रिपोर्टसोमवार, चैत्र १२, २०७४

नसर्ने रोगले गरिबी बढायो

रामु सापकोटा

३२ जना डाक्टर र विभिन्न विषय–विज्ञहरूको टोली संलग्न नेपाल एनसीडीआई पोभर्टी कमिसन (एनएनपीसी) ले गरेको अध्ययनले नेपालमा नसर्ने रोगको जोखिम भयानक रूपमा बढेको र त्यसै कारण गरीब हुनेको संख्या थपिंदै गएको देखाएको छ । अध्ययन प्रतिवेदन अनुसार नसर्ने रोगहरूमध्ये मुटु रोग सबभन्दा धेरै बढेको छ ।

बेलायतको ल्यान्सेट जर्नलले ११ मुलुकमा नसर्ने रोग (नन् कम्यूनिकेवल डिजिज्–एनसिडिज्) को अध्ययन गर्न ‘ल्यान्सेट कमिसन अन रिफ्रेमिङ एनसिडिज् एण्ड इन्जुरिज् फर द पुअरेस्ट बिलियन’ बनाएको छ । त्यही कमिसनले नेपालमा बनाएको एनसीडीआई पोभर्टी कमिसनले नौ थरीका नसर्ने रोग र दुर्घटना सम्बन्धी तीन हजार ३५ वटा अनुसन्धान प्रतिवेदनको अध्ययन गरेर निकालेको निष्कर्षले ‘नसर्ने रोगको बढ्दो जोखिम नियन्त्रण नगरे यसले निम्त्याउने गरीबीको समस्या झ्नै बढाउने’ बताएको छ ।

यसअघि अमेरिकाको इन्ष्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनको सन् २०१५ को ग्लोबल बर्डेन अफ डिजिज्ले गरेको अध्ययनले पनि नेपालमा नसर्ने रोगको समस्या डरलाग्दो गरी बढिरहेको देखाएको थियो । उक्त अध्ययन प्रतिवेदनका अनुसार नेपालमा नसर्ने रोगका कारण ५१ र दुर्घटनाका कारण १४ प्रतिशत मानिसले ज्यान गुमाउने गरेको र त्यति नै प्रतिशतमा शारीरिक अशक्तताको समस्या निम्तिने गरेको छ । सन् २००४ मा प्रति एक लाख जनसंख्यामध्ये १४ हजार ९३९ जना नसर्ने रोग लागेपछि अशक्त भएकोमा सन् २०१५ मा यो संख्या बढेर १६ हजार ४३९ पुगेको प्रतिवेदनमा उल्लेख छ । १९९० पछि नेपालमा सरुवा रोगबाट हुने मृत्यु घटे पनि नसर्ने रोगबाट हुने मृत्यु र यसले निम्त्याउने शारीरिक अशक्तताको समस्या २०१५ सम्ममा दोब्बरले बढेको छ ।

नसर्ने रोगबाट उमेर ढल्केकाहरू बढी प्रभावित हुने गरेकामा पछिल्ला वर्षहरूमा यसले युवा समूहलाई पनि आक्रान्त पार्न थालेको छ । इन्ष्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनको ग्लोबल बर्डेन अफ डिजिज्को २०१५ को तथ्यांकले नेपालमा ४० वर्षभन्दा कम उमेरमा नसर्ने रोग लागेकामध्ये ३७.९ प्रतिशत र दुर्घटनाका कारण ७९ प्रतिशत मानिसहरू शारीरिक रूपमा अशक्त हुने देखाएको थियो । नेपाली युवा खासगरी दम, जन्मजात मुटु रोग, बाथ रोग, मिर्गाैला रोग, रक्तकोषहरूमा असामान्य वृद्धिबाट लाग्ने क्यान्सर रोग, लिम्फोमास क्यान्सर, सिकल सेल एनेमिया, टाइप–वान मधुमेह रोगका कारण बढी प्रभावित भएका छन् ।

शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचाररत धनुषा, ढल्केबरकी मुङियादेवी महतो बुहारी, नातिनी र छोराका साथमा । मुुटुका नसा खुम्चिने समस्या देखिएपछि परिवारका सदस्यले उनलाई गंगालाल ल्याएका हुन् ।  तस्वीरः रामु सापकोटा 

यस्तै सडक दुर्घटना, पानीमा डुबेर र आत्महत्या गरेर युवावस्थामा मृत्यु हुनेको संख्या पनि बढ्दैछ । नेपालमा ४० वर्षभन्दा कम उमेरमा नै नसर्ने रोग र दुर्घटनाका कारण मर्नेहरूको संख्या उच्च आयस्रोत भएका मुलुकको तुलनामा बढी भएको अध्ययन प्रतिवेदनले देखाएको छ । यसरी कलिलो उमेरमै नसर्ने रोगबाट पीडित बनेका व्यक्तिमध्येका एक हुन्, पाँचथरको हिलिहाङ गाउँपालिका–५ का २५ वर्षीय टार्जन सुहाङ । २०६९ सालमा शरीर र अनुहार सुन्निएपछि काठमाडौंको वीर अस्पतालमा पु¥याएर जचाउँदा दुवै मिर्गौलामा खराबी देखिएको उनका बाबु लक्ष्मीप्रसाद सुहाङ बताउँछन् । त्यसयता निरन्तर उपचारमा रहेका टार्जनको मुटुका चारमध्ये तीनवटा भल्भले पनि काम गर्न छाडेको गत भदौको जाँचमा देखियो । “अहिलेसम्मको उपचारमा २५ लाख रुपैयाँ सकियो” लक्ष्मीप्रसाद सुहाङ भन्छन्, “तैपनि सास रहुञ्जेल आशा लाग्दोरहेछ, उपचार गर्न छाडेका छैनौं ।”

धुलिखेल अस्पतालका मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजु २० वर्ष अघिसम्म २०–३० वर्ष उमेर समूहमा विरलै देखिने हार्ट अट्याक पनि अहिले बाक्लै हुन थालेको बताउँछन् । उनका विचारमा, युवा उमेरमा हार्ट अट्याक जस्तै अन्य मुटु रोग र नसर्ने रोग देखिनु असामान्य हो, तर भटाभट देखिइरहेको छ ।

मुटु रोगको बढ्दो जोखिम
लगातार डेढ महीनासम्म छाती दुखेपछि धनुषा, ढल्केबरकी मुङियादेवी महतो (६०) लाई छोरा विनयकुमारले ८ माघमा जनकपुरको निजी अस्पतालमा पु¥याए । त्यहाँका डाक्टरले करीब तीनघण्टा जाँच गरेपछि काठमाडौं लैजान सल्लाह दिएपछि महतोले त्यसै राति ११ बजे आमालाई शहीद गंगालाल हृदय रोग केन्द्र ल्याएर आपत्कालीन कक्षमा भर्ना गरे । नौ दिनसम्म उपचार गरेपछि गंगालालका डाक्टरले एक साता घरमा आराम गराएर ल्याउन भने । डाक्टरले भने अनुसार गरेर अस्पताल ल्याएपछि मुङियादेवीको मुटुको तीन वटा नसा खुम्चिएको थाहा भयो । डाक्टरले नसा खुलाउन जाली लगाइदिए ।

नेशनल किड्नी सेन्टर विराटनगरमा डाइलासिस गर्दै मृगौलाका बिरामी । तस्वीरः कमल रिमाल

२८ फागुनमा गंगालालको बहिरंग कक्ष बाहिर पेटीमा बसिरहेकी उनी तेस्रो जाली लगाउने मिति ३० फागुनको पर्खाइमा थिइन् । उनले एक महीनादेखि त्यही पेटीलाई बास बनाएकी थिइन् (हे.तस्वीर) । छोरा विनयकुमारले खर्च अभावमा अन्यत्र बस्न नसकेको बताए । धुलिखेल अस्पतालका मुटु रोग विशेषज्ञ कोजू धूम्रपान, उच्च रक्तचाप, चिनी रोग, रगतमा कोलेस्टेरोलको मात्रा बढ्ने, मोटोपन र शारीरिक व्यायाम नपुग्दा मुटुको नसा साँघुरिने बताउँछन् । उनका अनुसार, नसा साँघुरिने क्रम बढ्दै गएपछि हार्ट अट्याक हुन्छ ।

रौतहट, जयनगरका सीताराम साह (६४) लाई रिंगटा लागेर ढल्ने समस्या भएपछि छोरा वीरबहादुर साहले गंगालाल अस्पताल पु¥याए । खेतीकिसानीबाट जीविकोपार्जन गर्ने उनी दुई हप्तादेखि अस्पतालको बासमा छन्, अझ्ै कति बस्नुपर्ने हो थाहा छैन । छोरा वीरबहादुरले उपचारमा पाइने सुविधाका लागि कागज जुटाउन सकेका छैनन् । धरानका लीला भट्टराई (६७) पनि १८ फागुनदेखि गंगालालमै उपचाररत छन् । हार्ट अट्याक भएका उनको स्वास्थ्यमा केही सुधार आएको छ । उनका छोरा मानबहादुर भट्टराई बुबालाई यसअघि मुटु सम्बन्धी कुनै समस्या नदेखिएको बताउँछन् ।

पछिल्लो समय मुटु रोगको जोखिम बढेको उदाहरण हुन्– मुङियादेवी महतो, सीताराम साह र लीला भट्टराई । एनएनपीसीको अध्ययन प्रतिवेदनले नेपालमा मुटु रोगबाट हुने मृत्यु र शारीरिक अशक्तताको समस्या पनि बढिरहेको औंल्याएको छ ।

थपियो शारीरिक अशक्तता
गएको १० पुसमा भीरबाट लडेर घाइते भएका राकम नगरपालिका, दैलेखका टीकाराम जैसी (२५) लाई परिवारले भोलिपल्ट बिहान एम्बुलेन्समा राखेर कोहलपुर अस्पताल पु¥याए । आईसीयूमा राखेर २२ दिन उपचार गर्दा रु.५ लाख खर्चेका परिवारका सदस्यले थप उपचारका लागि उनलाई २३औैं दिनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ल्याए । अहिले मेडिसिन वार्डमा उपचाररत उनको अझ्ै होश फर्केको छैन । उनका काका बुद्धि जैसीका अनुसार, टीकारामको टाउकोमा रगत र छातीमा खकार जमेको छ । एउटा हात पनि भाँच्चिएको छ । अब उनले बाँचुञ्जेल शारीरिक अशक्तता भोग्नुपर्ने भएको छ ।

दुर्घटनामा परेर घाइते भएका साहील साहको विएनसी अस्पताल झापामा उपचार चलिरहेको छ । तस्वीर: राधा गौतम

डब्लूएचओको ग्लोबल बर्डेन अफ डिजिज्को २०१५ को तथ्यांकले दुर्घटनाका कारण ७९ प्रतिशत मानिस शारीरिक रूपमा अशक्त हुने गरेको देखाएको छ । सोही तथ्यांकले नेपालमा १७ प्रतिशत शारीरिक अशक्तताको कारण मुटु रोग, १० प्रतिशत शारीरिक अशक्तताको कारण कडा खालको श्वासप्रश्वास सम्बन्धी रोग, ८ प्रतिशत शारीरिक अशक्तताको कारण मधुमेह भएको देखाएको छ । यस्तै, ९ प्रतिशत शारीरिक अशक्तताको कारण मस्कुलोस्केटल डिसअर्डर र ८ प्रतिशत शारीरिक अशक्तताको कारण मानसिक स्वास्थ्य समस्या भएको देखाएको छ (हे.इन्फो) । मुटु, मधुमेह, क्यान्सर र फोक्सोको रोगका कारण ४० प्रतिशत शारीरिक अशक्तताको समस्या थपिएको छ ।

यस्तै, प्रति लाख जनसंख्यामध्ये वार्षिक करीब २२०० को हाराहारीमा प्राकृतिक विपत्का कारण र प्रति लाख जनसंख्यामा दुई हजार मानिसहरू इस्केमिक मुटु रोगका कारण शारीरिक रूपमा अशक्त हुने गरेको तथ्यांक छ । एनएनपीसीको अध्ययन अनुसार धूम्रपान, मद्यपान, उच्च रक्तचाप, घरभित्रको प्रदूषण, वातावरणीय प्रदूषणलगायतका कारण नसर्ने रोगले शारीरिक अशक्तताको समस्या बढाएको छ । यी बाहेक ६२ प्रतिशत शारीरिक अशक्तताको समस्या विभिन्न खाले संक्रमण, गरीबी, उपयुक्त बासको अभाव जस्ता कारणले निम्तिएको ग्लोबल बर्डेन अफ डिजिज्, २०१५ को प्रतिवेदनले देखाएको छ ।

नसर्ने रोगका कारण निम्तिने शारीरिक अशक्तताको समस्या धनीको तुलनामा गरीबमा बढी छ । गरीबलाई वातावरणीय प्रदूषणका कारण दम र सिओपिडी, उच्च रक्तचापका कारण मुटु रोग र स्ट्रोकको समस्या हुने गरेको छ । त्यस्तै उँचाइबाट लड्ने, आगोले डढ्ने र सडक दुर्घटनामा पर्नु गरीब वर्गमा आम समस्या बन्दै गएको छ । राम्रो उपचारको अभावमा गरीब परिवारका बिरामी जीवनभर अशक्त भएर बस्नु परेको छ ।

स्रोतः ग्लोबल बर्डेन अफ डिजिज् २०१५ ।

महँगो उपचारले बढाएको गरीबी
आमालाई उपचार गर्न काठमाडौं ल्याउनु परेपछि विनयकुमार महतोले दुई महीनायता खेतको तरकारी बजारमा लगेर बेच्न पाएका छैनन् । अहिलेसम्मको उपचारमा रु.४ लाख ऋण लागिसकेको उनी बताउँछन् । जनकपुरको निजी अस्पतालमा तीन घण्टासम्म उपचार गराउँदा रु.२० हजार तिरेका उनले स्वास्थ्य मन्त्रालयले दिने रु.१ लाख सहुलियत रकम कटाएर गंगालालमा रु.२ लाख २५ हजार बुझइसकेका छन् । बाँकी रकम औषधि र काठमाडौं बसाइको खर्चमा सकिएको उनले बताए । उनलाई आमालाई नसर्ने तर गम्भीर खालको मुटु रोग लागेको पीडासँगै ऋण कसरी तिर्ने भन्ने तनाव थपिएको छ ।

एक वर्षदेखि मिर्गौलाको उपचार गराइरहेकी चुलाचुली गाउँपालिका–१, इलामकी सरिता दर्जी (३६) ले २९ फागुनमा विराटनगरको नेशनल किड्नी सेन्टरमा डायलासिस् गराइन् । उनका श्रीमान् कहरमान उपचार खर्च धान्न निकै मुश्किल परिरहेको बताउँछन् । स्वास्थ्यमा खराबी देखिएलगत्तै उनले सरितालाई शुरूमा झपाको दमक, त्यसपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको नोबेल मेडिकल कलेजमा उपचार गराए । अहिलेसम्मको उपचारमा रु.८ लाख सकिएको र त्यसमध्ये रु.२ लाख ऋण भएको उनले बताए । दर्जी दम्पतीको १२ र ६ वर्षका दुई छोरा छन् । डायलासिस गर्न सातामा दुई पटकसम्म विराटनगर धाउनुपर्छ । श्रीमतीको उपचार गर्न हिंड्नु परेपछि श्रीमान्ले कमाउन जान पाएका छैनन् । “बस्तुभाउ र सुनचाँदी बेचिसकें, एउटा सानो घर र एक कट्ठा जमीन बाँकी छ” रोजगारका क्रममा मलेशिया बसेर आएका दर्जी भन्छन्, “यसपटक चन्दा मागेर अस्पताल ल्याएको हुँ ।”

त्यस्तै, दुवै मिर्गौलामा खराबी देखिएका चन्द्रगढी–९, झपाका पदमराज दाहाल (६६) दुई वर्षदेखि उपचाररत छन् । श्रीमती कौशिला दाहालका अनुसार, भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र, काठमाडौंको किष्ट अस्पताल र भारतको भेलोरस्थित अस्पतालमा उपचार गराउँदा रु.१६ लाख खर्च भइसकेको बताउँछिन् । महँगो उपचार खर्चका कारण रोगमाथि आर्थिक संकट थपिएको उनी बताउँछिन् ।

राष्ट्रिय योजना आयोग र बेलायतको अक्सफोर्ड विश्वविद्यालयको नेपाल मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्सका अनुसार मानिसहरू राम्रो शिक्षा, स्वास्थ्य र जीवनस्तर नभएका कारण गरीब हुन्छन् । नेपालमा यी कारणले गरीब भएकाहरूको बढी संख्या मध्यपश्चिमका पहाडी र हिमाली क्षेत्र तथा मध्य तराईमा छ । अन्तर्राष्ट्रिय च्यारिटेबल संस्था अक्सफाम इन्टरनेशनलको २०११ को तथ्यांक अनुसार मध्य तराईमा १२ लाख र मध्य तराईमा सात लाख १० हजार मानिस गरीब छन् । मध्य र निम्न वर्गीय परिवारहरू पनि उपचारमा लागेको खर्चका कारण गरीब बन्दैछन् । कमिशनको अध्ययन टोलीमा रहेका त्रिभुवन विश्वविद्यालयका सह–प्रध्यापक स्वास्थ्य अर्थशास्त्री शिवराज अधिकारी नसर्ने रोगको उपचारमा भइरहेको खर्चले २५ प्रतिशतमा रहेको मुलुकको गरीबी बढेर २९ प्रतिशत पुगेको बताउँछन् ।

अध्ययन प्रतिवेदनले क्यान्सर रोगको उपचारका लागि एउटा परिवारको वर्षमा औसत रु.१ लाख ५ हजार, मिर्गौला र कलेजो रोगको उपचारमा रु.९१ हजार र मुटु सम्बन्धी रोगको उपचारमा रु.८८ हजार खर्च हुने गरेको देखाएको छ । मुटु, मिर्गौला र कलेजो रोगको उपचारमा केमो–रेडियोथेरापी, डायलासिस, प्रत्यारोपण सर्जरी, इकोकार्डियोग्राफी र कार्डियाक सर्जरी गर्दा धेरै खर्च हुन्छ ।

एनएनपीसीको अध्ययन प्रतिवेदनले सन् २०११ मा नसर्ने रोगका कारण दुई करोड ७३ लाख ३० हजार जनसंख्यामध्ये ०.३८ प्रतिशत नयाँ गरीबहरू थपेको देखाएको छ । यस्तै सोही वर्ष कुल जनसंख्याको ०.९८ प्रतिशतमा दुर्घटनाका कारण निम्तिने स्वास्थ्य समस्याको सम्भावना बढेको देखाएको छ (हे.इन्फो) ।

व्यापारमुखी स्वास्थ्य
पाँचथरको फिदिम नगरपालिका–१ का साहिल साह (२०) २८ भदौ २०७२ मा सडक दुर्घटनामा परे । टाउकोमा गम्भीर चोट लागेका उनलाई परिवारले उपचारका लागि तत्काल झपाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पु¥याए । करीब ६ महीनासम्म चिकित्सकको निगरानीमा उपचार गरेपछि उनलाई थप उपचार गर्न काठमाडौं ल्याइयो । उपचारको क्रममा उनको टाउकामा दुई पटक शल्यक्रिया भयो । उनको स्याहारसुसारमा लागेका बाबु सुरेश साह अहिलेसम्म रु.६५ लाख खर्च भएको बताउँछन् । उनी भन्छन्, “छोराको उपचार खर्च पु¥याउन तीन वटा जीप बेचिसकें ।”

उनको यातायात व्यवसाय त चौपट भयो नै छोरो ठीक हुन्छ भन्ने पनि निश्चित छैन । अस्पताल परिसरमा खोलिएका औषधि पसलले रु.६५० पर्ने औषधिलाई रु.३ हजार ८५० सम्म लिएको, एउटै प्रकृतिको शल्यक्रिया गर्दा अस्पताल पिच्छे रु.१० हजारदेखि रु.५० हजारसम्म फरक परेको साहको अनुभव छ । “उपचार र औषधिलाई महँगो पार्ने होड छ” उनी भन्छन्, “दीर्घ रोगको उपचार गर्नुपर्दा टाटपल्टिने रहेछ ।”

स्वास्थ्य मन्त्रालयले अवलम्बन गरेको नीतिका कारण मुलुकको स्वास्थ्य सेवा व्यापारमुखी बनेको स्वास्थ्य अर्थशास्त्री शिवराज अधिकारी बताउँछन् । उनका अनुसार, सरकारी अस्पतालमा उपचार सेवा पर्याप्त छ भने निजी अस्पताल महँगा छन् । जिल्ला अस्पताल र प्राथमिक उपचार केन्द्रमा मधुमेह, मुटु रोग र श्वासप्रश्वास सम्बन्धी रोगको उपचार सेवा भए पनि तालिमप्राप्त स्वास्थ्यकर्मी छैनन् । निजी र सरकारी स्वास्थ्य संस्थामा नसर्ने रोगको उपचार सेवाको उपलब्धतामा पनि ठूलो अन्तर छ । १५.१ प्रतिशत सरकारी स्वास्थ्य संस्थामा मात्र मधुमेह रोगको उपचार सेवा उपलब्ध छ भने निजीका ९५.२ प्रतिशतमा । विशेषज्ञ स्वास्थ्य सेवाको उपलब्धतामा पनि निजी र सरकारीबीच धेरै ठूलो खाडल छ । स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन अनुसार, ८८ प्रतिशत निजी अस्पतालमा इकोकार्डियोग्राफी र ७६ प्रतिशतमा इलेक्ट्रोकार्डियोग्राफी सेवा छ, तर सरकारीमा क्रमशः १२ प्रतिशत र २४ प्रतिशत मात्र छ ।

सन् २०१४ मा कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा खर्च भएको थियो । त्यो वर्ष सरकारले कुल खर्चमध्ये स्वास्थ्य क्षेत्रमा ४० प्रतिशत खर्च गरेको थियो । जसमध्ये ६.४ प्रतिशत रकम नसर्ने रोगमा खर्च गरेको थियो । यस्तै सरकारले कुल बजेटमध्ये ११ प्रतिशत रकम स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरेको थियो । २०१७ देखि ३० जिल्लामा शुरू भएको नसर्ने रोगको उपचार सम्बन्धी प्याकेज अफ इसेन्सियल नन् कम्युनिकेवल (पेन) कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयले आठ लाख अमेरिकी डलर छुट्याएको छ । एनएनपीसीका सह–अध्यक्ष रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सरकारले नसर्ने रोगको उपचारमा जस्तै रोग नियन्त्रणमा पनि लगानी बढाउनुपर्ने बताउँछन् ।

अबको बाटो
नेपाल एनसीडीआई पोभर्टी कमिसनले मधुमेह, मुटु र श्वासप्रश्वास सम्बन्धी कडा खालका नसर्ने रोगको बढ्दो जोखिम घटाउन स्वास्थ्य मन्त्रालयले चलाइरहेको पेन कार्यक्रम अन्य जिल्लामा पनि विस्तार गर्न सुझएको छ । एनएनपीसीले रोगको जोखिम र उपचारका लागि चाहिने खर्चका आधारमा २५ वटा रोगको सूची बनाएर प्राथमिकताका आधारमा प्रभावकारी स्वास्थ्य सेवा पु¥याउन पनि सुझव दिएको छ (हे.इन्फो) । दम रोगलाई सूचीको पहिलो नम्बरमा राखेर उपचार सेवा बढाउन सुझव दिएको एनएनपीसीले ‘युनिभर्सल हेल्थ केयर’ उपलब्ध गराउन २३ वटा कदम चाल्न भनेको छ । त्यस्तै, युवावस्थामा देखिने बाथ, मुटु रोग, कडा खालको दम रोग र मानसिक स्वास्थ्य समस्यालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न सुझएको छ ।

एनएनपीसीले नसर्ने रोगको बढ्दो जोखिम नियन्त्रण गर्न संघीय सरकारलाई उत्कृष्टस्तरको विशेषज्ञ स्वास्थ्य सेवा, प्रान्तीय सरकारलाई मध्यम तथा प्राथमिक स्तरको स्वास्थ्य सेवा र स्थानीय तहलाई सामुदायिक स्तरको स्वास्थ्य सेवा दिन व्यवस्था मिलाउन र प्रदेशहरूमा पेन कार्यक्रम लागू गर्न भनेको छ । सरकारले स्वास्थ्य उपचारमा गरिरहेको अनावश्यक खर्च घटाउन देशभर बीमाको कार्यक्रम लागू गर्न पनि कमिसनले सुझएको छ । एनएनपीसीले सुर्तीजन्य पदार्थको बिक्रीमा थप १० देखि ८० प्रतिशतसम्म कर बढाउन प्रस्ताव गरेको छ । एनएनपीसीले सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर बढाए एक लाख ५८ हजार ६४२ जनाले धूम्रपान गर्न छाड्ने र १५ लाख ८४ हजार ६२४ वर्ष बाँच्ने हिसाब पनि देखाएको छ ।

साथमा कमल रिमाल, विराटनगर र लक्ष्मी गौतम पाँचथर ।

प्रतिकृया दिनुहोस