सिभिल ब्यांकको ५९औं शाखा लमजुङको बेशीशहरमा
सिभिल ब्यांक लिमिटेडले आफ्नो ५९औं शाखा लमजुङको बेशीशहरमा स्थापना गरेको छ ।
बेशीशहर त्रिवेणी टोलमा रहेको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र ब्यांकका गभर्नर चिरञ्जीवी नेपालले गरेका हुन् ।
ब्यांकले यसअघि लमजुङको भुलभुले, राइनास, मालिङ र गौंडामा शाखा संचालनमा ल्याइसकेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै गर्भनर नेपालले ब्यांकको बढ्दै गएको वित्तीय पहुँच नै समृद्ध नेपालको संकेत भएको बताए । नेपालले अहिलेसम्म ४० प्रतिशत जनताकोबीचमा मात्रै ब्यांकिङ पहुँच रहेको र यसलाई तीव्र रुपमा वृद्धि गर्नुपर्ने धारणा राखे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिभिल ब्यांकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि ब्यांक अपरिहार्य रहेको बताए ।
गुरुङले बेशीशहर शाखाले बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने बताए ।
सिभिल ब्यांकका हालसम्म करीब दुईलाखभन्दा बढी ग्राहक रहेका छन् । ब्यांकले रु.३७ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करीब रु.३६ अर्ब कर्जा लगानी गरेको छ ।