दाँत रोगका कारण बालबालिका विद्यालय जान पाएनन्
नेपाली बालबालिकाहरु दाँत रोगका कारण विद्यालयमा अनुपस्थित हुने गरेको एक अनुसन्धानमा देखिएको छ ।
युनिभर्सिटी अफ फिनल्याण्डको सहयोगमा काठमाडौं विश्वविद्यालय (केयू) ले गरिरहेको अनुसन्धानले दाँत किराले खाने समस्याका कारण बालबालिकाहरु विद्यालय जान नपाएको देखाएको छ ।
मुलुकका १८ जिल्लाका ३६ विद्यालयमा अध्ययन गर्ने १ हजार ५६६ विद्यार्थीमाथि भएको अनुसन्धानले ५ देखि ६ वर्ष उमेर समूह, १२ वर्ष उमेर समूह र १५ वर्ष उमेर समूहका तीन सय बालबालिकाहरु दाँतको दुखाईकै कारण विद्यालय जान नपाएको देखाएको हो ।
अनुसन्धान अनुसार एक वर्षमा ३० दिनसम्म दाँत रोगकै कारण विद्यार्थीहरु अनुपस्थित हुने गरेको पाइएको अनुसन्धानमा संलग्न धुलिखेल अस्पतालका डा मनोज हुमागाईँ बताउँछन् ।
नेपाल डेन्टल एसोसियनका अनुसार दाँत किराले खाएपछिको दुखाईका कारण बालबालिकामा राति ननिदाउने, विद्यालय जान नसक्ने र बालसुलभ अन्य गतिविधिमा कमी आउने हुन्छ ।
केयूले अनुसन्धानका क्रममा एक वर्षको अवधिमा दाँतको दुखाईका कारण विद्यालय जान नपाएर गयल भएका १ हजार ५६६ विद्यार्थीको तथ्याङ्क लिएको थियो ।
अनुसन्धानमा बालबालिकाको दाँत र गिजाको समस्याको बारेमा समेत अध्ययन गरिएको थियो ।
एशोसियसनका अध्यक्ष डा. सन्तोषमान राजभण्डारि बालबालिकालाई खुवाईने कृत्रिम दुधको बढ्दो प्रयोग र गुलियो खानेकुरा खाईसकेपछि सरसफाईमा ध्यान नदिने प्रवृत्तिका कारण दाँत किराले खाने समस्या देखिएको बताउँछन् ।
यसअघि सन् २००४ मा स्वास्थ्य मन्त्रालयले गरेको पाथ फाइन्डर सर्भेले मुखको सरसफाईमा ध्यान नदिदा दाँत सम्बन्धी रोग लाग्ने गरेको देखाएको थियो ।
अहिले ‘जंकफूड’ को अत्यधिक प्रयोगले बालबालिकाको दाँत बिगारेको चिकित्सकहरु बताउँछन् ।
जनशक्ति बढाउन माग
नेपाल मेडिकल काउन्सिलमा २ हजार ३०० दन्त रोगका चिकित्सक दर्ता भए पनि त्यसको ७५ प्रतिशत मात्र कार्यरत छन् ।
काठमाडौं उपत्यकाभित्र ९ हजार जनसंख्यामा एक जना दाँत रोगका चिकित्सक उपलब्ध छन् भने बाहिर ५० हजार जनसंख्यामा ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्याङ्क अनुसार प्रत्येक चार हजार जनसंख्यालाई एक जना दाँत रोगका चिकित्सक उपलब्ध हुनुपर्छ ।
काठमाडौंमा चिकित्सकको उपलब्धता डब्लूएचओको मापदण्डको नजिक भए पनि उपत्यका बाहिरका जिल्लामा पर्याप्त चिकित्सक उपलब्ध हुन नसकेको नेपाल डेन्टल एसोसिएसनका महासचिव समेत रहेका डा. हुमागाई बताउँछन् ।
स्वास्थ्य मन्त्रालयले २०७१ सालमा ल्याएको राष्ट्रिय मुख स्वास्थ्य नीतिमा उल्लेख भएको व्यवस्था अनुसार प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना दन्त चिकित्सक खटाउने विषय कार्यान्वयनमा आउन सकेको छैन ।
एसोसियसनले संघीय संरचना अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा दाँत रोगका डाक्टरको उपलब्धता बढाउन स्वास्थ्य मन्त्रालय समक्ष प्रस्ताव पेश गरेको छ ।
प्रस्तावमा प्रत्येक गाउँपालिकामा १५ वेडको अस्पताल भएमा एक जना दाँत रोगको डाक्टर पठाउनै पर्ने भनिएको छ ।
यस्तै नगरपालिकामा हुने न्यूनतम २५ वेडका अस्पतालमा दुई जना दाँत रोगका चिकित्सक खटाउन एसोसियसनले मन्त्रालयलाई सुझाव दिएको छ ।
यसैबीच एसोसियसनले आज “विश्व मुख स्वास्थ्य दिवस–२०१८” मनाउँदै छ । यस वर्ष वल्र्ड डेन्टल फेडेरेसनले “थिंक माउथ, थिंक हेल्थ” भन्ने नारा तय गरेको छ ।
रामु सापकोटा