खेलकुदशनिवार, चैत्र ३, २०७४

थ्रीस्टारले जित्यो ७,७७,७७७ पुरस्कार राशिको तिलोत्तमा गोल्डकप

हिमालखबर

 

२०औँ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि ललितपुरको थ्री स्टार क्लबले जितेको छ । बुटवलस्थित एन्फा एकेडेमी फुटबल मैदानमा ३ चैतमा भएको फाइनलमा नेपाल प्रहरी क्लबलाई २–० ले पराजित गर्दै थ्रीस्टारले उपाधि चुमेको हो ।

उपाधि विजेता थ्री स्टारले रु. सात लाख ७७ हजार ७७७ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेतामा नेपाल प्रहरीले रु. चार लाख ४४ हजार ४४४ नगद पुरस्कार प्राप्त गर्यो ।

प्रतिस्पर्धात्मक खेलको ६६औँ मिनेटमा नेपाल प्रहरीका कप्तान डिफेन्डर रविन श्रेष्ठले आत्मघाती गोल गरेका थिए । निराजन खड्काले ७९ औं मिनेटमा गोल गरेपछि थ्री स्टारले अग्रता दोब्बर पारेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित निराजन खड्काले स्कुटर प्राप्त गरे ।  थ्री स्टारका मेघराज केसी उत्कृष्ट प्रशिक्षक, रेजिन सुब्बा उत्कृष्ट स्टाइकर, भोला सिलवालले उत्कृष्ट मिडफिल्डर उपाधि र थ्री स्टारका एलन न्यौपानेले उत्कृष्ट गोलकिपर र लाली रुपन्देही ११ का पूर्णबहादुर श्रेष्ठ उत्कृष्ट डिफेन्स घोषित भए । उनीहरुले जनही रु. २२ हजार २२२ नगद पुरस्कार प्राप्त गरेका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख तथा तिलोत्तमा गोल्डकपका प्रमुख संरक्षक शिवराज सुवेदी, एन्फा रुपन्देही अध्यक्ष दीर्घबहादुर केसी, रुपन्देही खेलकूद विकास समितिका अध्यक्ष योग गुरुङ, मुख्य प्रायोजक यशोदा फुडका सञ्चालक नरीश्वर शर्मा पौडेललगायतले विजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए ।

तस्वीरः रासस

प्रतिकृया दिनुहोस