ब्लगसोमवार, चैत्र १९, २०७४

माथिबाटको नेपाल

कनकमणि दीक्षित

नेपाल धेरै कारणले गजब छ । गजब हुनुको एउटा कारण हो, यो एकदमै ‘फोटोजेनिक’ छ ।

देशका नागरिकहरुले ठाउँ–ठाउँ र मौसम–मौसममा विभिन्न थलोसँग चिनारी र आत्मीयता गाँसेका हुन्छन् । यो कुरा हवाईजहाजबाट देखिने तलको नेपालमा पनि लागू हुन्छ ।

अरु धेरै देशमा हवाई यात्रा गर्दा यात्रुहरू झ्याल बाहिरका भूबनोट, बदलिंदो परिवेश तथा हेर्दाको दृश्यमा खासै ध्यान दिएका हुँदैनन् । तर, नेपालमा भने हरबखत झ्याल बाहिरको कुराले हामीलाई उत्सुक बनाइरहन्छ, तानिरहेको हुन्छ ।

यस अर्थमा हरेक हवाई उडानलाई दृश्यावलोकनको अवसर भने हुन्छ ‘माउन्टेन फ्लाइट’ भनौं वा ‘समथर फ्लाइट’ । गत वर्ष मैले हवाईजहाजको झ्यालबाट खिचेका केही तस्वीर यहाँ पेश गरेको छु ।

त्रिभुवन विमानस्थलबाट हवाईजहाज पश्चिम मोडिंदा देखिन्छ थापाथली कुपण्डोल पुलदेखि टेकू दोभानहुँदै बल्खु रिङ्गरोड पुलसम्मको वागमतीको अर्धचन्द्राकार ।
काठमाडौं अवतरण गर्नुभन्दा १० मिनेटअघि देखिने पर्साको निर्मलवस्ती छेउको नेपाल–भारत सीमा । सीधा रेखाले छुट्याएको उत्तरपट्टिको आवादी र भारतपट्टिको जंगल ।
ओखलढुंगा माथिबाट सोलु र खुम्बु नाघ्दै हेर्न पुगिन्छ ल्होत्से, नुप्से र सगरमाथा–चोमोलोङ्मा ।
पश्चिमबाट आउँदै गर्दा त्रिभुवन विमानस्थलमा अवतरण गर्नु २० मिनेट अगाडि बायाँ झ्यालबाट ३७ हजार फिटको उँचाइबाट देखिन्छ केन्जो टाङ्गेद्वारा डिजाइन गरिएको लुम्बिनी उद्यानको ‘रेक्टएङ्गल’ ।
उपत्यकाबाट पश्चिम लाग्दा गणेश हिमालमुनि कुहिरोको रेखाले दर्शाएको आरुघाट दक्षिणको बूढीगण्डकी खोंच ।
बर्खामा बादल फाटेको वेला ३५ हजार फिटबाट देखिएको फेवाताल र पोखरा शहर ।
विराटनगरबाट पश्चिम उडेको केही मिनेटमै कोशी टप्पुमाथि पुग्छ हवाईजहाज, कोशी व्यारेज देखिने गरी ।

 

प्रतिकृया दिनुहोस