‘प्राकृतिक विपत्बाट बच्न पूर्व सूचना उपयोगी’
प्राकृतिक विपत्को जोखिम न्यूनीकरणमा मौसम सम्बन्धी सूचना उपयोगी हुने विज्ञहरुले बताएका छन् ।
नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७४ को समापन समारोहमा बोल्ने वक्ताहरुले जलवायु परिवर्तनले प्राकृतिक विपत्ति निम्त्याएको भन्दै सूचनाको प्रयोगलाई व्यापक बनाउन जोड दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताले जलवायु सम्बन्धी सूचनाको पहुँच र प्रयोगले क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले विगतका घटनाबाट पाठ सिकेर सूचनाको प्रयोग बढाउन जोड दिए ।
बाढी, चट्याङ्जस्ता प्राकृतिक प्रकोपबाट बच्नका लागि पूर्व सूचना दिने प्रविधि अपनाइएको र सूचनालाई पालना गर्दा क्षति कम हुने उनको भनाइ थियो ।
शर्माका अनुसार मुलुकभर २० ठाउँमा बाढी, ९ ठाउँमा चट्याङ् र एक सय ठाउँमा मौसमको पूर्व सूचना दिने यन्त्र राखिएको छ ।
यन्त्रबाट प्राप्त जानकारीका आधारमा गृह मन्त्रालयले जनतालाई सम्भावित खतराबाट बच्न सूचना दिने गरेको छ ।
समापन समारोहमा ऊर्जा, जल तथा सिंचाइ मन्त्री वर्षमान पुनले जलवायु परिवर्तनका कारण पानीका मुहानहरु सुकेर संकट देखिन थालेको बताएका थिए ।
मन्त्री पुनले जल तथा ऊर्जा समृद्धिको आधार भएको बताउँदै ऊर्जाको विकासमा वर्तमान सरकारले ध्यान केन्द्रित गर्ने धारणा पनि राखे ।