रिपोर्टमंगलवार, चैत्र १३, २०७४

अन्न फल्नै छोड्यो मध्यपहाडमा

मुकेश पोखरेल

घट्दो वर्षा, लम्बिंदो खडेरी र बढ्दो बसाइँसराइले मध्यपहाडी भूभागलाई बालीविहीन बनाउँदैछ। 

पुस २०७४ मा बाजुराको हिमाली गाउँपालिका–४ को रुगिन गाउँमा रहेको खेतीयोग्य जमीन खडेरीका कारण बाँझै थियो । तस्वीर: प्रकाश सिंह

हुम्लाको ताजामैला गाउँपालिका–४ मैलाका अम्मर रोकायाको घरमा गएको साउनयता दिनको एकछाक मात्र खाना पाक्दैछ । घरको अन्न सकिएर किनेको चामल फारु गर्न सात जनाको परिवारले एकछाक मात्र खाइरहेको रोकाया बताउँछन् ।

हुम्लाकै ताजामैला गाउँपालिका–१ का नन्दबहादुर भण्डारीको घरमा त एकछाक मात्र पाक्न थालेको एक वर्ष पुग्न लाग्यो । उनी भन्छन्, “हामी त जेनतेन धानिएका छौं, बालबच्चालाई समस्या छ ।” 

सेती र कर्णाली अञ्चलका बाजुरा, बझङ, हुम्ला, मुगुलगायतका जिल्लामा वर्षायाममा समेत पानी नपरेको चार वर्ष भयो । उसै पनि सुक्खा यी जिल्लाहरूलाई लामो खडेरीले बालीविहीन बनाउँदैछ ।

हुम्लाको ताजाकोट, अदानचुली, मुगुका खत्याड, सोरुलगायतको क्षेत्र पूरै बन्जर छ । बाजुराको स्वामीकार्तिक, पाण्डवगुफा, हिमाली गाउँपालिका र बूढीनन्दा नगरपालिकाका खेतीयोग्य जमीन बन्जर बनेका छन् । जिल्ला कृषि विकास कार्यालय, बाजुराकी बागवानी अधिकृत सविताकुमारी जोशी खडेरीले आधा बाजुरा प्रभावित भएको बताउँछिन् ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल यति लामो खडेरी यसअघि कहिल्यै नपरेको बताउँछन् । लम्बिएको खडेरीले खेतीबाली त लग्यो लग्यो, खानेपानीका मुहानहरू पनि सुकाएको उनी बताउँछन् । हिमाली गाउँपालिका–६ धिमका गोरखबहादुर सार्कीले मुहान सुकेपछि ४०० परिवार खानेपानीको जोहो गर्न एक घण्टा टाढा पुग्न थालेको बताए ।

त्यस्तै, ३०० परिवारले पिउने गरेको स्वामीकार्तिक गाउँपालिकाको वाइ खानेपानी मुहान पनि सुकेको छ । अध्यक्ष मल्लका अनुसार हिमाली गाउँपालिकाभित्र खानेपानीका १३ वटा मुहान सुकेका छन् । उनी भन्छन्, “समस्या कति चर्को छ भने, सक्नेजति सबै बसाइँ सरेका छन् ।”

बीउ हराउने चिन्ता
जिल्ला कृषि विकास कार्यालयका अनुसार यो साल हिउँदे वर्षा नहुँदा बाजुरामा करीब १३ हजार टन खाद्यान्न अपुग हुने अनुमान छ । गत वर्ष ६ हजार ५०० टन खाद्यान्न अपुग भएको थियो । जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्ला कृषि विकास कार्यालयमार्फत २५ हजार क्वीन्टल चामल माग गरेको छ ।

हिमाली गाउँपालिका–४ बोर्ता गाउँमा पानीका लागि पालो कुरेका स्थानीय । तस्वीरः प्रकाश सिंह

कृषि विकास कार्यालयको अनुमानमा बाजुरामा यस वर्ष ४ हजार ५५० हेक्टरमा लगाइएको रु.१९ करोड ४० लाख बराबरको अन्न बाली खडेरीबाट प्रभावित भएको छ । कार्यालयका सूचना अधिकृत मीनप्रसाद जैसी बालीको बीउ पनि फिर्ता नहुने स्थिति रहेको बताउँछन् ।

मात्रा फरक होला, तर बाजुरा, बझङ, मुगु र हुम्लाको जस्तो समस्या देशभरका मध्यपहाडी क्षेत्रमा देखिन थालेको छ । सबैतिर हिउँदे वर्षा हराउँदै गएको छ, त्यसको सीधा असर अन्न उत्पादनमा परेको छ ।

जस्तो, अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का जगदीश्वर पाण्डेले चार वर्ष अघिसम्म सरदर तीन मुरी चना, चार मुरी जौ र १० पाथी आलस फलाउँथे । अहिले अवस्था उल्टिएको छ । “असोजदेखि पानी नै परेको छैन” मैदान जस्तो बनेको बारी देखाउँदै उनले भने “यो वर्ष त बीउ पनि फिर्ता हुने अवस्था छैन ।” 

विगतमा दुई पटकसम्म पर्ने हिउँदे वर्षाले उत्पादन राम्रो हुने गरेको उनले सम्झ्एि । पहिला अन्न उत्पादनमा प्रख्यात छत्रदेव गाउँपालिकाको चौवा क्षेत्र पनि अहिले सुक्खा मैदान जस्तै छ । चौवाका गुणनिधि बञ्जाडे वर्षमा सरदर दुई मुरी चना, एक मुरी मसुरो र एक मुरी केराउ बेच्थे ।

ती चिज किनेर खान थालेको पाँच वर्ष भएको उनी बताउँछन् । यस वर्ष तीन पाथी जौ किनेर छरेका चौवाकै जगदीश्वर पाण्डे भन्छन्, “हिउँदे पानी नपरेकाले बीउ नै डढेर गयो ।”

पर्वतमा पनि असोजयता वर्षा नभएर गहुँ, जौ, तोरी जस्ता बाली नराम्ररी प्रभावित भएका छन् । जिल्ला कृषि विकास कार्यालय, पर्वतले यस वर्ष जिल्लाको हिउँदेबालीको उत्पादनमा ५० प्रतिशतले कमी आउने अनुमान गरेको छ ।

रोल्पामा पनि गएको असोजदेखि वर्षा नभएकोले हिउँदेबाली भुसुक्कै बिग्रिएको छ । गहुँ, जौ बारीमै सुकेका छन् । रोल्पा आलुको लागि नामी जिल्ला हो, तर यस वर्ष सुक्खा लागेकाले किसानले फागुनमा आलु लगाउनै पाएनन् । त्रिवेणी गाउँपालिका–३ बूढागाउँकी निर्मला घर्ती भन्छिन्, “यस वर्ष केराउ, चना र जौसँगै आलुको बीउ पनि गयो ।”

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ का कृषक चन्दबहादुर ओलीले पनि यस वर्ष गहुँ र जौको बीउ बारीमै मासिएको बताए । जिल्ला कृषि विकास कार्यालय, रुकुम पश्चिमका निमित्त प्रमुख राजेश शाह भने गहुँ उत्पादनमा २५ प्रतिशत मात्र कमी आएको बताउँछन् । उनका अनुसार, रुकुम पश्चिममा ११ हजार ७०० हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको छ ।

त्यस्तै, पाल्पाका किसानहरू असोजदेखि पानी पर्खिरहेका छन् । पानी नपर्दा यस वर्ष जंगलमा काफल समेत नफलेको यम्घाकी सुन्तली विश्वकर्मा बताउँछिन् ।

चिलाङदी–चापपानी–राम्दी सडक उपभोक्ता समितिका अध्यक्ष भगवान भण्डारी हिउँदे वर्षा नहुँदा सुक्खा र धूलोको राज चलेको बताउँछन् । उनका अनुसार, यो हिउँदमा धेरैले खेती लगाउनै सकेनन्, लगाएकाहरूको बीउ पनि फिर्ता नहुने अवस्था छ ।

यता दोलखा जिल्लामा पनि खडेरीका कारण यस वर्ष हिउँदे बाली प्रभावित भएको छ । नालढुङ्गा कृषि सहकारी संस्थाले गत वर्ष १६ जना किसानलाई १०० किलो गहुँको बीउ वितरण गरेकोमा दुई टन उत्पादन भएको थियो । यस वर्ष ६०० किलो बीउ वितरण गरेकोमा तीन टन पनि उत्पादन नहुने देखिएको सहकारीका प्राविधिक रत्न दाहालले बताए । 

पाँचथरको याङवरक गाउँपालिकाको फागुने फाँट यतिवेला जौ, गहुँ र केराउले हराभरा हुनुपर्ने हो, तर यो वर्ष अवस्था फरक छ । फालेलुङ–७ का टीकाराम रिजाल असोज–कात्तिकमा लगाइने जौ, गहुँ, केराउलाई हिउँदमा कम्तीमा एकपटक जमीन भिज्ने गरी वर्षा हुनुपर्ने बताउँछन् । तर, खडेरी लाग्दा याङवरक, फालेवुङ सबैतिर हिउँदे बाली नभएको बताउँदै रिजाल भन्छन्, “हरेक साल वर्षा कम हुँदै जाँदा पहाड सुक्दै गएको छ ।”

सुक्खाका कारण पूरै पहाडमा डढेलोको जोखिम बढेको उनले बताए । पश्चिम पहाडका प्यूठान, रुकुम लगायतका जिल्लामा त फागुन पहिलो सातादेखि नै डढेलोले धनजनको क्षति गर्न थालिसकेको छ ।

राष्ट्रिय बाली विकास निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदी खडेरी र सुक्खाका दिन बढेसँगै बालीनालीमा नयाँ–नयाँ रोगकीराको प्रकोप बढेको छ । उनका अनुसार, मिलिबग नामको कीरा पहिला फाट्टफुट्ट मात्र देखिन्थ्यो, अहिले त्यसले प्रकोप ल्याउन थालेको छ ।

त्यस्तै, पहिले तराईमा देखिने फौजी कीराले अहिले पहाडका बालीनाली सखाप पार्न थालेको छ । २०७२ सालयता टमाटरमा टुटा नामको नयाँ कीरा लाग्न थालेको छ । “सुक्खापन जति बढ्यो रोगकीराका लागि त्यति नै अनुकूलता हुन्छ” सुवेदी भन्छन्, “तापक्रम वृद्धिसँगै कीराहरू एक ठाउँबाट अर्को ठाउँमा फैलिएको पाइएको छ ।”

बिथोल्यो बसाइँसराइ–वैदेशिक रोजगारले
मध्य पहाडी क्षेत्रको कृषि उत्पादनलाई तराई वा शहरतर्फको बसाइँसराइ र वैदेशिक रोजगारीले पनि प्रभावित पारेको छ । कृषि विकास मन्त्रालयका कृषि अर्थ विज्ञ शंकर सापकोटा पछिल्लो २० वर्षयता पहाडमा जग्गा बाँझे राख्ने प्रवृत्ति निकै बढेको बताउँछन् ।

हुन पनि, उत्पादनशील उमेरका व्यक्ति हरेक जसो घरबाट वैदेशिक रोजगारमा गएका छन् । उनीहरूले पठाउने रेमिटेन्सले किनेर खाने, बच्चा पढाउन परिवारलाई जिल्ला सदरमुकाम वा शहरमा राख्ने चलन बढेको छ । “गाउँको घरमा त बूढाबूढी भएका बाबुआमा मात्र रहने भए” सापकोटा भन्छन्, “युवा जनशक्ति विदेशमा हुने र गाउँमा सब थोक किनेर खाने सजिलो तरिका अपनाइएको छ ।” 

पहाड भनेको नेपालको कुल क्षेत्रफलको ६८ प्रतिशत भू–भाग हो । कुल दुई करोड ३२ लाख जनसंख्यामध्ये ४३.१ प्रतिशत पहाडी क्षेत्रमा बसोबास गर्छन् । यत्रो आवादीमा सुक्खापन बढ्दा तत्काल ठूलो असर नदेखिए पनि दीर्घकालीन रूपमा भयावह समस्या हुने विज्ञहरू बताउँछन् ।

कृषि अर्थविज्ञ सापकोटा पहाडमा पानी नपर्ने, खेतीबाली नलगाउने, वैदेशिक रोजगारीमा जाने र तराई वा शहरहरूतिर बसाइँ सर्ने प्रवृत्ति झन् बढ्ने देख्छन् । हुन पनि, गएको १० वर्षमा ताप्लेजुङ, पाँचथर, पाल्पा, पर्वतलगायत पहाडका २७ जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक छ । झपा, मोरङ, सुनसरी, रूपन्देही, बाँकेलगायत तराईका जिल्लाको जनसंख्या २१ लाख बढेको छ ।

पर्वतको आर्थर डाँडाखर्क, चित्रे, राम्जा देउराली, भूक देउराली, बालाकोट, भोक्सिङ्ग लगायतका गाउँबाट आधा मानिस बसाइँ सरेका छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी पर्वतका गाउँहरूमा आधा जमीन बन्जर भएको बताउँछन् । गाउँमा जोत्ने गोरु समेत पाउन छाडिएको छ ।

बसाइँ जाने त गए, गए; गाउँमै रहेका पनि एक घरबाट दुई–तीन जनासम्म वैदेशिक रोजगारीमा गएका छन् । आर्थर डाँडाखर्कका रामकृष्ण गुरुङ खेती लगाउन भन्दा किनेर खान सस्तो परेका कारण पनि बाली लाग्न छाडेको बताउँछन् । कृषि मन्त्रालयको तथ्यांकले पनि त्यही भन्छ । सन् २०००/२००१ मा पहाडका एक लाख ५६ हजार ४४ हेक्टर जमीनमा धान खेती लगाइएकोमा २०१५/१६ मा यो क्षेत्रफल घटेर एक लाख ३६ हजार ९०८ हेक्टरमा झर्‍यो ।

मन्त्रालयका कृषि अर्थविज्ञ सापकोटाका अनुसार, राष्ट्रिय उत्पादनमा पहाडी र उच्च पहाडी क्षेत्रको योगदान ३० प्रतिशत मात्र छ । यसको अर्थ जुनसुकै कारणले होस्, पहाडमा उत्पादन घट्दा अर्थतन्त्रमा तत्कालै ठूलो असर पार्दैन । तर, दीर्घकालीन रूपमा खाद्य सुरक्षा र मानव स्वास्थ्यमै समस्या पर्ने उनको भनाइ छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका, चौवाका जगदीश्वर पाण्डे खडेरीले मैदान बनेको बारी देखाउँदै । तस्वीरः मुकेश पोखरेल

पहाडी क्षेत्रको उत्पादनले खाद्य सुरक्षामा पुर्‍याउने योगदान महत्वपूर्ण भएको सापकोटा बताउँछन् । उनी भन्छन् “सधैंभरि आयातीत बस्तुको उपभोगले मानिस कुपोषणबाट ग्रस्त हुन सक्छन्, पहाडमा फल्ने अन्न, फलफूल र तरकारीमा पाइने तत्वको अभावमा जनस्वास्थ्यमा गम्भीर असर देखिने खतरा छ ।”

कृषि मन्त्रालयका अनुसार, २०६९/७० मा पहाडी क्षेत्रको २ लाख ९७ हजार ३९२ हेक्टर जमीनमा गहुँ खेती लगाइएकोमा ६ लाख ४१ हजार ७६९ टन गहुँ उत्पादन भएको थियो । तर, २०७२/७३ मा २ लाख ६३ हजार ७३७ हेक्टरमा गहुँ लगाइएकोमा ५ लाख ३३ हजार ९६४ टन गहुँ उत्पादन भएको थियो । गहुँ र जौ पहाडका मुख्य हिउँदेबाली हुन् ।

२० वर्षअघि र अहिले
हरितगृह ग्यास उत्सर्जनका कारण ओजोन तहमा क्षति पुगेर पृथ्वीको तापक्रम बढिरहेको छ । त्यसबाट जलवायुमा आएको परिवर्तनको बढी असर नेपाल जस्ता हिमाली र अतिकम विकसित मुलुकमा देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालको वार्षिक तापक्रम वृद्धिदर ०.०५६ डिग्री सेल्सियस पुगेको छ ।

पछिल्लो ३० वर्षमा नेपालको तापक्रम १.६ डिग्री सेल्सियस बढेको छ । तराईको तुलनामा हिमाल र पहाडको तापक्रम वृद्धि उच्च छ । हिमालमा तापक्रम वृद्धिदर प्रति वर्ष ०.०८ प्रतिशत छ भने पहाडमा ०.०६ प्रतिशत ।

सन् १९७० यता नेपालको तापक्रम वृद्धि विश्वको तुलनामा दुई गुणा बढी छ । यही गतिमा तापक्रम वृद्धि हुने हो भने आगामी १०० वर्षमा नेपालको तापक्रम वृद्धिदर ५ डिग्री सेल्सियस पुग्नेछ । वातावरण मन्त्रालयले सन् २०१० मा गरेको अध्ययनले २०३० सम्म तापक्रम वृद्धिदर १.२, २०५० सम्म १.७ र सन् २१०० मा ३ डिग्री सेल्सियस पुग्ने आकलन गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराज शर्मा नेपालको तापक्रम वृद्धिदर यो शताब्दीको अन्त्यसम्ममा ५ डिग्री सेल्सियस पुग्ने उक्त प्रतिवेदनले देखाएको बताउँछन् ।

२०२० सम्ममा नेपालको गहुँ उत्पादनमा एक लाख ७६ हजार टन कमी आउने वातावरण मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । अहिले वार्षिक १५ लाखदेखि १७ लाख टनसम्म गहुँ उत्पादन भइरहेको छ । हिउँदे खडेरी लम्बिंदै गएकोले अब नेपालमा गहुँ उत्पादन घट्ने वातावरणविद् ङमिन्द्र दाहाल बताउँछन् । अहिले देशको कुल खेतीयोग्य जमीनमध्ये करीब २० प्रतिशतमा मात्र सिंचाइ सुविधा छ । नार्कका गहुँ प्रजनन् विज्ञ डा. ध्रुव थापा अब कृषि उत्पादनमा वातावरण मन्त्रालयले औंल्याएभन्दा बढी असर देखिने बताउँछन् ।

तापक्रम वृद्धिका कारण हिउँदे पानी नपरेको मात्र नभई वर्षात्को प्रकृति परिवर्तन भई एकैचोटि मुसलधारे पानी पर्दा भूमिगत जलभण्डारण भरिन छाडेर पनि हिउँदे कृषि प्रभावित भएको छ । सिमसिमे वर्षात् नभई मुसलधारे पानी पर्न थाल्दा बाढीपहिरो र भू–क्षय बढ्नुको साथै मूल नफुट्नेदेखि मनसुनपछि छिट्टै चिस्यान हराउनेसम्मको समस्या भएको छ ।

एक्कासी ठूलो पानी पर्दा पहाडमा हुने भू–क्षय र बाढीको घातक असर तराईमा पनि देखिन थालेको छ । चुरे क्षेत्रमा पानी रिचार्ज हुन नपाउँदा तराईमा भूमिगत पानीको तह घट्दै गएको छ ।

हिमाली क्षेत्रमा लामो समय रहने हिउँले माटोमा सिंचाइको काम गर्छ । तापक्रम वृद्धिका कारण कम हिउँ पर्ने, छिटो पग्लिने भएर माटोमा चिस्यान हराउँदै गएको छ । त्यसको सीधा असर हिमाली क्षेत्रको बालीनालीमा परेको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले नुवाकोटका उच्च पहाडमा गरेको अध्ययन अनुसार, २० वर्षअघि तीन महीनासम्म हिउँ रहने ठाउँमा अहिले हिउँ नै पर्दैन, परे पनि तीन सातामै पग्लिसक्छ । यसरी चिसा दिनहरू घटिरहेका छन् । जल तथा मौसम विज्ञान विभागको अध्ययनले यो शताब्दीको अन्त्यतिर गर्मी हुने दिन ६० पुग्ने अनुमान गरेको छ । अहिले वर्षमा ३६ दिन गर्मी हुन्छ ।

पहाड, हिमाल झनै जोखिममा
जल तथा मौसम विज्ञान विभागले गरेको गत ४० वर्षको मौसमी विश्लेषण अनुसार शिवालिक क्षेत्रको वर्षाको दरमा वार्षिक १.४८ मिलिमिटर कमी आएको छ । त्यस्तै, मध्य पहाडमा १.५८ र उच्च पहाडी क्षेत्रमा ३.१७ मिलिमिटर कमी आएको छ ।

उच्च पहाडी क्षेत्रको हिउँदे वर्षामा ०.०६ प्रतिशतले कमी आएको छ । मध्यपहाडमा हिउँदको समयमा प्रति वर्ष ०.०४६ डिग्री सेल्सियस, उच्च पहाडमा ०.०७० डिग्री सेल्सियस र हिमाली क्षेत्रको तापक्रम वृद्धिदर ०.१०१ डिग्री सेल्सियस छ ।

अछाम, बाग्लुङ, बाजुरा, बझङ, भोजपुर, दार्चुला, धादिङ, दोलखा र गोरखालगायत जिल्लामा हिउँदे वर्षा कम हुँदै गएको र अर्घाखाँची, बाजुरा, बाग्लुङ, बझङ, दैलेख र दोलखामा तापक्रम पनि वृद्धि हुँदै गएको छ ।

हराउँदै रैथाने बाली
बाली विकास निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत केशव खनाल कागुनो, मास, कोदो, फापर, गहत, झिलङ्गी, धानलगायत पहाडका रैथाने बालीहरू हराउन थालेको बताउँछन् । पोषणका लागि राम्रो मानिएका तिल, बोडी, फापर र उवालगायतका बालीको उत्पादन घट्दो छ ।

सन् २००० मा ३० हजार २५२ हेक्टर जमीनमा मास लगाइएकोमा २१ हजार ५९९ टन उत्पादन भएको कृषि विभागको तथ्यांकले देखाउँछ । २०१५ मा मास खेतीको क्षेत्रफल घटेर २३ हजार ३१२ हेक्टर भयो भने उत्पादन १९ हजार ४०२ टन ।

जलवायु परिवर्तनको असरबाट कृषि उत्पादनमा हुने कमीले मौसम अनुसारकै बीउविजन लगाउनुपर्ने हुन्छ । त्यसका लागि निरन्तर अनुसन्धानबाट बालीका नयाँ–नयाँ जात पत्ता लगाउनुपर्छ । त्यो काम नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गर्ने गरेको छ ।

नार्कका गहुँ प्रजनन् विज्ञ डा. ध्रुव थापाका अनुसार, पहाडका लागि सुक्खामा पनि उत्पादन दिन सक्ने च्याखुरा, मुनाल, डब्लूके– १४८१ र स्वर्गद्वारी जातका गहुँ सिफारिश भएका छन् । त्यस्तै, धान विज्ञ उज्वलकुमारसिंह कुशवाह पहाडी क्षेत्रका लागि खडेरी र कम पानीमा पनि उत्पादन दिनसक्ने खुमल १०, खुमल ८, खुमल ११ जातका धान सिफारिश भएको बताउँछन् । 

२८ वर्षयता पहाडी क्षेत्रमा लगाइँदै आएको खुमल ४ मा भने रोगकीराको प्रकोप बढेको उनी बताउँछन् । खुमल ४ भन्दा अगाडि सिफारिश भएका कञ्चन हिमाली, छोम्रोङ, थिमा ४, खुमल २, ३, ५ र ६ त लोपोन्मुख नै भइसके ।

त्यसअघिका ताउली, दर्माली, जिर्मानी, कोइली, गोठे र झौरी जीन–ब्यांकमा सीमित भइसके । त्यस्तै, कुनै वेला काठमाडौं उपत्यकामा राम्रो उत्पादन दिएको मञ्जुश्री २ र ताइचुङ धानमा रोग–कीराको प्रकोप बढेपछि यसको चलनै हराएको छ । सन् १९७० मा सिफारिश भएर लामो समय चलेको आर आर २१, नेपाल २७२, अन्नपूर्ण, लेर्मा, लेर्मा ६४ लगायत १२ प्रकारका धानका बीउ लगाउन नहुने सूचीमा पुगेका छन् ।

नार्क अन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र जीन–ब्यांकका बालीविज्ञ कृष्णहरि घिमिरेका अनुसार, १५–२० वर्षअघिसम्म नेपालका एउटै गाउँमा ५० प्रकारसम्मका रैथाने धानबाली पाइन्थ्यो, अहिले चार–पाँच वटा पनि पाउन मुश्किल छ ।

बदलिंदो हावापानीमा अनुकूलन हुन नसकेरै ती धानहरू लोप हुनपुगेको उनी बताउँछन् । उनको अनुमानमा, अहिले धानका १०, गहुँका ५ र मकैका १५ प्रतिशत तथा तरकारी बालीमा १५ प्रतिशत जति मात्र रैथाने बीउबाट खेती भइरहेको छ ।

(साथमा, प्रकाश सिंह बाजुरा, लक्ष्मण केसी रुकुम, जीवन डाँगी रोल्पा, दुर्गाप्रसाद शर्मा पर्वत, सानुबाबु तिमिल्सेना धादिङ, शर्मिला बुढाथोकी दोलखा, राधा गौतम पाँचथर र सुरजकुमार भुजेल मकवानपुर)

प्रतिकृया दिनुहोस