रिपोर्टसोमवार, चैत्र १९, २०७४

सुनाैली नाकामा भारतीय अवराेध, २१ किलाेमिटरसम्म गाडीकाे लाइन

हिमालखबर

दीपक ज्ञवाली

नाकाबन्दीका वेला समेत केही सहज रहेको सुनौली–बेलहिया नाकामा गएको ८ महीनादेखि भारतीय पक्षबाट भइरहेको अवरोधले नेपाली उद्योग–व्यवसायमा संकट निम्तिएको छ।

भारतीय भूमिमा रोकिएका मालवाहक सवारी साधन । सुनौलीबाट २१ किलोमिटर दक्षिणसम्म यस्तो लाइन देखिन्छ । तस्वीरः दीपक ज्ञवाली

नेपाल–भारत सीमा नाका सुनौली–बेलहियाबाट तीन किलोमिटर दक्षिणमा भारतीय प्रहरीको ‘कोतवाली’ छ । यही कोतवाली थानाबाट करीब २१ किलोमिटर परसम्म नेपाल भित्रिने गाडीहरू लाम लागेका देखिन्छन् ।

उद्योगका लागि कच्चा पदार्थ बोकेका ठूला ट्रक, कन्टेनरलाई भारतीय प्रहरीले चेकजाँचको बहानामा केही दिन रोकेर सास्ती र असुलीपछि मात्रै नेपाल भित्रिन दिन्छ ।

स्थानीय युवाको आवरणमा कोतवालीका प्रहरीले प्रत्येक ट्रक÷कन्टेनरले पाँचदेखि सात हजार नगद नबुझउँदासम्म गाडी अघि बढ्न दिंदैनन् । गुनासो गर्नेले चर्को गाली र लाठीसमेत बेहोर्नुपर्छ । भारतीय भूमिमा गाडी रोकिंदा बुझाउनुपर्ने दैनिक रु.२५०० ‘डिटेन्सन चार्ज’ पनि थपिंदै जान्छ ।


अवस्था सामान्य हुँदा रूपन्देहीको गोनाहस्थित जगदम्बा सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ लिएर दैनिक ४० वटा मालवाहक गाडी यही नाकाहुँदै भित्रिने गर्थे ।

तर, भारतीय ज्यादतीका कारण उद्योगका अधिकांश गाडीहरू अहिले सुनौली पारि भारतीय भूमिमै रोकिएका छन् ।
जगदम्बाका जस्तै नेपाली उद्योगका लागि कच्चा पदार्थ र अन्य सामान बोकेका गाडी सडक किनारमा रोकिंदा लागेको जामले नेपालतर्फ पनि जाम लागेको छ ।

“कनेक्सन मिलाएर भारतीय प्रहरीलाई पैसा दिन सकियो भने छोडिदिन्छन्” सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने भन्छन्, “नत्र सात दिनसम्म पनि छोड्दैनन् ।”

सामान्य अवस्थामा दैनिक करीब ५५० वटा मालवाहक गाडी भित्रिने यो नाकाबाट हिजोआज करीब ३०० मात्रै मालवाहक गाडी भित्रिरहेका छन्, त्यो पनि केही दिन सीमापारि रोकिएर नगद बुझाएपछि छुटेका ।

विकल्प खोज्दै उद्योगी
भारतीय सुरक्षाकर्मीको अवरोधका कारण सीमा क्षेत्रको १० किलोमिटर दूरी पार गर्न ५ देखि ७ दिनसम्म लाग्न थालेपछि केही उद्योगीहरूले विकल्पमा कृष्णनगरलगायतका नाका प्रयोग गर्न थालेका छन् ।

२०७२ सालको भारतीय नाकाबन्दी र मधेश आन्दोलनका वेला समेत सुनौली नाका तुलनात्मक रूपमा सहज थियो । त्यसवेला अन्य क्षेत्रका उद्योगी व्यवसायीले पनि यही नाकाहुँदै आफ्ना सामान भित्र्याउन थाले ।

बारम्बारको बन्द र आन्दोलनले दिक्क भएका बारा–पर्सा क्षेत्रका उद्योगीहरूले समेत यही नाका रोज्न थालेपछि भैरहवा क्षेत्रको चहलपहल बढ्न थाल्यो, नयाँ उद्योग खुल्न थाले । तर, अहिले नाका असहज भएपछि यहाँका उद्योगी व्यवसायी निराश छन् ।

नाकाबन्दीका वेला भारतीय सुरक्षाकर्मीलाई घूस दिएर छिटो नेपाल छिर्ने कतिपय व्यवसायीको प्रवृत्तिलाई अहिले भारतीय प्रहरीले नजिर जस्तै बनाएर दुःख दिने गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपाने बताउँछन् ।

नाका सहज बनाउन स्थानीयस्तरमा पहल गरिए पनि अवस्थामा सुधार आएको छैन । पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघका सचिव विदुर ढुंगाना भन्छन्, “सामान्य पहलमा यो समस्या समाधान हुँदैन, नेतृत्व तहमै छलफल हुनु जरूरी छ ।”

उनका अनुसार नाकामा अवरोध भएपछि ढुवानी लागत बढेकोे छ र उद्योगीदेखि उपभोक्तासम्मलाई मार परेको छ ।

सीमामा अवरोधको यो समस्या एक्कासी चुलिएको भने होइन । गएको साउनमै भारतीय सुरक्षाकर्मीले नेपाली मालवाहक गाडी सहजै नेपाल पस्न दिइरहेका थिएनन् ।

चेकजाँचका नाममा एक सातासम्मै गाडी रोकिएर आयात निर्यात ठप्प जस्तै भएपछि साउन तेस्रो साता नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी, भारतका लागि तत्कालीन नेपाली राजदूत दीपकुमार उपाध्यायको उपस्थितिमा भारत र नेपालका सुरक्षा अधिकारीबीच छलफल भएको थियो ।

उतिवेला भारतीय सुरक्षा अधिकारीहरूले सीमामा अवरोध नगर्ने प्रतिबद्धता जनाएका थिए । तर अवस्था सामान्य भएको एक महीनामै पुनः अवरोध शुरू भयो ।

ढुंगाना भन्छन्, “छलफल भएको केही दिनसम्म सुधार भएजस्तै हुन्छ, फेरि भारतीय प्रहरीले नाकाबन्दी जस्तै अवरोध गर्छन् ।” उनका भनाइमा भोलि झ्न् ठूलो अवरोध हुनसक्ने आशंकामा नेपाली उद्योगीहरू खुलेर विरोध समेत गर्दैनन् ।

राजस्व असुली घट्यो
अवरोधकोे प्रत्यक्ष असर राजस्व असुलीमा समेत परेको छ । चालू आर्थिक वर्षको शुरूको ६ महीना अर्थात् पुस मसान्तसम्ममा रु.३७ अर्ब ४६ करोड १२ लाख लक्ष्य तोकिएको भैरहवा भन्सार कार्यालयले रु.३३ अर्ब ४ करोड ९९ लाख मात्रै संकलन गरेको छ ।

भन्सार प्रमुख भुपालराज शाक्य गएको आर्थिक वर्षको तुलनामा जीप, कार भ्यान जस्ता राजस्व संकलनका मुख्य स्रोतमा कमी आएकाले पनि लक्ष्य भेट्टाउन समस्या परेको बताउँछन् । शाक्य भन्छन्, “भन्सार सहज बनाउन पटक पटक भारतीय सरोकारवालासँग छलफल भए पनि व्यवहारमा परिवर्तन देखिएको छैन, यद्यपि हामी सहज बनाउन प्रयासरत छौं ।”

प्रतिकृया दिनुहोस