पोर्चुगलका गुटेरेश राष्ट्रसंघका महासचिव बन्दै
पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेश संयुक्त राष्ट्रसंघका नयां महासचिव बन्ने लगभग निश्चित भएको छ।
बुधबार भएको गोप्य मतदानमा राष्ट्रसंघीय सुरक्षा परिषद्का कुनै पनि सदस्य उनको विपक्षमा नदेखिएपछि गुटेरेश महासचिव बन्ने पक्का भएको हो।
उक्त अनौपचारिक अनुमोदनलाई बिहीबार औपचारिकता दिइनेछ भने त्यसलाई राष्ट्रसंघीय महासभाले थप अनुमोदन गर्नेछ ।
१५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषदमा महासचिवका लागि १० जना उम्मेदवारको पक्ष, विपक्षमा मत जाहेर गर्ने विकल्पमा गुटेरेशको विपक्षमा कसैले मत दिएनन् ।
राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर को प्रमुखको रुपमा १० वर्ष काम गरेका गुटेरेश अनुभवी कूटनीतिज्ञ हुन्। उनी सन् १९९५ मा पोर्चुगलका प्रधानमन्त्री बनेका थिए।
गुटेरेशले सन् २०१७ को शुरुवातमा हालका राष्ट्रसंघीय महासचिव बान की मुनको स्थान लिनेछन्।
-एजेन्सी