समाचारशनिवार, चैत्र १७, २०७४

‘छोराले आमा भनेको दिन मलाई न्याय मिल्छ’

सविना देवकोटा

“विद्यालय जाँदै गर्दा माओवादीले झोला फालिदिएर बन्दूक बोक्न लगाए । जिन्दगीमा सबैभन्दा ठूलो रहर पढ्ने नै थियो । पढ्न नपाएर खेर गएको मेरो जीवनको त्यो महत्वपूर्ण समयको परिपूर्ति जुन दिन हुन्छ, त्यो दिन नै मलाई न्याय पाएको जस्तो लाग्नेछ ।’ -बाँकेकी एक महिला

शीतलसिंह राठौर

१३ फागुन २०६१ सुर्खेत । चन्द्रप्रसाद सिंह राठौर आँगन छेउको धारामा नुहाउँदै थिए । घरभित्र श्रीमती शीतलसिंह राठौर स्वस्थानी पूजा साङ्गेको सरजाम मिलाउँदै थिइन् । श्रीमानका लागि चियाको डेक्ची चुल्होमा बसाल्दै गर्दा नजिकै बन्दुक पड्केको आवाज आयो । अत्तालिंदै बाहिर दौडिएकी शीतलले आँगनमा रगतको आहाल देखिन, श्रीमान छेउमै लडिरहेका ।

विश्व हिन्दू महासंघ केन्द्रीय सदस्य समेत रहेका चन्द्रप्रसादको माओवादीले हत्या गरिसकेका थिए । त्यसपछि शुरु भए शीतलका कहालीलाग्दा दिनहरु । श्रीमान्को हत्यापछि आर्थिक र मानसिक पीडा त हुने भयो नै, उनी सामाजिक कुरीतिको शिकार पनि भइन् । विधवा भएकै कारण उत्सव, समारोह मात्रै होइन मन्दिरमा समेत उनलाई बन्देज लगाइयो । मानिसहरु उनलाई देखेर तर्किन थाले ।

विस्तारै आफूजस्तै पीडित महिलाहरुसँग भेटघाट हुन थालेपछि उनले बह पोख्ने ठाउँ पाइन् । औचित्यहिन सावित भैसकेको त्यो हिंसात्मक द्वन्द्वमा श्रीमान् गुमाएका एकल महिलाहरुको समूहले उनको घाउमा मल्हम लगायो ।

तीन वर्षअघि नेपालगञ्जमा गैरसरकारी संस्था ‘द स्टोरी किचेन’ बाट पाँच दिनको तालिम लिएकी उनले आफूजस्तै द्वन्द्वपीडित र प्रभावित महिलाहरुको अन्तर्वार्ता लिन थालिन् संस्थाकै सहयोगमा । गाउँगाउँमा आफूजस्तै पीडितहरु खोजेर अन्तर्वार्ता लिन जानुअघि हुने त्रास र अन्तर्वार्ता सकिएपछि अरुको पीडा सुनेर प्राप्त हुने सान्त्वनाले काममा हौस्याएको राठौर बताउँछिन् ।

सशस्त्र हिंसा समाप्त भएको एक दशक नाघिसक्दा पनि गाउँका कयौँ महिलाले आफ्नो पीडा र पहिचान दबाएर बस्नुपरेको देख्दा भने ग्लानी र जिम्मेवारीबोध एकैसाथ हुने उनको अनुभव छ । हिंसात्मक द्वन्द्व पीडित १६५ महिलाहरुको आवाज रेकर्ड गरेकी उनलाई अरुका दुःखका कथा सुनेपछि आफ्नो पीडा सानो लाग्न थालेको छ ।

१९ वर्षअघि बाबु श्यामबहादुर थापा वेपत्ता हुँदा बर्दिया, ठाकुरबाबा नगरपालिका १, भुरीगाउँकी सरिता थापा ११ वर्षकी थिइन् । १६ भदौ २०५५, जनैपूर्णिमाका दिन रम्भापुर गएका श्यामबहादुर थापा कहिल्यै घर फर्केनन् । त्यसै दिन माओवादीले स्थानीय कांग्रेस नेता गोविन्द पौडेलको हत्या गरेका थिए । पौडेलको हत्यामा माओवादीलाई सघाएको आशंकामा श्यामबहादुरलाई सुरक्षाकर्मीले वेपत्ता पारेको हुनसक्ने सरिता बताउँछिन् ।

बुवा बेपत्ता भएलगत्तै आमा सावित्री थापालाई प्रहरीले पक्राउ गर्‍यो । पाँच दिनसम्म प्रहरीको चरम यातना खेपेकी सावित्री गाउँमै बसिरहन सकिनन् र उनीहरु सपरिवार राजमार्ग छेउको भुरिगाउँ विस्थापित भए ।

सरिता थापा

बावु बेपत्ता भएसँगै गाउँलेहरु सरितासँग सशंकित हुन थाले– माओवादीकी छोरी भन्दै । बुवा नहुँदा र सुरक्षाकर्मीबाट त्रास ब्यहोरिरहेका बेला समाज, आफन्त पनि टाढाका भैदिए । तीन वर्षअघि द स्टोरी किचेनबाट तालिम लिएकी सरिता आजभोलि सोही संस्थाको न्यायिक संवाददाताको रुपमा कार्यरत छन् । सशस्त्र हिंसा पीडित महिलाहरुसँग दैनिक जसो सम्पर्कमा रहँदा आफू एक्लो रहेनछु भन्ने लागेको सरिता बताउँछिन् ।

द स्टोरी किचेनले विगत तीन वर्षदेखि द्वन्द्वबाट अति प्रभावित १० जिल्लाका द्वन्द्व पीडित÷प्रभावित महिलालाई अन्तर्वार्ता लिन तालीम दिंदै आएको छ ।

पीडितले नै पीडितप्रति समानुभूति राख्न सक्ने हुनाले यस्तो अवधारणा सुरुवात गरेको संस्थाकी अध्यक्ष जया लुइँटेल बताउँछिन् । भन्छिन्, ‘द्वन्द्वबाट पीडित भएका महिलाहरुलाई सामूहिक रुपमा कार्यशालामा समावेश गर्दा सबैलाई हिंसाको पीडा भोग्ने म मात्रै होइन रहेछु भन्ने पर्छ । उनीहरु एकआपसमा कुरा गरेर हल्का महशुस गर्छन र संगठित हुँदैछन् ।

पीडाका सुस्केरा
“आँगनमा बिस्कुन सुकाउँदै गर्दा एक हुल आर्मी आए । माओवादी कहाँ छन् भनेर सोधे, मैले थाहा छैन भनेपछि घिसार्दै खेतसम्म पुर्‍याएर गर्नु नगर्नु गरे । अहिले पनि पेट दुखिरहन्छ, पाठेघर खसेको छ । तँलाई सेनाले लुछेको हो भन्दै घरमा दिनरात लोग्नेले कुट्छ । छिमेकीले पनि मैलाई नराम्रो भन्छन् । त्यो घटनामा मेरो गल्ती छैन भनेर मेरो लोग्नेले बुझिदियो भने मेरो लागि त्यही न्याय हुन्छ ।” –कैलालीकी एक महिला


“उहाँलाई बेपत्ता पारियो, कहाँ जानुभयो, कसले लग्यो केही थाहा छैन । तर, घरका सबैले मैले गर्दा श्रीमान् बेपत्ता भएको आरोप लगाउँछन् । उहाँ बेपत्ता हुनुको पीडा म जति अरु कसलाई होला, यस्तो आरोपले थप पीडा दिएको छ । घरपरिवार, समाजले श्रीमान् बेपत्ता हुनुमा मेरो दोष थिएन भनिदिए मात्रै पनि मेरा लागि थोरै भएपनि राहत हुने थियो ।” -बर्दियाकी एक महिला


“श्रीमान्लाई राज्यले बेपत्ता बनाएर हत्या गर्दा मेरो छोरो तीन वर्षको थियो । मलाई घरमा बस्न दिइएन, नाबालक छोरो छाडेर हिँड्न बाध्य पारियो । मैले छोरालाई हुर्काउन, माया दिन पाइनँ । सासुससुराले हुर्काएको छोराले मलाई अहिले आमा भन्दैन । मलाई एकपटक उसले आमा भनेको सुन्न मन छ । उसले आमा भन्यो भने मलाई न्याय हुन्छ ।” -रोल्पाकी एक महिला 

“विद्यालय जाँदै गर्दा माओवादीले झोला फालिदिएर बन्दूक बोक्न लगाए । जिन्दगीमा सबैभन्दा ठूलो रहर पढ्ने नै थियो । पढ्न नपाएर खेर गएको मेरो जीवनको त्यो महत्वपूर्ण समयको परिपूर्ति जुन दिन हुन्छ, त्यो दिन नै मलाई न्याय पाएको जस्तो लाग्नेछ ।’ -बाँकेकी एक महिला

“श्रीमान् नेपाल प्रहरीमा जागिरे हुनुहुन्थ्यो । दरबन्दी टीकापुर भए पनि काजमा भजनी खटिनु भएको थियो । २०५९ कार्तिक ९ गतेका दिन चिया पसलमा बसिरहेका बेला माओवादीले ताकेरै उहाँको आँखामा गोली हाने । उहाँको निधनपछि म मानसिक रुपमा धेरै कमजोर भएँ । ड्युटीमा रहेको एउटा देशभक्तको हत्या हुँदा पनि हामीलाई राज्यले द्वन्द्वपीडितको रुपमा पहिचान नगर्दा दुःख लाग्छ । हामीले भौतिक र मानसिक रुपमा पाएका यातनाको कुनै लेखाजोखा छैन । यसको क्षतिपूर्ति हुन सकेको दिन नै न्याय पाएको महशुस हुनेछ ।” -कञ्चनपुरकी बिष्ना पन्त

दशवर्षे सशस्त्र द्वन्द्वमा पीडित र प्रभावित महिलाहरुको अनुभवको अभिलेख राख्दै जाने क्रममा द स्टोरी किचेनले संकलन गरेका केही प्रतिनिधिमूलक भोगाइ हुन् यी ।

हिंसात्मक द्वन्द्वका बेला शारीरिक, मानसिक, सामाजिक र मनोवैज्ञानिक रुपमा विक्षिप्त भएका कयौँ महिला र बालबालिकाहरु न्यायबाट वञ्चित छन् । सामाजिक रुपमा बहिष्कार हुने डरकै कारण कयौँ महिलाहरु आज पनि मौन छन् । बलात्कृतहरु मानसिक र शारीरिक समस्यामा छन् ।

प्रतिकृया दिनुहोस