खेलमय प्रदेश ५ राजधानी
भर्खरै तिलोत्तामा गोल्डकप नकआउट फूटबल प्रतियोगिता सकेको प्रदेश–५ को राजधानी बुटवलको माहोल सर्वाधिक पुरस्कार राशी भएको मदन भण्डारी गोल्डकपले तताएको छ।
-दीपक ज्ञवाली, बुटवलबाट
हरेक वर्ष तिलोत्तमा गोल्डकप, दुई–दुई वर्षमा मदन भण्डारी गोल्डकप जस्ता राष्ट्रिय र नियमित रुपमा हुने क्षेत्रीय तथा स्थानीय प्रतियोगिताले बुटवलमा फूटबल माहोल बढाएको छ ।
स्थानीय स्तरबाट साधनस्रोत जुटाएर भइरहेका यी प्रतियोगिताहरूसँगै खेलाडी उत्पादनमा पनि योगदान गरिरहेको छ बुटवलले । विमल घर्ती मगरसहित सात जना त राष्ट्रिय टीममै छन् । युवा खेलाडीका लागि बुटवलमा आवासीय सुविधासहित एन्फा र निजी क्षेत्रबाट पनि फूटबल एकेडेमी सञ्चालनमा छ ।
रुपन्देहीमा दर्ता भएका र नभएका गरी दर्जनौं खेलकुद सम्बन्धित क्लब छन् । तीमध्ये अधिकांश क्लब फूटबलमा क्रियाशील छन् । उनीहरूले वडादेखि नगर, जिल्ला, क्षेत्र र राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्छन् ।
२४–२९ फागुनमा आयोजित २०औं तिलोत्तमा गोल्डकप यसैको निरन्तरता थियो । यस पटकको तिलोत्तमा गोल्डकपमा ६ वटा राष्ट्रियसहित १० टीम सहभागी थिए । प्रतियोगितामा रुस्लान थ्री स्टारले नेपाल पुलिसलाई २–० ले हराएर रु.७ लाख ७७ हजार ७७७ सहित गोल्डकप जित्यो ।
तिलोत्तमा गोल्डकपमा रुस्लान थ्री स्टारको यो पहिलो सफलता थियो । उपविजेता नेपाल पुलिसले नगद रु.४ लाख ४४ हजार ४४४ पायो । पुलिसले यसअघि तेस्रो, नवौं, दशौं र तेह्रौं गरी चार वटा तिलोत्तमा गोल्डकप जितेको थियो ।
तिलोत्तमालगत्तै बुटवलमा अर्को प्रतिष्ठित प्रतियोगिता मदन भण्डारी गोल्डकप नकआउट फूटबल जारी छ । १८ चैतसम्म सञ्चालन हुने यो प्रतियोगिताको विजयी टीमले रु.१५ लाख राशीसहित गोल्डकप पाउनेछ । उपविजेताले नै नगद रु.७ लाख ५० हजार पाउनेछ ।
नयाँ अभ्यासका रुपमा खेल अवधिभर प्रत्येक खेलाडीको रु.३ लाख बराबरको बीमा गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रु.५५ हजार नगद प्राप्त गर्ने छन् । अन्य चार विधाका उत्कृष्ट खेलाडीले रु.२०–२० हजार नगद पुरस्कार पाउने छन् । प्रत्येक दिनको छनोटमा उत्कृष्ट हुने खेलाडीले रु.१५ हजार प्राप्त गर्नेछन् ।
आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यका अनुसार, प्रतियोगितामा मलेशियाको हिमालयन एफसीसहित १० टीम सहभागी यो प्रतियोगिताको कुल बजेट रु.१ करोड १४ लाख छ । आगामी वर्ष पुरस्कार राशी अझ बढाइने आचार्यले बताए ।
खेलमैदानमा ध्यान कम
क्रिकेटका लागि पनि उर्वर जिल्ला हो, रुपन्देही । यो जिल्लाले दुवै खेलमा देशलाई राम्रा खेलाडीहरू दिएको छ । यद्यपि, पुरस्कार राशीमा वृद्धि र खेलाडी उत्पादन जति राम्रो छ, खेलमैदान व्यवस्थापन त्यत्ति नै भद्रगोल ।
खेल गतिविधि नियमित भए पनि अस्थायी मैदान र संरचनामै काम चलाइएको छ । ठूला प्रतियोगिताका लागि प्यारापिट पनि अस्थायी नै निर्माण हुने गरेका छन् ।
फिफा गोल प्रोजेक्टअन्तर्गत खेलाडी उत्पादन, अध्ययन, प्रशिक्षण र प्रतियोगिताहरू गर्न करीब रु.२ करोड लगानीमा देवीनगरमा फिफा टेक्निकल सेन्टर स्थापना गरिएको छ ।
तीन बिघा जग्गामा निर्मित यो रंगशालाको दर्शक क्षमता करीब चार हजार छ । तर, प्यारापिटविहीन मैदान विल्कुलै अव्यवस्थित छ । वार्षिक रुपमा झरना गोल्डकप आयोजना गर्ने कुञ्जलापुरको झरना स्पोर्टस् क्लबले उमा निम्नमाध्यमिक विद्यालयको मैदानबाट काम चलाइरहेको छ ।
सालघारीस्थित भूपू सैनिक खेलमैदानलाई व्यवस्थित गर्न बुटवल उपमहानगरपालिकाले रु.५० लाख लगानी गरेको छ भने रामनगरको मानवज्ञान माविको खेलमैदानमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले चासो दिएको छ । यसले गर्दा यी दुई ठाउँका खेलमैदान भने निकट भविष्यमा व्यवस्थित हुने आशा पलाएको छ ।
उता भैरहवामा रहेको क्रिकेट रंगशालाको अवस्था पनि उस्तै छ । क्रिकेट खेल विकासका लागि २०३७ सालमै खोलिएको रंगशाला साढे ६ बिघा क्षेत्रफलमा फैलिएको छ ।
२५ हजार दर्शक क्षमताको यो रंगशालालाई दुरुस्त बनाउनेमा ध्यान नदिंदा लथालिङ्ग अवस्था छ । अभ्यास र प्रतियोगिता आयोजनामा निकै समस्या भएपछि पाँच वर्ष यता मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने काम भैरहेको छ, तर अति सुस्त चालमा ।