कांग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन आजबाट
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट नुवाकोटको विदुरमा शुरु हुँदैछ ।
कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक गोविन्द पुडासैनीका अनुसार सम्मेलनमा सहभागी हुने सबैजसो जिल्लाका कोषाध्यक्ष आइपुगेका छन् ।
“पछिल्ला निर्वाचनको परिणामले कमजोर भएको पार्टीलाई यो सम्मेलनले थप सुदृढ र बलियो बनाउन सहयोग पुग्नेछ,” संयोजक पुडासैनीले भने, “पार्टीको केन्द्रीय पदाधिकारीसहित शीर्ष सबै नेता एकै मञ्चमा सहभागी हुने भएकाले गुटगत प्रवृत्तिको समेत अन्त्य गराउन सम्मेलन सार्थक हुने विश्वास छ ।”
गिरिजाप्रसाद कोइरालाको आठौँ पुण्यतिथिको अवसर बनाएर आयोजना गरिएको सम्मेलन आजबाट शुरु भई भोलि बन्द सत्रसहित प्रशिक्षण र ९ गते रसुवाको स्याफ्रुबेंसीमा समीक्षा बैठकसहित पत्रकार सम्मेलन गरी सयुक्त घोषणापत्र जारी गरेर सम्पन्न हुने कांग्रेस रसुवाका कोषाध्यक्ष पदम न्यौपानेले जानकारी दिए ।
पार्टी कोषलाई बढी व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन भेला केन्द्रित हुने जनाइएको छ ।
कांग्रेसलाई अझ बढी सबल, सुदृढ र सक्षम बनाउनका लागि पनि यो सम्मेलनले सहयोग पुर्याउने कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले बताए ।
सम्मेलनले पार्टीको भावी रणनीतिसमेत तय गरिने उनले जानकारी दिए ।