मन्त्रिपरिषद् विस्तार हुँदै, तीन मन्त्रालय थप्ने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले दिएको जानकारी अनुसार आज सबै मन्त्रीहरुको टुङ्गो लाग्नेछ ।
एमालेबाट मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन अहिले एमालेका शीर्ष नेताहरुको बैठक चलिरहेको छ ।
राष्ट्रपति कार्यालयले आज दिउँसो ४ बजे नवनियुक्त मन्त्रीहरुको लागि शपथको तयारी थालेको छ ।
सरकारमा संघीय समाजवादी फोरम पनि सहभागी हुने भएको छ । फोरमबाट अध्यक्ष उपेन्द्र यादव मन्त्री बन्ने पक्का भएको छ ।
फोरमलाई सरकारमा ल्याउन र आकांक्षीको व्यवस्थापना गर्न मन्त्रालय फुटाउने गृहकार्य समेत भइरहेको छ ।
१८ वटा रहेका मन्त्रालयमध्ये तीन मन्त्रालय फुटाएर २१ पुर्याउने तयारी गरिएको छ ।
यसअघि ३१ मन्त्रालय रहेकोमा प्रधानमन्त्री ओलीले ११ फागुनमा नेपाल सरकारको कार्यविभाजन नियमावली संशोधन गरेर मन्त्रालय संख्या १८ कायम गराएका थिए ।
अब जलस्रोत तथा ऊर्जा मन्त्रालय टुक्रिएर ऊर्जा र सिँचाइ दुईवटा मन्त्रालय हुनेछन् ।
त्यस्तै, श्रम, रोजगार, महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय पनि टुक्रने भएको छ । अब श्रम तथा रोजगार एउटा र महिला बालबालिका तथा सामाजिक सुरक्षा अर्को मन्त्रालयको रूपमा रहनेछन् ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय पनि टुक्रिने भएको छ । अब शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद् छुट्टाछुट्टै मन्त्रालयको रुपमा रहनेछन् ।
संविधानले संघमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउने सक्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार प्रधानमन्त्रीको कार्यालय सहित २१ मन्त्रालय कायम हुँदा बढीमा चारजना मात्र राज्यमन्त्री बनाउन मिल्नेछ ।