रिपोर्टबुधवार, चैत्र ७, २०७४

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संकटमा : एडीबीको हात झिक्ने चेतावनी

हिमालखबर

एडीबीले हात झिक्ने चेतावनीसँगै वैकल्पिक गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य जोखिममा परेको छ ।

दीपक ज्ञवाली, बुटवलबाट

तस्वीर: दीपक ज्ञवाली

२८ फागुनमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बाङ्लाको विमान दुर्घटनापछि अपराह्न १४.१८ देखि १६.५० बजेसम्म विमानस्थल बन्द भयो ।

यो अवधिमा दर्जनौं विमान आकाशमै ‘होल्ड’ भए । कति विमानले भारतको लखनऊ र ढाकामा अवतरण गर्नुपर्‍यो ।

यदि निर्धारित समयमै निर्माण सकिंदो हो त तीमध्ये धेरै विमान भैरहवास्थित राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सजिलै अवतरण गर्न सक्थे ।

दैनिक १६ आन्तरिक र ६ वटा अन्तर्राष्ट्रिय विमानबाट पर्यटकहरू ओर्लिन्थे । विडम्बना, दुई महीनाअघि अर्थात् पुसमै सकिनुपर्ने विमानस्थलको काम अझै ६५ प्रतिशत बाँकी नै छ । तर, निर्माणकार्यमा एकपछि अर्को संकट थपिने क्रम जारी छ ।

पछिल्लो सम्झैता अनुसार निर्माण सकिन चार महीना बाँकी रहँदा मुख्य अनुदानदाता एशियाली बिकास ब्यांक (एडीबी) ले हात झिक्ने देखिएको छ ।

३ पुसमा मुख्य ठेकेदार चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एडीबीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुदान र ऋण सहयोग रोक्ने चेतावनीसहितको पत्र लेखेको छ ।

स्रोतका अनुसार, एडीबी अनुदान नवीकरण नगर्ने पक्षमा अडिग छ । तर, अन्तिम निर्णय भने ७ चैतको स्थलगत अध्ययनपछि गर्नेछ । “तर, चेतावनीसहित एडीबीले अनुदान नवीकरण गर्ने आशा छ”, विमानस्थल निर्माण आयोजना निर्देशक ओम शर्मा भन्छन् ।

रु.६ अर्ब २२ करोड लागतको विमानस्थल निर्माणका लागि एडीबीले रु.५४ करोड अनुदान र बाँकी रु.४ अर्ब २० करोड ऋण सहयोगको प्रतिबद्धता जनाएको छ । अहिलेसम्म एडीबीले रु.१ अर्ब ५० करोड दिइसकेको छ ।

पुसमै काम सक्ने सम्झैता गरेको चिनियाँ कम्पनीले मधेश आन्दोलन, भूकम्प, निर्माण सामग्री अभाव जस्ता कारण देखाएपछि ६ महीना (असार २०७५) सम्म समयावधि थप गरिएको छ । यसअघि निर्माण सञ्चालन गरेको विवादित चिनियाँ टोली गत भदौमा फेरिएपछि अहिले ३५ चिनियाँसहित २०० मजदूर विमानस्थलमा खटिएका छन् । तर पनि निर्माणको गतिप्रति एडीबी सन्तुष्ट छैन ।

तर, प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ एडीबीले अनुदान नवीकरण गर्ने बताउँछन् । “एडीबीलाई मनाउने पहल गर्छौं, नमानेमा सरकारसँग सहकार्य गरेर आफैं बनाउँछौं ।”

विमानस्थलमा अहिले धावन मार्ग, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावरलगायतका संरचना बनिरहेका छन् । थपिएको समय असारसम्ममा अन्तर्राष्ट्रिय टर्मिनल भवनको छानो बाहेकको सबै काम सकिने आयोजना प्रमुख शर्मा बताउँछन् ।

२०२१ सालमा स्थापित भैरहवा विमानस्थल शुरूमा ७९ बिघामा फैलिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलका लागि ७८७ बिघा जमीन अधिग्रहण गरिएको छ ।

सुध्रिएन चाला
निर्माणमा ढिलासुस्ती र लापर्वाही गरिएपछि २० भदौमा भैरहवामा भएको सार्वजनिक लेखा समितिको संसदीय बैठकले समयमै काम सक्न निर्देशन दिएको थियो । तर, कामको गति भने उस्तै छ ।

“गति नसुधारिएसम्म जति म्याद थपे पनि प्रगति हुने छाँट देखिन्न” सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा भन्छन्, “एडीबी फिर्ता भयो भने त झनै बर्बाद हुनेछ ।”

चिनियाँ ठेकेदार र स्थानीय ठेकेदारबीचको तनावका कारण शुरूदेखि आयोजना प्रभावित हुँदै आएको छ । प्रारम्भमा चिनियाँ कम्पनीका तर्फबाट प्रबन्धकका रूपमा खटिएका विवादित झु जुनका स्थानमा सु बैन आएका छन् । अहिले उनैको नेतृत्वमा निर्माण कार्य भइरहेको छ । तर एडीबी विश्वस्त हुन सकेन् ।

ग्लोबल टेण्डरमार्फत नै चिनियाँ कम्पनीले ठेक्का पाएलगत्तै स्थानीयस्तरमा चलखेल शुरू भएको थियो । चिनियाँ कम्पनीसँग शुरूको नौ महीना हिमालयन इन्फ्राटेक प्रालिले स्थानीय ठेकेदारका रूपमा काम गरेको थियो । नौ महीनापछि नर्थवेस्ट इन्फा चिनियाँ कम्पनीसँग प्रत्यक्ष जोडियो ।

यो पूर्व प्रधानमन्त्री झ्लनाथ खनालका छोरा निर्भय चित्रकार र एमाले युवा संघका उपाध्यक्ष राजु गुरुङको कम्पनी हो । १ चैतदेखि चिनियाँ कम्पनीले नर्थवेष्ट पनि अलग गर्‍यो र अहिले स्थानीय ठेकेदारका रूपमा अञ्चित बिष्टको बेष्ट प्रोजेक्टलगायतका साना कम्पनीहरूले प्रत्यक्ष—अप्रत्यक्ष काम गरिरहेका छन् ।

नर्थ वेष्ट इन्फा अध्यक्ष राजु गुरुङ आयोजनाबाट आफ्नो कम्पनीले मात्रै रु.६२ करोड लिन बाँकी रहेको बताउँछन् । चिनियाँ ठेकेदारले व्यापारी र सप्लायर्सहरूलाई करीब रु.३२ करोड तिर्नै बाँकी छ । “ऋण खोजेर निर्माणमा लगानी गरेका व्यवसायीहरूको भुक्तानी रोक्नुहुँदैन”, स्थानीय व्यवसायी तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृृष्ण शर्मा भन्छन् ।

निर्माणस्थलमा मुआब्जा सम्बन्धी विवाद पनि सल्टिएको छैन । २२०० जनामध्ये १४०० जनाले अझै मुआब्जा पाएका छैनन् ।
दीपक ज्ञवाली

प्रतिकृया दिनुहोस