कारण अहिलेसम्म मेरो दिमागले कति बेला कामै गर्दैन, के बोल्दैछु, कहाँ हिँड्दैछु थाहा हँुदैन” – उनले भनिन् ।

हरियाणाको कैथल जिल्ला तहसिलका जसकरण सिंहसँग ताराले घरजम गरेकी छन् । यो दम्पतीको अहिले १५ वर्षको छोरो छ । सिसैया झलारी नेपाल मात्रै नाम थाहा थियो ताराले भनिन् – “छोरोले गुगल म्याप हेर्दै यहाँ ल्याए । यसमा भारतमा काम गर्दै आएका नेपालीको पनि सहयोग छ ।”

“यहाँ आउँला, परिवारजनसँग भेटघाट होला भनेर सपनामा समेत कल्पना गरेको थिइनँ, छोरोको प्रयासले सबै जनासँग भेटन पाएँ,” उनले गहभरि आँशु पार्दै भनिन् – “मलाई यहाँबाट लगेर बेच्नेलाई फाँसी दिनुपर्छ । मैले त हुनसम्म यातना पाएँ । अरूले पाउन नपरोस् ।”

नशालु पदार्थ खुवाएर बेहोश बनाउनेलाई भने चिन्न नसकेको उनले बताइन् । “अहिले कुनै दुःख छैन, घर र गाउँमै सल्लाह गरेर माइती भेट्न पुगेकी छु ।” घरजमका लागि आफू बस्दैआएको गाउँमा भारतकै उत्तराखण्डका र नेपाली चेलीलाई आफूलाई जस्तै किनेर घरजम गर्नेहरु धेरै रहेको उनी बताउँछिन् ।

“छोरी अब जीवित छैन भनेर माया मारिसकेका थियौँ,” ताराकी आमा वीरमा कामीले भनिन् – “भेट्न पाएपछि हर्षका आँसु थाम्नै सकिनँ ।” चेलीबेटी बेचबिखनमा संलग्नको खोजी गरी सरकारले कारवाही गर्नुपर्ने उनले बताइन् । “धेरै चेली गाउँबाट हराएका छन्, सबैको अवस्था पत्ता लगाउनुपर्छ,” उनले भनिन्– “दलालहरुको पहिचान गरी न्याय दिन सक्नुपर्छ ।”

स्थानीय बासिन्दाका अनुसार सिसैया गाउँबाट मात्रै छ जनाभन्दा बढी किशोरी बेपत्ता भएकोमा अहिलेसम्म तीन जना मात्रै दलालको पञ्जाबाट छुटेर गाउँ फर्केका छन् । तीन जनाको अवस्था अज्ञात छ । रासस

प्रतिकृया दिनुहोस