एलडीओ चढेको गाडी दुर्घट्ना, पाँच घाइते
दशैं मनाउन बिदामा हिँडेका पाँचथरका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमला सहित कर्मचारीहरु चढेको गाडी मेची राजमार्गको पाँचथर–इलाम सडक खण्डमा दुर्घटना भएको छ ।
आज, २० असोज विहान साढे नौ वजे भएको दुर्घटनामा धमला सहित ५ जना घाइते भएका छन् । जिविस पाँचथरको मे १ ज ३७३ नम्बरको जीप इलामको पुवा खोला नजिकै मिलगोलाई भन्ने स्थानमा सडकवाट करिव ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा परेका धमलाको हात भाँचिएको छ । गाडीमा सवार जिल्ला प्राविधिक कार्यालय पाँचथरकी सह लेखापाल कौसिला दाहालको खुट्टा र जिल्ला मालपोत कार्यालय पाँचथरका कर्मचारी बिनोद ढुंगेलको ढाडमा चोट लागेको छ ।
जिविस पाँचथरका कार्यालय सहयोगी विजय कार्की र चालक बीरबहादुर तामाङका छोरा पनि घाइते छन । उनीहरुलाई उपचारका लागि इलाम अस्पतालमा पुर्याइएको छ ।
लक्ष्मी गौतम