समाचारसोमवार, फाल्गुण २८, २०७४

बोक्सीको आरोपमा कुटपिट गर्नेलाई आठ वर्ष कैद सजायको व्यवस्था

हिमालखबर

अन्तराष्ट्रिय नारी दिवसकै दिन कैलालीमा १८ वर्षीय राधा चौधरी मरणासन्न हुने गरी कुटिइन् । कक्षा ११ मा अध्ययनरत घोडाघोडी–५, कैलालीकी चौधरीलाई आफूलाई भोलेबाबा बताउने रामबहादुर चौधरी र किस्मती चौधरीले सबै गाउँलेको अगाडि निर्घात कुटेका थिए ।

व्यापक जनदबाबपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । २१ औं शताब्दीमा आएर पनि बोक्सीको नाममा अत्याचार गर्नेलाई के कारवाही हुन्छ त ? बोक्सीको आरोप सम्बन्धी कसूर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन अनुसार यस्तो अपराध गर्नेलाई आठ वर्षसम्म कैद सजाय र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ । पीडितको अंगभंग भएमा थप दश प्रतिशत सजाय हुने ऐनमा व्यवस्था छ ।

बोक्सीको आरोपमा कुटपिट गर्ने, खोप्ने, डाम्ने वा पोल्नेलाई ऐनमा यस्तो सजायको व्यवस्था गरिएको हो । धामी, झाँक्री, टुनामुना, तन्त्रमन्त्र वा झारफुकको माध्यमबाट कसैलाई बोक्सीको आरोप लगाउनेलाई सात वर्षसम्म कैद र रु.७५ हजारसम्म जरिवानाको व्यवस्था छ ।

पीडितको उपचार गर्दा लागेको र कुरुवाको समेत खर्च पीडकले व्यहोर्नु पर्दछ । अदालतले ठहर गरेको क्षतिपुर्ति पीडकले तिर्न नसकेको अवस्थामा सरकारले बुझाउने पर्ने कानूनी व्यवस्था छ । क्षतिपुर्ति नपाउँदै पीडितको मृत्यु भएको अवस्थामा पीडितको छोराछोरी, श्रीमान/श्रीमती वा आश्रित आमाबाबुलाई बुझाउनु पर्दछ ।

प्रतिकृया दिनुहोस