केसी अनशनको १२ औं दिन, शिक्षा र स्वास्थ्य सचिवले केसीलाई भेटे
प्राध्यापक डा गोविन्द केसी अनशन बसेको १२ औं दिन आज शिक्षा र स्वास्थ्य मन्त्रालयका निमित्त सचिवद्वय डिल्ली रिमाल र पूर्णबहादुर चन्दले उनलाई अनशनस्थलमा पुगी भेटेका छन् ।
निमित्त सचिवद्वयसँग डा केसीका तर्फबाट डा रन्जन सापकोटाले छलफल गरेका थिए । उक्त अनौपचारिक छलफल सरकारले तत्काल पूरा गर्न सक्ने डा केसीका मागबारे भएको थियो ।
रिमाल र चन्दले कुनै पनि मागबारे प्रतिक्रिया दिएनन् भने सरकारका तर्फबाट समेत कुनै प्रस्ताव पेश गरेनन् । उनीहरुले शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीसँग आज भएको छलफलबारे कुरा राख्ने बताएका थिए ।
डा सापकोटले पूर्व सम्झौता अनुसारका मागहरुमध्ये केही सरकारले तुरुन्तै पूरा गर्न सक्ने बताएका थिए ।
ती मागहरु हुन्ः
चिकित्साशास्त्र अध्ययन् संस्थानमा वरिष्ठताका आधारमा तत्काल डिन नियुक्ति ।
निजी मेडिकल कलेजहरुमा एमबीबीएस र बीडीएस लगायतका शैक्षिक कार्यक्रममा पूर्व सम्झौता अनुसार नै शुल्क निर्धारण गर्ने ।
काठामाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलले सिट निर्धारण, सम्बन्धन र विस्तारित कार्यक्रम लगायतमा गरेका अनियमितताको छानविन गर्न न्यायिक आयोग गठन गर्ने ।
स्वास्थ्य जोखिम बन्दै
आज आमरण अनशनको १२ औं दिन डा केसीको रगतमा म्याग्नेसियम र क्याल्सियमको मात्रा निकै न्यून देखिएको र त्यसकारण मुटुसम्बन्धी खतारा बढेर गएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । त्यस्तै उनको रगतमा चिनीको मात्रै निकै कम भएको र पिसाबमा किटोन देखिएको परीक्षण रिपोर्टमा उल्लेख छ । निरन्तर अक्सिजन दिइरहँदा पनि ‘स्याचुरेशन’ कम हुने तथा सास फेर्न गाह्रो हुने भएको छ ।
निरन्तरको अनशनले रगतमा ‘डब्ल्यूबीसी’ कम भएकाले संक्रमणको पनि सम्भावना रहेको पनि चिकित्सकले जनाएका छन् ।
उनको स्वास्थ्यअवस्था जोखिमपूर्ण बन्दै गएको र कुनै पनि बेला आपतकालीन उपचारको खाँचो पर्ने हेल्थ बुलेटिनमा उल्लेख छ ।
ओली, देउवा र नेपाललाई पत्र
यसैबीच सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर लोकमान कार्कीलाई महाभियोग लगाउने पक्रिया थाल्न आग्रह गरेको छ ।
अलायन्सको टोली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता माधवकुमार नेपालको घरमा समेत पुगेको भए पनि उनीहरु घरमा नभएकाले पत्र छोडेर आएको छ ।
डा केसीका मागहरु
१) सरकार समक्ष हामीले पेश गरेका सुझावअनुरुप संशोधन गरी चिकित्सा शिक्षा ऐन संसदको यही अधिवेशनबाट तुरुन्त पारित गरियोस् ।
२) अदुअआ प्रमुख आयुक्त लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाभियोगको प्रक्रिया अघि बढाइयोस् ।
३) मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले निर्धारित गरे बमोजिम तथा पछिल्लो सम्झौताबमोजिम कायम गर्दै पछिल्लो चोटि निजी मेडिकल कलेजका प्रतिनिधिहरुद्वारा बनाइएको कथित समितिको निर्णय खारेज गरियोस् ।
४) अघिल्लो पल्ट भएको सम्झौताका बाँकी बुँदा तत्काल कार्यान्वयन गरियोस्
आइओएममा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्ति गरियोस्
चिकित्सा शिक्षा ऐनको मर्मविपरीत संसदमा विचाराधीन प्रक्रिया फिर्ता गरियोस्
आइओएमका भ्रष्ट पूर्व पदाधिकारीमाथि तत्काल छानविन र कारवाही अघि बढाइयोस् ।