सुनौली नाकाबाट भित्रिन्छन, आन्तरिक राजश्व विभागका नक्कली स्टीकर
आन्तरिक राजश्व विभागका नक्कली स्टीकर भारतमा छापेर नेपाल भित्राइने गरेको खुलेको छ ।
प्रहरीले ६ चैतमा रुपन्देहीको रोहिणीबाट नक्कली स्टीकर सहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुले आन्तरिक राजश्व विभागले मदीराका बोत्तलमा लगाउने स्टीकर जस्तै नक्कली स्टिकर भारतमा छापेर नेपाल ल्याउने गरेकोे प्रहरीले जनाएको छ ।
भारत नौतनवाका मेल्मुगद्दी मुसलमान, सिद्धार्थनगरपालिका–१ का विनोद सिंह, भारतको सुनौलीका समुद्धिन मुसलमान, धनुषामा रहेको सांग्रिला डिष्टिलरीका व्यवस्थापक भवानी प्रसाद उप्रेती, र उक्त कम्पनीमै कार्यरत कामेश्वर महतोलाई प्रहरीले नक्कली स्टिकरसहित पक्राउ गरेको हो ।
यी मध्ये मुसलमानद्वय र सिंहलाई रुपन्देहीको रोहीणी गाउँपालिका र उनीहरुको सूचनाका आधारमा उप्रेती र महतोलाई धनुषाबाटै पक्राउ गरिएको थियो ।
यूपी ४३ एइ १६८२ नम्वरको टाटा इन्डिगो कारको डिक्कीबाट ३ लाख ९९ हजार ८४० थान स्टीकर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।
मुकेश पोखरेल