मूल्यवृद्धि दर बढ्यो, तरकारीको मूल्य एक चौथाईले वृद्धि
खाद्य वस्तुहरुमा बढेको मूल्यका कारण समग्र उपभोक्ता मूल्यवृद्धि दर उकालो लागेको राष्ट्र ब्यांकले जनाएको छ ।
केन्द्रीय ब्यांकले ४ चैतमा माघसम्मको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजानिक गर्दै उपभोक्ता मूल्यवृद्धिदर ५ प्रतिशत पुगेको जनाएको हो ।
यो २०७३ को माघमा ३ दशमलव ३ प्रतिशत मात्र थियो । गत पुसमा उपभोक्ता मूल्यवृद्धि दर ४ प्रतिशत मात्र थियो ।
अघिल्लो वर्ष ० दशमलव २ प्रतिशत ऋणात्मक रहेको खाद्य पदार्थको मूल्य यो माघमा ४ प्रतिशतले बढेको केन्द्रीय ब्यांकले जनाएको छ ।
अघिल्लो वर्षका तुलनामा तरकारीको मूल्य २५ दशमलव ४ प्रतिशत, दुग्धजन्य पदार्थ र अण्डाको मूल्य ७ दशमलव ७ प्रतिशत, फलफुलको मूल्य ३ दशमलव ८ प्रतिशत माछा तथा मासुको मूल्य २ दशमलव ६ प्रतिशत बढेको छ । माघसम्ममा गैर खाद्य समूहको मूल्यवृद्धि दर ५ दशमलव ८ प्रतिशत छ ।
क्षेत्रगत आधारमा तराईमा सबैभन्दा धेरै ५ दशमलव ६ प्रतिशत र काठमाडौंमा सबैभन्दा कम ४ प्रतिशत मूल्यवृद्धि दर छ ।