रिपोर्टबिहिवार, चैत्र १५, २०७४

सुधार होइन यातनागृह बन्दै जेल

हिमालखबर

कमल रिमाल, विराटनगर

पशुझैं कोचिएर कैदीहरू मरिरहँदा पनि सरकार भने ‘अपराधीलाई सभ्य, सुसंस्कृत, उत्पादनशील र मानवोचित वातावरण दिन प्रतिबद्ध रहेको’ बताउन छाडेको छैन।

मोरङ कारागारका कैदीबन्दी । तस्वीरहरूः कमल रिमाल

३ फागुनमा मोरङ कारागार ल्याइँदा नै सोलुखुम्बुका अनिल नेपाली (२२) बिरामी थिए । उनलाई सुईबाट लागूऔषध लिने क्रममा गुप्ताङ्गमा घाउ भएको थियो । थलिएपछि मात्र विराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएका उनको उपचारकै क्रममा १२ फागुनमा मृत्यु भयो । 

कोशी अस्पतालमै ३ फागुनमा मोरङ कानेपोखरी–४ का अर्का बन्दी गोविन्दप्रसाद निरौला (४९) को मृत्यु भएको थियो । २६ माघमा मोरङ राजघाट–६ का देवेन्द्र भुजेल (३२) ले पनि यही अस्पतालमा प्राण त्यागेका थिए ।

ज्वरो नघटेपछि मोरङ कारागारबाटै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका काठमाडौं–१७ का रितेश मास्के (३९) को उपचारकै क्रममा १९ कात्तिकमा मृत्यु भयो । खोटाङ कारागारबाट उपचारकै लागि मोरङ सरुवा गरिएका खोटाङका सुविन्द्र राई (३०) को ४ कात्तिकमा कोशी अस्पतालमै निधन भयो ।

मोरङ कारागारमा झ्ण्डै सात महीना (भदौ–१२ फागुनसम्म) यता १६ जना कैदी बन्दीले ज्यान गुमाएका छन् । “मृत्यु हुनेमध्ये धेरैमा एचआईभी/एड्स, क्षयरोग, हेपाटाइटिस, हाड, नसा र फोक्सोमा संक्रमण देखिएको थियो”, कारागारका जेलर प्रेमप्रसाद सापकोटा भन्छन् । तर, यतिको संख्यामा बन्दीको मृत्यु हुँदासमेत सम्बन्धित पक्ष गम्भीर देखिंदैन । “सामान्य खानपानमा ध्यान नदिएकाले नै कारागारभित्र बिरामी बढिरहेका छन्”, कोशी अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. रोशन पोखरेल भन्छन् ।

पुगेन उपचार
९ महीनाअघि जेल परेका विराटनगर–१६ का सुरेन्द्र मण्डल ६ महीना यता हिंडडुल गर्नै नसक्ने अवस्थामा छन् । “घुँडा दुःखेर हिंड्नै हुँदैन, औषधिले पनि कम भएको छैन”, उनी भन्छन् । 

२३ फागुनमा मोरङ, रंगेली दर्वेशाकी शारदा परियार कारागारमा भेटिइन् । “त्यस्तो जीउ थियो, सुकेर विरक्त लाग्दो हुनुभएछ” श्रीमान् यामबहादुरको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्तित उनले भनिन्, “यतै बसेर सेवा गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।” शारदाका अनुसार, खाना नरुच्ने समस्या देखिएपछि सरकारी अस्पतालमा भर्ना गरिएका उनको रोग नै पत्ता लाग्न सकेको छैन । “घरमुली जेलमा हुनुहुन्छ, साना नानी घरमा छन्, प्राइभेट अस्पताल लैजान पैसा छैन”, उनी भन्छिन् ।

कारागारका सबै बिरामीले सरकारी अस्पतालमा मात्र उपचार पाउने गरेका छन् । जेलर प्रेमप्रसाद सापकोटा निजी अस्पतालमा उपचारमा लाग्ने खर्च बेहोर्ने अधिकार कारागारलाई नभएको बताउँछन् । “सरकारी अस्पतालमा उपचार नभए केन्द्रीय कारागारको अस्पतालमा सरुवा गर्ने गरिएको छ”, उनी भन्छन् ।

कारागारमा मुगलाल ।

कारागारमा गम्भीर स्वास्थ्य समस्या देखिनुमा क्षमताभन्दा दोब्बर कैदी कोचिनु कारक मानिएको छ । २५० जना क्षमताको मोरङ कारागारको पुरुष बन्दीगृहमा २३ फागुनमा ६७३ जना थिए भने ५० जना क्षमताको महिला बन्दीगृहमा ६८ जना ।

“कैदी बन्दी हिंडडुल गर्ने ठाउँ नै छैन, एकै ठाउँ बसेकाले खुट्टा चलाउन नसक्ने धेरै छन्” चौकीदार अभिषेक गिरी भन्छन् । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य पनि क्षमता भन्दा बढी कैदी बन्दी भएकाले समस्या थपिएको स्वीकार गर्छन् । “निस्कने भन्दा थपिने बढी छन्, समस्या हुने त भइहाल्यो”, उनी भन्छन् ।

जेलर सापकोटा भने उपचार अपुग भएकाले कैदी बन्दीको मृत्यु भएको आरोपप्रति सहमत छैनन् । उनी एउटा कैदीलाई २० पटकसम्म अस्पताल लगिएको र २२ दिनसम्म भर्ना गरिएको बताउँछन् । “हामी सरकारी अस्पतालमा उपचार गराउँछौं, त्यहाँ नभए परिवार बोलाएर निजी अस्पतालमा उपचार गर्न लगाउँछौं”, उनी भन्छन् । 

घुँडा, कम्मरको जोर्नी दुख्ने समस्याका कारण दुई महीना विराटनगरस्थित नोबेल मेडिकल कलेजमा राखेर उपचार गराए पनि मोरङ, धनपालथान गाउँपालिकाका कैदी नौसाद अन्सारीको रोग पत्ता लागेकै छैन । कारागारका स्वास्थ्यकर्मी अञ्जनी पोखरेल जोर्नी दुख्ने, पेट सुन्निने र हिंडडुल गर्न नसक्ने समस्या बढेको बताउँछन् । “रोग पत्ता नलागेका ४२ जना जेलभित्रै छन्”, उनी भन्छन् ।

२३ फागुनमा खुट्टा टेक्न समस्या भएका १३ जना कैदी बन्दीको परीक्षण गरेका कोशी अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. यज्ञराज खरेल जेलको साँघुरो बसाइका कारण समस्या देखिएको बताउँछन् ।

उनका अनुसार, कारागारबाट उपचारमा आउने कैदी बन्दीमा पहिले खुट्टा दुख्ने, झम्झमाउने, शरीर कमजोर हुँदै गएर हिंड्न नसक्ने समस्या देखिएको छ । “यस्ता अधिकांश बिरामी बाहिरबाट भन्दा जेल भित्रैबाट आइरहेका छन्”, उनी भन्छन् ।

चिकित्सकले मर्ने, बाँच्ने टुङ्गो नभएको लेखेर दिएपछि प्रमुख जिल्ला अधिकारीको सहमतिमा कैदीलाई घर पनि पठाइन्छ, जसलाई घाट बिदा भनिन्छ । यही बिदा पाएर सर्लाहीका मुगालाल महतो (७९) लाई कारागारबाट घर पठाइयो । परिवारको रेखदेखमा उपचार गराएपछि सामान्य बन्दै गएका महतो २८ फागुनमा कारागारमा हाजिर हुन आए ।

भदौ २०७२ मा घाट बिदा पाएका झपाका क्षयरोगका बिरामी टेकबहादुर गुरागाई निको भएर गत वैशाखमा कारागार फर्किए । जेलर सापकोटाका अनुसार, दुई वर्षको अवधिमा चार जनाले घाट बिदा पाएका थिए । “दुई जनाको भने उतै मृत्यु भयो”, उनी भन्छन् ।

साझा समस्या
काठमाडौंस्थित कारागार व्यवस्था विभागका निर्देशक कृष्णप्रसाद आचार्य कैदी बन्दी बिरामी हुने समस्या सबैजसो कारागारमा उस्तै रहेको बताउँछन् । उनका अनुसार, कुल २ हजार ७०० कैदी बन्दी रहेको केन्द्रीय कारागारमा मृत्यु हुनेको संख्या अझ बढी छ । “राजधानीबाहिर उपचार हुन नसकेका कैदीलाई यहीं ल्याइन्छ” आचार्य भन्छन्, “चिकित्सकको सुझवमा निजी अस्पताल समेत पुर्‍याएका छौं ।”

नेपालमा १९७१ सालदेखि कारागार शुरू भएयता हालसम्म ७४ जिल्लामा कारागार छन् । स्थानीयस्तरमा कारागार व्यवस्थापन र प्रशासन प्रमुख जिल्ला अधिकारीहरूको जिम्मेवारीमा पर्ने गरेको छ ।

विभागका अनुसार, गत माघ अन्तिमसम्म देशमा कुल १७ हजार ७६८ कैदी बन्दी छन् । “तर, कारागारको वर्तमान भौतिक संरचनाका अनुसार, १० हजारभन्दा बढी कैदी बन्दी राख्ने क्षमता छैन”, निर्देशक आचार्य भन्छन् । कैदी बिरामी बढिरहँदा कारागार प्रशासनलाई उपचार खर्चको समेत अभाव हुन थालेको छ ।

जेलर सापकोटा कारागारलाई प्राप्त हुने वार्षिक रु.१८ लाखको उपचार खर्च तीन महीनामै सकिने बताउँछन् । “गत फागुनमा कैदी बन्दीको औषधिमा मात्रै रु.४ लाख ८३ हजार खर्च भएको छ । थप बिल आउनै बाँकी छ”, उनी भन्छन् ।

कैदी भागेपछि कडाइ
१५ माघमा आँखा उपचारका लागि भन्दै कारागारका नाइके उमेश चौधरी प्रहरी हवल्दार अशोककुमार साहका साथ विराट आँखा अस्पताल पुगे । तर, उपचार त वहाना मात्र थियो । अस्पताल पस्नुअघि चौधरी एक युवतीका साथ सामुन्नेको विराट गेष्ट हाउसमा पसे ।

कोठाबाट केही बेरपछि निस्किएका चौधरीले हवल्दार साहलाई भित्र पठाए । साह निस्किंदा चौधरी त्यहाँ थिएनन् । चौधरीलाई मिलेमतोमै भगाएको आरोपमा हवल्दार साहलाई तत्काल नियन्त्रणमा लिइयो ।

चौधरी भने १० दिनपछि काठमाडौंमा पक्राउ परे । उनी हाल सुनसरीको झुम्कास्थित कारागारमा छन् । चौधरीको सुरक्षामा साहलाई खटाउने प्रहरी सहायक निरीक्षक हरिबहादुर कार्की पनि निलम्बनमा परेका छन् ।

कैदी भागेकाले दुई प्रहरीमाथि कारबाही भएको भन्दै कारागारमा प्रहरी र कैदी बन्दीबीच मनमुटाव बढेको छ । “भनेका बेला अस्पताल लगिदिंदैनन्, दुव्र्यवहार गर्छन्” एक कैदी भन्छन्, “खाजा खुवाउने, मोबाइलमा रिचार्ज कार्ड किनिदिनेहरूलाई मात्र आफन्त भेट्न दिन्छन् ।”

जस्तो कि, ११ फागुनमा ६ जना कैदी बिरामीलाई अस्पताल लैजान दिएको पत्र प्रहरीले बिहान १०:१० मै प्राप्त गरेको थियो । तर, प्रहरीले दिउँसो १२:५० मा बिरामी अस्पताल पुर्‍यायो । अस्पतालमा बहिरंग विभागको पुर्जी पाउने समय ११ बजे सकिएको र १२ बजे चिकित्सक हिंडिसकेकाले उपचार नभएको भन्दै प्रहरीले कैदीलाई कारागार फर्कायो ।

ढिलो निकालिएको भन्दै कैदी बन्दीले अस्पताल लैजानुअघि कारागारभित्रै नाराबाजी गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिसँग कैदी बन्दीले प्रहरीबाट पाएको यातना सुनाए । “घुँडा दुख्ने समस्याले हिंड्न सकिनँ, तर अस्पतालमा पुगेपछि छिटो हिंड भन्दै प्रहरीले बन्दूकले हिर्काए”, एक कैदीले भने ।

कारागार सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक गणेश राई नाइकेहरूलाई अस्पताल लगिंदा हत्कडी नलगाउने सुविधा रोकिएको र आफन्त भेटघाटमा अलि कडा गरिएकाले कैदी बन्दी योजनाबद्ध रूपमा प्रहरीविरुद्ध लागेको बताउँछन् ।

प्रतिकृया दिनुहोस