पाइलट अभावले थन्किए निगमका चार विमान
पाइलट अभावका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका साना विमान थन्किएका छन् ।
निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् ।
विमानको नियमित उडान हुन् नसक्दा निगमलाई ठूलो आर्थिक भार थपिँदै गएको छ ।
निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले छिट्टै पाटलट नियुक्ति गरेर विमान सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । उनका अनुसार चीनबाटै पाइलट ल्याउने तयारी भएपनि सेवा सुविधाबारे कुरा मिलिनसकेकाले केही ढिला भएको छ ।
निगमसँग अहिले चिनियाँ जहाज उडाउन सक्ने पाइलट एकजना मात्रै छन् । उनी पनि विरामी रहेकोले एक सातादेखि चार चिनियाँ जहाज उड्न सकेका छैनन् ।
यसअघि पोखरा, भरतपुर र सिमरामा उडान गर्दै आएका चारवटा वाई–१२ एक सातादेखि थन्किएका छन् ।
झण्डै एक महिना अघि भित्रिएका थप दुई चिनियाँ वाई–१२ का लागि पनि पाइलट अभाव रहेको निगमको भनाइ छ ।
अहिले निगमसँग चार वाई–१२ सहित आन्तरिक उडानमा आठवटा जहाज छन् ।
निगमले काठमाडौंबाट छ र विराटनगर तथा नेपालगञ्जबाट ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।
त्यस्तै, निगमले अबको तीन महिनाभित्र थप दुई वाइड बढी विमान अन्तर्राष्ट्रिय उडानका लागि भित्र्याउने तयारी गरेको छ ।
निगमले हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ एसिबी–५७५ र दुई एयरवस ए–३२० विमानबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
सिवी अधिकारी, रासस