सुर्खेत कारागारः क्षमता ५०, कैदी १९०
लक्ष्मी भण्डारी, सुर्खेत
भवन अभावमा सुर्खेत कारागारका कैदी बन्दीहरू पालमुनि सुतिरहेका छन् । ५० जना क्षमताको कारागारमा १९० जना बस्नु परेपछि यस्तो अवस्था आएको हो । चार पर्खालभित्रको खुला ठाउँमा पाल टाँगेर सुताउनुपर्ने बाध्यता रहेको कारागार शाखा सुर्खेतले जनाएको छ ।
२०३३ सालमा बनेको कारागारमा अहिले एक बालिका, १८ महिलासहित १९० जना कैदी बन्दी छन् । जिल्ला कारागार शाखा सुर्खेतका सूचना अधिकारी टेकनारायण अधिकारी भन्छन्, “कोठाभित्र सुत्ने ठाउँ नहुँदा पाल टाँगेर खुला ठाउँमा कैदी बन्दीलाई सुताउने गरेका छौं ।” उनका अनुसार अहिले १४ जनासम्म कैदीहरू पाल टाँगेरै सुत्ने गरेका छन् ।
कारागारमा महिला कैदीका लागि दुइटा र पुरुषका लागि सातवटा कोठा छन् । क्षमता भन्दा धेरै कैदी बन्दी हुँदा सुत्ने ठाउँ मात्रै होइन, शौचालय, पानीलगायतको पनि समस्या हुने गरेको बताए । पुरुष कारागारमा तीन वटा शौचालय छन् । १७२ जनाका लागि तीन शौचालय थोरै हो । सूचना अधिकारी टेकनारायण अधिकारी शौचालय बनाइदिन कारागार प्रशासनसँग बारम्बार अनुरोध गरे पनि सुनुवाइ नभएको बताउँछन् ।
कारागारका नाइके शम्भु रोकाय भने बाह्रै महीना पाल टाँगेर सुत्ने गरेको बताउँछन् । भन्छन्, “बाहिर सुत्ने धेरैजसो साथीहरूमा कुनै न कुनै स्वास्थ्य समस्या देखिने गरेको छ ।”
क्षमता भन्दा बढी कैदी बन्दी राखिनुका साथै आधारभूत सेवा सुविधाको अभावका कारण विभिन्न समयमा कारागारमा घटना पनि घट्ने गरेको पाइएको छ । आठ वर्षयता बिरामीका कारण दुईजना कैदी बन्दीको मृत्यु भएको छ भने एक जना बन्दीले जेल ब्रेक गरेका थिए । २०६८ सालमा जेल ब्रेक गरेर भागेका बिन्दमान विष्ट अहिले प्रदेश सभाका सांसद् छन् ।
पछिल्लो समय कारागारको सुरक्षाको अवस्थालाई कडा बनाइएको सूचना अधिकारी टेकनारायण अधिकारीको भनाइ छ ।
कारागार भवन बन्न लागेको आठ वर्ष पूरा भयो । २०६६ सालमा काठमाडौंको जेबी कन्स्ट्रक्सन कम्पनीले सोही वर्षको चैतसम्म भवन निर्माणको काम सक्ने गरी ठेक्का लिएको थियो । ६ महीना काम गरेर कम्पनी भागेपछि भवन अधुरै रह्यो । भवन निर्माण सम्पन्न गर्न डिभिजन सडक कार्यालयले पनि पटक–पटक ताकेता नगरेको होइन । कम्पनी सम्पर्कमै आउँदैन । भवन अभावमा कैदी बन्दीलाई सुत्ने स्थानको मात्रै होइन शौचालयको पनि उस्तै समस्या छ ।
पाँच महीनाअघि कारागारको निरीक्षण गरेर फर्केको राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जले सुर्खेत कारागारका कैदी÷बन्दीले कष्टकर जीवन विताइरहेको पाइएको बताएको थियो । क्षमता भन्दा बढी कैदी बन्दी हुनुका साथै उनीहरूको न्यूनतम मानवअधिकारको पनि राज्यले सम्मान नगरेको आयोगको निष्कर्ष छ । “क्षमताभन्दा बढी कैदी बन्दी राखिएका छन्, यिनीहरूका लागि जम्मा तीन वटा मात्रै शौचालयको व्यवस्था छ” आयोगको क्षेत्रीय कार्यालयका टंक खनाल भन्छन्, “कारागारभित्रको अवस्था सुधार्न सम्बन्धित निकायलाई निर्देशन दिएका छौं ।”