रिपोर्टबुधवार, फाल्गुण ३०, २०७४

यूएस बांग्ला विमान दुर्घटनाः रनवेबारे असमझदारी

कनकमणि दीक्षित

२८ फागुनमा ५१ जनाको ज्यान गएको यूएस बांग्ला एयरलाईन विमान दुर्घटनाको प्रमुख कारण ककपिटकै अलमल रहेको देखिन्छ । यसले दशकौंको राजनीतिक अन्योलपश्चात विस्तारै तंग्रिदै गएको नेपाली पर्यटन उद्योगमा समेत नकारात्मक प्रभाव पारेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बांग्ला एयरलाईनको बम्बार्डियर विमान । तस्वीर: गोपेन राई 

सोमबार दिउँसो उपत्यकाको आकाशमा बादल लागेको भए पनि मौषम शान्त नै थियो । ढाकाबाट उडेको उक्त विमान उत्तरबाट ६ नट प्रतिघण्टा हावा चलिरहेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उत्रंदै थियो ।

उपत्यका पसेपछि विमानस्थलको उत्तर–दक्षिण धावनमार्गमा अवतरणका लागि विमानले अनुमति माग्दै गर्दा एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र ककपिट बीच भएको कुराकानीको रेकर्ड लाइभएटीसी डट नेटमा सुन्न सकिन्छ ।

अन्तिम चार मिनेट
एटीसी र ककपीट बीचको अन्तिम चार मिनेटको संवादले क्यानाडा निर्मित बम्बार्डियर हवाइजहाजका चालक अवतरणका लागि जिरो टू (दक्षिणबाट उत्तर) र टू जिरो (उत्तरबाट दक्षिण) बीच अलमलमा रहेको संकेत गर्छ । अवतरणका बेला शुरुमा महिला चालकले विमान सञ्चालन गरेको बुझिन्छ भने पछिल्लो चरणमा पुरुष चालक मात्र सम्बाद गरिरहेका छन् ।

संवादको शुरुतिर नै एटीसी पाइलटसँग सशंकित भइसकेको भान मिल्छ । एटीसीले चालकलाई चेतावनी दिइरहेका हुन्छन्, “म फेरि भन्दैछु, रनवे टू जीरो तर्फ नबढ्नुहोस् (आई से अगेन, डू नट प्रोसिड टूवार्डस् रनवे टू जीरो ) ।” पछि झन् कडा स्वरमा अवतरण नगर्न एटीसी चेतावनी दिन्छन्– “बट डू नट ल्याण्ड”, बम्बार्डियर अगाडि अर्को विमान अवतरणको अन्तिम क्षणमा रहेको कारण ।

बम्बार्डियर विमानस्थलतर्फ उत्रंदै गर्दा अन्य विमानमा रहेका नेपाली पाइलटहरुको एकआपसको कुरा तथा एटीसीले दिएको सुझावबाट पनि बम्बार्डियरका चालक अलमलमा परेको त्यतीबेला बुझ्न सकिन्थ्यो । विभिन्न नेपाली चालकहरुले भनेका थिए, “अलमलियो जस्तो छ..., डिसओरियन्टेड भए जस्तो छ..., यो कता जाला...” एकजना पाइलटले त वरपर डाँडाकाँडामा राम्रो भिजिविलिटी नभएकाले बांग्लादेशी विमानलाई राडारको सहायता लिई अन्यत्र पठाउन समेत सुझाएका छन् ।

बम्बार्डियर दाहिनेतर्फ मोडिन्छ अनी एटीसीले ऊ ‘जीरो टू’मा अवतरण गर्न चाहन्छ की ‘टू जीरो’मा भनेर सोधेका छन् । चालक भन्छन, “हामी टू जीरोमा अवतरण गर्छौं,” र उनलाई उत्तरबाट अवतरणका लागि अनुमति दिइन्छ साथै हावाको गति र दिशा बताइन्छ । हावाको दिशालाई चालकले १० डिग्रीले गलत बुझेको प्रस्ट हुन्छ ।

रनवे देख्यौ कि देखेनौ भनेर एटीसीले सोध्दा चालक जवाफ दिन्छन, “नकारात्मक” अर्थात राम्रो देखिएन तर लगत्तै उनी भन्छन्, “सकारात्मक” अर्थात देखियो । फेरि चालक भन्छन– “जीरो टूमा अवतरणका लागि तयार छौं,” (यद्यपि उनले पहिले उत्तरको ‘टू जीरो’का लागि अनुमति मागे र पाइसकेका थिए ।) यतिबेला आएर एटीसीले पनि जीरो टूमा अवतरणका लागि ठिक छ भन्छन् ।

क्लियर्ड टू ल्याण्ड
बम्बार्डियरसँग कुरा भइरहेकै बेला अवतरणका लागि १० किमी टाढै होल्ड गरिरहेको नेपाली सेनाको विमानसँग कुरा गर्दै एटीसीले बांग्लादेश विमान टू जीरोमा अवतरण गर्न लागेको जानकारी दिन्छन् ।

बम्बार्डियरका चालकले बोलेको अन्तिम बोली थियो– “ (अस्पष्ट) ...सर, अब हामी अवतरण गर्न सक्छौं ?” केही क्षणको मौनतापछि एटीसी आत्तिएकोे स्वरमा भन्छन् “मैले फेरि भन्दैछु ... मोड्नुहोस् !” (आइ से अगेन, ... टर्न !)

केही पलमै ‘फायर वन स्टेशन’ एटीसीसँग सम्पर्क आउनाले बुझिन्छ कि हवाइजहाज दुर्घटनामा पर्‍यो । एक जना पाइलट रनवे बन्द भए÷नभएको सोध्छन् र एटीसी जवाफ दिन्छन, “विमानस्थल बन्द छ ।”

अस्वाभाविक चाल
शुरुमा नागरिक उड्डयनका अध्येताहरुले अवतरण गरिसकेको बम्बार्डियर विमान रनवेबाट चिप्लिएर बाहिर पुगेको र तत्पश्चात् आगलागी भएको हुनसक्ने अनुमान गरेका थिए । तर, धावनमार्गको धेरै वर आइसकेको विमानको गति ढिलो भएको हुने थियो र त्यत्रो विभत्स दुर्घटना हुनु नपर्ने थियो । कुरा अली प्रस्ट त्यसबेला भयो, जब एकजना प्रत्यक्षदर्शीले आफूले देखेको कुरा बताए ।

इसिमोड संस्थामा कार्यरत जलवायु वैज्ञानिक अरनिको पाण्डेले देखे अनुसार आकाशमै रहँदा विमानको चाल र दिशा अस्वभाविक थियो । उनका अनुसार विमान रनवेसँग ‘एलाइन’ थिएन अनी कन्ट्रोल टावरमा ठोक्किएला झैं गरी मोडिएको विमान पार्क गरिएका जेट र टर्वोप्रप् विमानहरु नाघ्दै एयरफिल्डको पूर्वी छेउँमा पुगेर भुइँमा बजारिएको थियो ।

दुर्घटनाबारे सरकारद्वारा गठित छानविन आयोगको प्रतिवेदनलाई कुर्नु पर्ने नै हुन्छ तर प्रत्यक्षदर्शी र रेकर्डेड संवादबाट यति त भन्न सकिन्छ कि विमानस्थलमा निकै कम उचाईँमा उडिरहेको बम्बार्डियरको गतिविधि अस्वाभाविक थियो ।

छानविन समितिले न्यून गतिमा मोड्दा दुर्घटना हुन गएको हो कि भन्ने पनि अध्ययन् गर्ने नै छ । (२ साउन २०५७ मा पटना विमानस्थलमा भएको एलाएन्स् एयरको बोइंग ७३७ दुर्घटनाको छानविन समितिले विमानस्थल माथि ढिलो गतिमा विमान उड्दा ‘लिफ्ट’ गुमाएर दुर्घटना हुन पुगेको प्रतिवेदन दिएको थियो)

ढाका–काठमाडौं हवाई सम्पर्क बांग्लादेश बन्नु अगावै पूर्वी पाकिस्तानसँग थालिएको हो । त्यसबेला पाकिस्तान एयरलाइन्सको डीसी–३ पिस्टन इन्जिन विमान यो रुटमा आउजाउ गथ्र्यो । अहिले बांग्लादेशका तीनवटा एयरलाइन्स ढाका–काठमाडौं उड्छन्– बांग्लादेश विमान, रिजेन्ट एयर र यूएस बांग्ला । अधिकांश यात्रुहरु बांग्लादेशी पर्यटक, बांग्लादेशमा पढिरहेका नेपाली विद्यार्थी र मलेशिया वा अन्य देश जाने नेपाली श्रमिकहरु हुन्छन् ।

अन्तर्राष्ट्रिय मिडियाले नेपालको हवाई आकाश असुरक्षित भनेर चिनाउने गरेको छ, त्यसो भनिनुको मुख्य कारण चाहीँ स–साना ‘सर्ट टेक–अफ एण्ड ल्याण्डिङ’ (स्टोल) हवाईजहाजले तुलनात्मक हिसाबले जोखिमपूर्ण पहाडी विमानस्थलहरुमा उडान–अवतरण गर्ने हुनाले हो ।

काठमाडौंको व्यस्त अन्तराष्ट्रिय विमानस्थलमा एउटा मात्रै धावनमार्ग छ, यात्रु र कार्गो व्यवस्थापन सहज छैन तर पनि यो विमानस्थललाई जोखिमपूर्ण भन्न मिल्दैन । यहाँ ३० वटा एयरलाइन्सले उडान भरिरहेका छन् ।

२०४९ सालमा काठमाडौं नजिकैका पहाडमा दुईवटा वाइडबडी एयरबस दुर्घटना भए । जसमध्ये एउटा थाई इन्टरनेशनल र अर्को पीआईए थिए । दुवै विमानमा रहेका कोही पनि बचेनन् र छानविन समितिको प्रतिवेदन अनुसार दुवै दुर्घटना चालकको गल्तीका कारण भएका थिए ।

यद्यपि त्यसबेला उक्तखाले दुर्घटनाबाट बचाउनसक्ने राडार युनिट विमानस्थलमा थिएन । नेपाली आकाशमा रहेका करिब सबै विमानलाई पहिल्याउन सक्ने राडार भर्खरै जडान भएको छ ।

 

प्रतिकृया दिनुहोस