ब्लगशनिवार, चैत्र १०, २०७४

जब्बर बन्दैछ क्षयरोग

डा. सुमनराज ताम्राकार

साँझपख मन्द ज्वरो आउने, खानामा अरुचि र त्यसै दुब्लाउँदै जाने भयो भने क्षयरोगको परीक्षण गराइहाल्नु बुद्धिमानी हुन्छ।

जोन किट्स, पी वी शेली, एड्गर एलेन पो, समरसेट मम्लगायत अंग्रेजीका विख्यात साहित्यकारहरूको मृत्यु क्षयरोग अर्थात् टीबी (ट्युबरकुलोसिस) बाट भएको थियो ।

यो कारणले गर्दा एक समय क्षयरोगलाई ‘रोमान्टिक डिजिज्’ पनि भनिन्थ्यो । तर त्यो अरू रोगहरू जस्तै ‘ट्रजिक डिजिज्’ भएको धेरै भइसक्यो ।

अहिले विश्वमा करीब एक करोड मानिसलाई क्षयरोगको संक्रमण हुने र तीमध्ये १८ लाखको मृत्यु भइरहेको मानिन्छ ।

मृत्यु हुनेमध्ये करीब ९५ प्रतिशत विकासोन्मुख देशका हुन्छन् । त्यसमध्ये पनि ५० प्रतिशत नेपालकै छिमेकी भारत, चीन र पकिस्तानका हुन्छन् । नेपालमा हाल करीब ७५ हजार क्षयरोगी छन् भने वार्षिक मृत्यु हुने संख्या ६ हजार भन्दा बढी छ ।

माइकोब्याक्टेरियम ट्युबरकुलोसिस (टीबी) नामक कीटाणुको कारणले लाग्ने एक प्रकारको संक्रामक रोग हो– क्षयरोग । नेपालमा सबभन्दा बढी (९० प्रतिशत) लाई फोक्सोको क्षयरोग हुने गरेको छ । बाँकीलाई घाँटीको ग्लेन्ड, पेट, मस्तिष्कको झिल्ली, ढाडको हड्डी, गर्भाशय, शुक्रवाहिनी नली र मुटुको  झिल्लीमा लाग्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वका हरेक तेस्रो व्यक्तिमा क्षयरोग उत्पन्न गराउने जीवाणु हुन सक्छ । रोग प्रतिरोधात्मक शक्ति कम हुने वित्तिकै क्षयरोगका लक्षणहरू देखा पर्न थाल्छन् ।

शरणार्थी, सीमान्तकृत जातजाति, बाल तथा वृद्ध उमेर समूह, गर्भवती, धूम्रपान तथा मद्यपान गर्ने व्यक्ति, मधुमेहका रोगी आदि उच्च जोखिममा हुन्छन् । कुपोषण, निम्न जीवनस्तर, अत्यधिक घुइँचो वातावरण, अशिक्षा आदिलाई क्षयरोग बढाउने सामाजिक तत्व मानिन्छ ।

यो रोगबाट संक्रमित व्यक्तिले खुल्ला रूपमा खोक्दा, हाच्छिउँ गर्दा र थुक्दा नजिकैका मानिसहरूमा कीटाणु फैलन्छ । कीटाणुको संक्रमण र क्षयरोग भएका करीब २५ प्रतिशतमा साँझ्पख मन्द ज्वरो आउने, खानामा अरुचि र त्यसै दुब्लाउँदै जानेलगायतका लक्षण देखिन सक्छन् ।

फोक्सोमा क्षयरोग हुँदा लामो समय खोकी लाग्ने, खकारमा रगत देखा पर्ने, छाती दुख्ने हुन्छ । घाँटीको ग्लेन्डमा क्षयरोग लाग्दा गिर्खाहरू सुन्निन्छन्, एकआपसमा टाँसिन्छन् तर पीडा हुँदैन । संक्रमण लम्बिंदै गएपछि गिर्खा फुटेर पीप बग्न सक्छ ।

मस्तिष्कको झिल्लीमा क्षयरोग लाग्दा टाउको दुख्ने, गर्दन कडा हुने, बच्चा ज्वरोले निस्लोट हुने स्थिति हुन्छ । बालबालिकामा बढी पेटको क्षयरोग पाइएको छ ।

पेटको क्षयरोग लाग्दा पेट दुख्ने, दिसा एकनासको नहुने, पानी जमेर पेट फुल्ने, पेटमा पीठो मुछिएको जस्तो डल्लो भेटिने हुन्छ । हड्डी र पाठेघरमा क्षयरोग लाग्दा अन्य लक्षण चिह्नहरूका साथै हड्डी पिट्–पिट् भाँचिने र निःसन्तान हुने समस्या हुन सक्छ ।

क्षयरोगबाट बचाउन बच्चा जन्मेको एक वर्षभित्र दायाँ पाखुरामा एक पटक बीसीजी खोप दिनुपर्छ । खोप लगाएको दिन हल्का ज्वरो आउने एवं सानो रातो फोका आउने हुनसक्छ । त्यहाँ माड्नु वा कुनै औषधि हाल्नुहुँदैन ।

फोक्सोको क्षयरोग खकार, रगत, छालाको जाँच र छातीको एक्सरेबाट पत्ता लाग्छ । फोक्सो बाहिर लागेको क्षयरोग पत्ता लगाउन ढाड, पेटबाट पानी निकालेर वा ग्लेन्ड एवं हड्डीबाट सियोले थोरै मासु निकालेर जाँच्नुपर्छ भने पाठेघरको क्षयरोगको निदान गर्न क्युरेट गरेर मासु जाँच गर्नुपर्ने हुन्छ, अल्ट्रासाउन्ड र सिटी स्क्यानको जरुरत विरलै पर्छ ।

क्षयरोग निदानका लागि डट्स (डाइरेक्टली अब्जभ्र्ड ट्रिटमेन्ट सर्टकोर्स) कार्यक्रमअन्तर्गत न्यूनतम ६ महीना बहुऔषधि सेवन गर्नुपर्छ । डट्सको बहुऔषधि सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क पाइन्छ ।

एचआईभी/एड्स संक्रमित व्यक्तिमा टीबी जीवाणुको संक्रमण भयो भने क्षयरोग हुने खतरा ६ गुणा बढ्छ । पछिल्लो समय ‘मल्टी ड्रग रेसिस्टेन्ट’ भनिने क्षयरोगीको संख्यामा पनि बढोत्तरी भएको छ । क्षयरोगीले नियमित औषधिको सेवन नगरे ‘मल्टी ड्रग रेसिस्टेन्ट’ को अवस्था हुन्छ ।

त्यस्ता रोगीको उपचारमा दिइने औषधिहरू जटिलतायुक्त र महँगो भइकन पनि प्रभावकारी नहुन सक्छ । उपचारको अवधि पनि दुई वर्षभन्दा माथि जान सक्छ ।

डा. रबर्ट कोकले सन् १८८२ मा क्षयरोगको कारक जीवाणु पत्ता लगाएको दिनको स्मरणमा हरेक वर्षको मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने चलन छ । यस वर्ष ‘क्षयरोगमुक्त विश्वको लागि अगुवाहरूको आवश्यकता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।

यही १० चैतमा परेको यो दिवसमा नवनिर्वाचित सरकार प्रमुख, सांसद्, मेयर, गाउँपालिका अध्यक्षलगायत सामाजिक अगुवाहरूले देशलाई सबै किसिमका क्षयरोगबाट मुक्त पार्ने प्रण गरे कम्तीमा पनि जनचेतना विस्तार हुनेछ ।

प्रतिकृया दिनुहोस