विमान दुर्घटनाका घाइतेको उपचारका लागि विशेषज्ञ चिकित्सक पठाउन बांग्लादेश इच्छुक
नेपाल भ्रमणमा रहेका बांग्लादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाहजहाँ कमालले विमान दुर्घटनामा परी घाइते भएर उपचार गराइरहेका १० बांग्लादेशी नागरिकलाई काठमाडौँस्थित विभिन्न अस्पतालमा पुगेर भेटेका छन् ।
त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताल र ओम अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएपछि उनले गृहमन्त्री रामबहादुर थापालाई भेटेका छन् ।
भेटमा मन्त्री कमालले आफ्नो देशका नागरिकहरुको उपचारप्रति आफू सन्तुष्ट रहे पनि उनीहरुको उपचारमा सहयोगका लागि बांग्लादेशका हाडजोर्नी सम्बन्धी चिकित्सक र ‘बर्न’ सम्बन्धी चिकित्सकलाई नेपाल पठाउन चाहेको बताए । उनले त्यसका लागि वातावरण सहज बनाउन गृहमन्त्री थापासँग आग्रह गरे ।
त्यसैगरी ओम अस्पतालमा उपचारत डा रिजवानलाई थप उपचारका लागि उनका परिवारले सिंगापुर लैजान खोजेको पनि कमालले बताए ।
जवाफमा मन्त्री थापाले त्यस विषयमा नेपालस्थित बंगलादेशको दूतावासबाट प्रक्रिया पुर्याएर आग्रह गरिए सहजीकरण गर्न नेपाल सरकार तयार रहेको बताएका थिए ।
वार्तामा मन्त्री थापाले दुर्घटनामा निधन भएका बांग्लादेशी नागरिकको शवको पहिचान तथा शव परीक्षणको प्रक्रिया जारी रहेको र त्यो सकिने वित्तिकै शव बंगलादेश लैजानका लागि व्यवस्था मिलाइने बताए ।
बंगलादेशका मन्त्री कमालले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटना लगत्तै नेपाली पक्षले राहत तथा उद्धारमा देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गर्नुका साथै आफूहरुले उद्धारमा कुनै किसिमको कमी भएको महसुस नगरेको स्पष्ट पारे ।
वार्तामा दुबै मन्त्रीबीच घटनाको छानबिन गर्न सहजीकरण गर्ने सहमति भएको छ ।
२८ फागुनमा भएको दुर्घटनामा परी २६ बांग्लादेशी नागरिक, २२ नेपाली र एक चिनियाँ नागरिकको निधन भएको थियो ।