कालिका कन्स्ट्रक्सनका गाडी, लोडर, रोलरमा बम प्रहार र आगजनी
कालिका कन्स्ट्रक्सन प्रालीले सडक निर्माण कार्यमा प्रयोग गरेका सवारी साधनमा बम विष्फोट र आगजनी भएको छ ।
नेत्रविक्रम चन्द समूहले उक्त घटना गराएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
धरान– सिन्धुली–चतारा सडकअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ ती साधनमा बम विष्फोट र आगजनी गरी क्षति पुर्याइएको हो ।
आज बिहान करीब १ बजेतिर १० जनाको समूहमा आएका चन्दका समूहका कार्यकर्ताले हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको कालिका कन्स्ट्रक्सनको अस्थायी क्याम्पमा रोकिराखिएका सवारीमा आगजनी साथै विष्फोट गराएका हुन् ।
लुअम ७२९६ अस्थायी नम्बरको बोलेरो बम प्रहारबाट पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै ना१क ५६९८, ना१क ४३३८, ना१क ७२४४, ना१क ४३३२ नंका ट्रिपरमा पनि क्षति पुगेको छ । लोडर र रोलरमा पनि आंशिक क्षति पुगेको छ ।
बमका छर्रा लागेर रत्ननगर–१५ चितवनका २५ वर्षीय विक्रम गुरुङ घाइते भएका छन् ।
अपराधमा संलग्नहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।
यता, आयोजना प्रमुख ठाकुर ढकालले नेत्रविक्रम चन्दका कार्यकर्ताले बिना जानकारी क्याम्पमा आगजनी र बम प्रहार गरेको बताए ।
उक्त घटनाका कारण क्याम्प क्षतिग्रस्त बनेको र काम गर्ने वातावरण नरहेको उनको भनाई छ ।
बम र आगजनीपछि स्थानीयवासी र कामदारको सक्रियतामा आगो नियन्त्रणमा लिइएकाले थप सवारी तथा मानवीय क्षति हुन नपाएको पनि उनले बताए । मकवानपुरको बकैया गाउँपालिकामा पनि चन्द समूहका कार्यकर्ताले दुई स्काभेटर र एउटा क्रेनमा क्षति पुर्याएको आयोजना प्रमुख ढकालले जानकारी दिए ।
सिन्धुलीको धुराबजारदेखि मकवानपुरको हेटौँडासम्मको सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले सिन्धुलीको कमलामाई नगरपालिका–४ को कुडुलेदेखि हेटौँडासम्मको ट्र्याक खोल्ने र निर्माण गर्ने कार्य गरिरहेको छ । कालिका कन्सट्रकस्न राप्रपा नेता विक्रम पाण्डेको स्वामित्वमा छ ।
रासस