शोधनान्तर घाटा थप गहिरियो, विदेश जानेको संख्या पनि घट्यो
देशमा भित्रने र बाहिरिने रकम बीचको अन्तर (शोधनान्तर) स्थिति थप नकारात्मक भएको छ ।
चालू आर्थिक वर्षको पहिलो सात महीना माघसम्ममा शोधनान्तर घाटा रु. १८ अर्ब २८ करोड पुगेको राष्ट्र ब्यांकले जनाएको छ ।
पुससम्ममा शोधनान्तर स्थिति रु. ६ अर्ब ६६ करोड मात्र घाटामा थियो । सरकारको चालू खाता पनि रु. १ खर्ब ४१ अर्ब ६ करोडको घाटामा छ ।
आयातमा उच्च वृद्धि तथा विदेशी लगानीको लाभाशं भुक्तानीका कारणका चालू खाता घाटा बढेको राष्ट्र ब्यांकले जनाएको छ ।
एनसेलको लाभाशं फिर्ता लैजान दिने सर्वोच्च अदालतको अन्तरिम आदेशको सोझो असर भुक्तानी सन्तुलनमा देखिएको हो ।
यद्यपि, अर्थतन्त्रको टेको मानिने रेमिटेन्स माघ महीनामा १ दशमलव ७ प्रतिशतले बढेर रु. ४ खर्ब १ अर्ब पुगेको छ । रेमिटेन्स पुसमा ० दशमलव ५ प्रतिशतले ओरालो लागेको थियो ।
यो अवधि (माघसम्मको सात महीनामा)मा विदेश जाने कामदारको संख्या भने ४ दशमलव ९ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको यही अवधिमा पनि यस्तो संख्या ६ दशमलव ७ प्रतिशतले घटेको थियो । मुख्य श्रम गन्तव्य खाडी राष्ट्रहरुमा विद्यमान तनावका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो ।
माघसम्ममा देशले अन्तर्राष्ट्रिय व्यापारमा रु. ६ खर्ब १३ अर्ब ६० करोड घाटा बेहोरेको छ, जुन अघिल्लो वर्षका तुलनामा १९ दशमलव ४ प्रतिशत बढी हो ।
यो अवधिमा निर्यात १२ दशमलव ९ प्रतिशतले मात्र बढेको छ भने आयात १८ दशमलव ९ प्रतिशतले बढेको छ ।