खेलकुदसोमवार, चैत्र ५, २०७४

एक दिवसीय मान्यतालाई जोगाउने जिम्मा

रविन गिरी

आईसीसीको एसोसिएट सदस्य बनेको २२ वर्षपछि प्राप्त ‘एक दिवसीय मान्यता’ लाई जोगाइ राख्ने जिम्मेवारी खेल पदाधिकारी र सरकार दुवैको काँधमा छ ।

तस्वीरहरुः आईसीसी

“पाँच वर्षपछि हामीले नेपाली क्रिकेट टिम र पारस खड्कालाई कहाँ देख्न सक्छौं ?”

गत ९ भदौमा एक शुभचिन्तकले ट्वीटरमा सोधेको यस्तो प्रश्नमा कप्तान पारसले भोलिपल्टै जवाफ दिए, “अर्को पाँच वर्षमा नेपालले एकदिवसीय मान्यता पाउनेछ र म क्रिकेटमै रमाउन चाहन्छु ।”

संयोग ! त्यसको सात महीना नबित्दै १ चैत २०७४ मा नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाएको छ । नेपालमा क्रिकेट भित्रिएको सय वर्षपछि प्राप्त यो अहिलेसम्मकै ठूलो उपलब्धि भए पनि नेपाली क्रिकेट टिमका सर्वाधिक सफल कप्तानले समेत यति छिटो कल्पना नगरेको उपलब्धि चाहिं कसरी हासिल भयो ?

यसका पछाडि हार नमान्ने खेलाडीको स्वभावसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो परिवर्तित संरचनाको पनि भूमिका छ ।

फागुन पहिलो साता नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताको क्यानाडा र नेपालबीचको निर्णायक खेलको ‘चमत्कार’कै कारण नेपालले विश्वकप छनोटमा प्रवेश पाएको थियो । १०औं नम्बरमा ब्याटिङमा आएका करण केसीको ३१ बलमा नटआउट ४२ रनको योगदानले नेपाललाई असम्भवप्रायः जित दिलाएको थियो ।

डिभिजन–२ को उपविजेता बन्दै जिम्बाबेमा भएको विश्वकप छनोट प्रतियोगितामा पुगेको नेपाल ‘सुपरसिक्स’ को प्रतिस्पर्धाबाट भने बाहिरियो । तर, प्लेअफमा पपुआन्युगिनीलाई पराजित गरेको नेपाल नेदरल्याण्ड्सले हङकङलाई हराएपछि एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गर्न सफल भयो । नेपाल यस्तो मान्यता पाउने विश्वको १६औं अर्थात् कान्छो राष्ट्र हो ।

सन् २०२२ मा हुने अर्को विश्वकप छनोट अवधिसम्म यो मान्यता पाएको नेपालले अब एकदिवसीयसहित अन्तर्राष्ट्रिय टी–२०, विश्व क्रिकेट लिग र इन्टर कन्टिनेन्टल कप पनि खेल्ने निश्चित छ ।

“यो त हाम्रो सपना थियो”, झण्डै पाँच दशकदेखि नेपाली क्रिकेटमा सक्रिय नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डे भन्छन्, “खुशी व्यक्त गर्ने शब्द नै छैन ।”

सय वर्षको यात्रा
नेपालमा सन् १९२० को दशकदेखि क्रिकेट खेल्न शुरु गरिएको थियो । बेलायत र भारतमा पढेर आएका राणा परिवारका सदस्यले यो खेललाई दरबारमा भित्र्याएका थिए, जसमा राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा मदनशमशेरको नाम अग्रपंक्तिमा आउँछ । दरबारभित्रै क्रिकेट मैदान बनाएर टिम नै खडा गरेका मदनशमशेरलाई ‘नेपाली क्रिकेटका पिता’ पनि भनिन्छ ।

तर, क्रिकेटलाई दरबारको चौघेराबाट बाहिर ल्याउने काम भने जयकुमारनाथ शाहले गरे । क्लबका रुपमा पहिल्यै गठित नेपाल क्रिकेट संघलाई सन् १९६४ मा शाहले साझा संस्थाको रुप दिए । “त्यही दिनदेखि नेपाली क्रिकेटको संस्थागत विकास आरम्भ भएको हो” पाण्डे भन्छन्, “र, यो उपलब्धि त्यसयताकै उच्च र विशिष्ट हो ।”

शाहकै नेतृत्वमा नेपाल सन् १९८८ मा आईसीसीको एफिलिएटेड सदस्य बन्यो । एसोसिएट सदस्यमा बढुवा भएकै वर्ष १९९६ मा नेपालले पहिलोपटक मलेशियामा एसीसी ट्रफी खेल्यो । बाङ्लादेशसहित ६ राष्ट्र सम्मिलित पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल चौथो भयो ।

सन् २००८ मा पहिलोपटक विश्व क्रिकेट लिग डिभिजन–५ मा तेस्रो बनेको नेपाल त्यसपछि डिभिजन ५, ४, ३ को विजेता बनेको थियो । सन् २०१४ मा डिभिजन–३ को विजेता भई डिभिजन–२ मा उक्लिएको नेपालले त्यही वर्ष सोझै पहिलोपटक विश्वकप छनोट खेल्ने अवसर पाएको थियो ।

तर, त्यो मौका सदुपयोग गर्न नसकेपछि पुनः डिभिजन–२ मा घटुवा भयो । त्यसबीचमा नेपालले सन् २०१४ मा विश्व टी–२० खेल्यो, जुन पहिलो विश्वकप अनुभव थियो ।

तर, आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (सन् २०१५–१७) ले नेपाललाई पुनः आफूलाई प्रमाणित गर्ने मौका प्रदान ग¥यो । अफगानिस्तान र आयरल्याण्डले एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपाल र केन्याले डिभिजन–१ मा उक्लने मौका पाए । यो प्रतियोगिता जितेको भए नेपालले सोझै विश्वकप छनोट खेल्न पाउँथ्यो । तर, आठ देशबीचको स्पर्धामा नेपाल सातौं बन्यो र फेरि पनि मौका चुकायो । नेदरल्याण्ड्स विजेता बन्यो ।

डिभिजन–२ को उपविजेता बन्दै जारी विश्वकप छनोटबाट नेपालले एकदिवसीय मान्यता पायो । नेपालले एकदिवसीय मान्यता पाएको दिन देखेर मर्ने धोको बोकेका जयकुमारनाथ शाहको भने यसै वर्ष २९ भदौमा निधन भएको थियो ।

टेष्ट सपना
यसअघि एकदिवसीय राष्ट्रको मान्यतालाई आफ्नो लक्ष्य बनाएको नेपाली टोलीसँग अहिले नयाँ लक्ष्य छ– टेष्ट मान्यताप्राप्त राष्ट्र बन्ने । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास एकदिवसीय मान्यता पाएसँगै आईसीसीले दिने सहयोग रकम र व्यस्त खेल तालिकाले आन्तरिक र बाह्य दुवैतर्फ राम्रो अवसर सिर्जना हुने बताउँछन् । “कठोर परिश्रम र भाग्यले हामीलाई सपनाको ठाउँमा उभ्याएको छ, यसलाई विपना बनाउनुको विकल्प छैन”, उनी भन्छन् ।

तर, मुलुकभित्रको क्रिकेट संरचना भने लथालिङ्ग छ । राजनीतिक भागबण्डाको शिकार बनेको क्यान आईसीसीद्वारा निलम्बित छ । लामो समयदेखि घरेलु प्रतियोगिता हुनसकेका छैनन् । क्रिकेटको भौतिक पूर्वाधार विकासमा पटक्कै ध्यान दिइएको छैन । खेलाडीले समयमा तोकिएको तलबसमेत पाएका छैनन् ।

“खेलाडीले खेलिदिएर मात्र सुखद परिणामको आशा गरिरहनु घातक हो, सक्षम क्यान भइदिए मात्र सबै कुरा सुध्रन्छ”, क्यानका पूर्वअध्यक्ष पाण्डे भन्छन् । आईसीसीले एसोसिएट राष्ट्रहरूमध्ये नेपालको क्रिकेट विकासमा धेरै चासो र चिन्ता व्यक्त गरेको, तर सरकार स्वयंले निरन्तर बेवास्ता गरिरहेको उनको आरोप छ ।

क्यान–विवाद समाधानका लागि आईसीसीद्वारा गठित सल्लाहकार समितिका संयोजकसमेत रहेका पाण्डे भन्छन्, “आफ्नो समस्या आफैं र अहिल्यै नसुल्झाए यो खुशी निराशामा परिणत हुन बेर लाग्दैन ।”

घरेलु संरचना बलियो नभए एकदिवसीय मान्यता ‘दुस्वप्न’ हुन बेर लाग्दैन । नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकै वर्ष (सन् १९९६ मा) एकदिवसीय मान्यता पाएको र सन् २००३ को विश्वकपमा वेष्टइन्डिजलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको केन्या अहिले डिभिजन–३ मा झरेको छ ।

नेपालजस्तै राजनीतिक खिचातानी र भ्रष्टाचारले थला पारेको केन्याको पछिल्लो हविगतमा नैतिक जिम्मेवारी लिंदै कप्तान राकिप पटेल, प्रशिक्षक थोमस ओडोयो र क्रिकेट इतिहासमै पहिलो महिला क्रिकेट बोर्ड अध्यक्ष बनेकी ज्याकी जानमोहम्मदले गत महीना राजीनामा दिएका थिए ।

विश्व क्रिकेटमा लोभलाग्दो उपलब्धि हासिल गर्ने देश पनि छन् । सन् २००८ मा नेपालसँगै डिभिजन–५ खेलेको युद्धग्रस्त अफगानिस्तान अहिले आईसीसीको पूर्णकालीन सदस्य बनेको र टेष्टसमेत खेल्न थालेको छ ।

नेपालले केन्याको बाटो रोज्ने कि अफगानिस्तानको ? पूर्वकप्तान दास भन्छन्, “यस्तो प्रतिकूलताबीच पनि जति गर्नुछ, खेलाडीले गरे, अब सरकारको पालो हो ।”

१ चैत साँझदेखि २ चैत बिहानसम्म देश–विदेशका क्रिकेटप्रेमी खुशी र बधाइ साटासाट गरिरहँदा क्यानकी पूर्व सिईओ भावना घिमिरे भने ट्विटरमा नेपाली क्रिकेटको तीतो वास्तविकता पोख्दै थिइन् । “आजै बिहान मात्र ग्राउण्ड स्टाफले फोन गरेर भन्नुभो– म्याम, टियू ग्राउण्डमा पानी छैन, मैदान सुकिसक्यो, सबैलाई भनिसकें, कसैले वास्तै गर्दैनन् । नेपालको आजको उपलब्धिले हाम्रो भुईंमा खुट्टा छैन, टेष्ट राष्ट्रको गोरेटो तयार हुँदै गर्दा हाम्रो क्रिकेट हेर्ने निकाय खै ? .... प्रधानमन्त्रीज्यू, क्यान कहिले स्वायत्त, सशक्त र क्रिकेट बोर्ड हुन्छ ?

जवाफमा सधैं झैं ‘हेलो सरकार’ उपस्थित भयो र लेख्यो– ‘यस विषयमा खेलकुद मन्त्री र त्रिविविमा पत्राचार भएको छ । धन्यवाद ।’

प्रतिकृया दिनुहोस