१२ मेगावाटको दोर्दी–१ निर्माण कार्य शुरु
१२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ ।
आयोजनाको मुख्य सुरुङको शिलान्यास गरी आइतबारदेखि निर्माण कार्य शुरु भएको हो ।
करीब रु दुई अर्बको लागतमा निर्माण हुन लागेको उक्त आयोजना दुईवर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना प्रमुख उज्जवल सिलवालले जानकारी दिए ।
आयोजनाका लागि सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंकसँग ऋण सम्झौता भएको छ ।
आयोजनामा लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) र पब्लिक शेयरबाट संकलित रकमको लगानी छ ।
दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको प्रवद्र्धनमा बन्ने आयोजनामा दुई हजार ५०० मिटर लामो सुरुङ निर्माण हुनेछ भने ७०० मिटर पाइपलाइन रहने बताइएको छ । रासस