टिप्पणीशनिवार, चैत्र १०, २०७४

टुँडिखेलको भीडमा बुद्ध

वसन्त महर्जन

गौतम बुद्ध नेपालमा जन्मेको कुराको फरक ढंगले रेकर्ड राख्न गएको १९ माघमा टुडिखेलमा भएको कार्यक्रम द्वेषभावबाट प्रेरित देखिन्छ।

गौतम बुद्ध लुम्बिनीमा जन्मेको तथ्य ‘गिनिज बूक अफ वल्र्ड रेकर्ड’ मा दर्ता गर्न काठमाडौंको टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तित्वहरू समेतको सहभागितामा ७५ हजारभन्दा बढीले सामूहिक ‘धम्मपद’ वाचन गरे ।

त्यो अनौठो कार्यक्रमको आयोजक ‘विश्वकीर्तिमान परिषद्’ थियो । परिषद्ले शुरूमा ‘बुद्ध वाज बर्न इन नेपाल’ शीर्षकमा कार्यक्रम गरेर भारतमा होइन भन्ने प्रमाणित गर्ने प्रचार गरेको थियो । तर, पछि बौद्ध ग्रन्थ ‘धम्मपद’ वाचन गरेर रेकर्ड राख्दा त्यसबाट बुद्ध नेपालमा जन्मेको स्वतः प्रचारमा आउने भनी सच्याएको देखियो । 

यस्ता कार्यक्रमको औचित्यका सम्बन्धमा भएका चर्चाहरूसँगै बौद्ध भिक्षु एवं भिक्षुणीहरूको उपस्थितिलाई लिएर प्रश्नहरू उठाउन सकिन्छ ।

बौद्ध भिक्षु तथा भिक्षुणीहरू संघको प्रतीक मानिन्छन् । संघ आफैं त्रिरत्न (बुद्ध, धर्म र संघ) मध्ये एक रत्न भएको, शील–सदाचारले सम्पन्न र धार्मिक अभ्यासी हुने मान्यताअनुसार बौद्ध समाजमा भिक्षु–भिक्षुणीलाई उच्च सम्मान प्राप्त छ ।

त्यो कार्यक्रममा ‘धम्मपद’ वाचन भएर धर्म प्रचारमा सघाउ पुग्ने भनी अखिल नेपाल भिक्षु महासंघले पनि संस्थागत सहभागिता जनाएको बुझिन्छ ।

‘भारतले यस्तै भीड जम्मा पारेर बुद्ध आफ्नो देशमा जन्मेको भनी विश्व रेकर्ड राखेको हुनाले त्यो रेकर्ड तोडेर सही तथ्य प्रमाणित गर्न अब नेपालीहरू टुँडिखेल जम्मा हुन जानुपर्छ’ भन्ने खालका हल्ला चलाएर मानिस जम्मा गरेको देखियो ।

सामाजिक संजालमा कतिपयले भोलिका दिनमा अन्यत्र कसैले अझ् ठूलो भीड जम्मा पारेर ७५ हजारको यो रेकर्ड तोडिदियो भने के हुन्छ नि ? भनी आपत्ति जनाएको पनि पाइयो ।

बेकारको बखेडा
केही वर्ष अघिदेखि ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने नारा चर्चित छ । भारतीय पक्षले बुद्ध भारतमा जन्मेको भन्यो भन्ने कथन विरुद्ध सिर्जित यो नाराको औचित्यहीनताका सम्बन्धमा स्वयं नेपाली पक्षले नै पनि बेलाबेलामा बोल्ने गरेको पाइन्छ ।

ई.पू. ५६३ मा गौतम बुद्धको जन्म लुम्बिनीमा भएको र लुम्बिनी वर्तमान नेपालको पश्चिम तराईमा अवस्थित रहेको कुरा पुरातात्विक दृष्टिले पनि प्रमाणित भइसकेको तथा यस विरुद्ध कसैको केही दाबीविरोध पनि नभएको अवस्थामा फेरि यस्ता नाराहरू उठाइराख्नु अनावश्यक हो भन्ने आशयहरू पनि पाइन्छ ।

बुद्धको जन्मस्थल नेपाली भूमिभित्र पर्ने कुरामा कसैको केही आपत्ति नरहँदा नरहँदै पनि ‘तिम्रो ठाउँमा होइन, हाम्रो ठाउँमा हो’ भनी कराइरहँदा द्वेष भाव देखिन्छ । यही द्वेषभावबाट प्रेरित टुँडिखेलको कार्यक्रमको बुद्ध र बौद्ध धर्मसँग कुनै सम्बन्ध छैन ।

बौद्ध वाङ्मय ‘त्रिपिटक’ अन्तर्गतको ‘धम्मपद’ का जानकार तथा यसलाई श्रद्धा गर्नेहरू विशाल जनसमुदायले सामूहिक वाचन भनेपछि उत्साहित हुनु स्वाभाविक हो ।

आफूले यस्तो कार्यक्रम आयोजना गर्न नसके पनि गर्नेहरूलाई सघाउनुपर्छ भनेर टुँडिखेलमा उपस्थित हुन गएकाहरू पनि पाइयो । तर कार्यक्रमको उद्देश्य धम्मपद वाचनभन्दा बढी भीड जम्मा पारेर रेकर्ड बनाउनु थियो ।

यत्तिको भीड सजिलैसँग जम्मा नहुने भएकाले बुद्धको जन्मस्थलको विषयवस्तु उठाएको बुझेपछि कतिपय सहभागी निराश भएर फर्किए ।

कार्यक्रममा शृंगारिक गीतहरू गाउने र नाच्ने काम भयो, जुन बुद्ध र धम्मपदको भावनाभन्दा निकै पर थियो । त्यस्तो वातावरणमा बौद्ध भिक्षुहरूको उपस्थिति सुहाउँदो भएन ।

कल्पना गरौं, गौतम बुद्ध जीवित नै भएको र विश्व कीर्तिमान राख्न टुँडिखेलमा जम्मा भएको भीड देखेको भए कस्तो प्रतिक्रिया दिन्थे होलान् ?

यस प्रश्नको जवाफमा स्तूप वा चैत्य दर्शनको प्रसङ्गलाई जोड्न सकिन्छ । बौद्ध समाजमा अत्यन्त श्रद्धाका साथ लिइने चैत्य वा स्तूपको प्रदक्षिणा तथा पूजा गरेर मात्र केही लाभ नहुने बरु धर्मको अभ्यास गर्नुपर्ने भनी स्वयं बुद्धले भनेका छन् ।

बुद्ध र बुद्धका उपदेशहरूका सन्दर्भमा कुनै चासो नराख्ने, जन्मस्थल लुम्बिनीको विकास र प्रचारप्रसारमा सिन्को नभाँच्ने तर टुँडिखेलमा जम्मा हुनेहरूका लागि बुद्ध उपदेशको यो प्रसंग सान्दर्भिक छ ।

अनेकौं प्रश्न लिएर आउने आगन्तुकहरूलाई जवाफ दिएर नथाक्ने बुद्ध केही प्रश्नका सन्दर्भमा भने मौन बन्थे । संसारको सृष्टि कसरी भयो, यो कसरी अन्त्य हुन्छ, भन्ने प्रश्न जीवन र समस्यासँग सम्बन्धित होइन ।

ईश्वर छ वा छैन भन्ने प्रश्नको जवाफ जस्तोसुकै भए पनि त्यसले पनि जीवन र समस्यासँग कुनै सरोकार नराख्ने मान्छन्, बुद्ध ।

यस्ता प्रश्नहरूका सवालमा बुद्ध मौन बसिदिन्थे वा अर्कै उपदेश दिएर सन्तुष्ट पार्थे । अनावश्यक वादविवाद वा क्रियाकलापमा संलग्न हुनबाट भिक्षु भिक्षुणीहरूलाई एक प्रकारले प्रतिबन्ध नै लगाएको पाइन्छ ।

बुद्धका उपदेशहरू उपलब्ध भएसम्म बुद्ध शासन रहने र धर्मकार्यको रूपमा बुद्ध जीवित नै रहेको बौद्ध मान्यता छ । सामूहिक धम्मपद वाचनबाट धर्म प्रचार हुने तर्कमा बल छैन, किनभने टुँडिखेलको सो कार्यक्रमको मुख्य उद्देश्य निश्चित संख्यामा भीड जम्मा पार्नु मात्र थियो ।

यस्तो कार्यक्रम अरू नै विषयवस्तुको वाचन गरेर पनि सम्पन्न गर्न सकिन्थ्यो, तर बुद्ध र धम्मपदलाई प्रयोग गरेर हलुका पार्ने काम भयो ।

बुद्धको नाम र बौद्ध ग्रन्थलाई प्रयोग मात्रै गरेको यस्तो कार्यक्रममा बौद्ध भिक्षुहरूको उपस्थितिले उनीहरूको गरिमालाई पनि हलुका बनाइदिएको छ । यो पनि चिन्ताको विषय हो ।

प्रतिकृया दिनुहोस