अन्तर्वार्ता/विचारआइतवार, फाल्गुण २७, २०७४

‘महिला कुस्ती खेलाडी बढाउन प्रतियोगिता’

हिमालखबर

नेपालमा पहिलो पटक आगामी २१ र २२ वैशाख २०७५ मा महिला कुस्ती प्रतियोगिता आयोजना गर्न लागेको नेपाल कुस्ती संघका केन्द्रीय अध्यक्ष नारायण राणा भन्छन्, “कुस्तीमा महिलाको सम्भावना धेरै छ।”

नेपालमा महिला कुस्ती प्रतियोगिता गर्नुको उद्देश्य के हो ?
नेपालको कुस्ती खेलमा महिला खेलाडीको संख्या न्यून छ । दक्षिणएशियाका अन्य देशहरूमा महिला कुस्ती खेलाडीहरू छन् र प्रतियोगिता पनि आयोजना हुन्छन् । नेपालमा खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि पहिलो पटक महिला कुस्ती प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा सहभागिता बढाउन र खेलाडीलाई प्रोत्साहन गर्न के गर्नुभएको छ ?
२१ जिल्लामा महिला खेलाडीहरूका लागि तालिम सञ्चालन गरेका छौं । पुरुष खेलाडीलाई तालिम दिएका प्रशिक्षकहरूले नै महिलालाई तालिम दिइरहेका छन् । अहिलेसम्म महिला कुस्ती खेलाडी उत्पादन गर्न कुनै क्रियाकलाप भएका थिएनन्, हामीले शुरु गरेका छौं । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्य छ ।

नेपालमा समग्र कुस्ती खेलको अवस्था कस्तो देख्नुहुन्छ ?
नेपालमा कुस्ती खेल तराईमा बढी हुन्छ । हामी यसलाई पहाडमा विस्तार गर्ने अभियानमा छौं । तालिम दिएर खेलाडी उत्पादन गर्ने हो भने सम्भावना धेरै छ । अझ महिलाको सम्भावना बढी देखिन्छ । दक्षिण एशियाली महिला कुस्तीमा बलियो भनेको भारत हो । नेपाली महिलाले भारतीय महिलासँग सजिलै प्रतिस्पर्धा गर्न सक्छन् ।

कुस्ती खेलमा महिला पछाडि पर्नुको कारण के हो ?
कुस्तीमा महिलालाई अघि बढाउन ध्यान नै दिएनौं । यसप्रति महिला खेलाडीहरूको आकर्षण नै भएन । हामीले शुरु गरेका छौं, केही वर्षमा नतिजा निस्कनेमा विश्वस्त छौं ।

आसन्न प्रतियोगितामा कति खेलाडी सहभागी हुन्छन्, तयारी कस्तो छ ?
प्रतियोगितामा २१ जिल्ला र तीन वटा विभागीय टीमबाट ७० देखि ८० जना खेलाडी सहभागी हुने अनुमान छ । ८ वजन समूहमा हुने प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र १६ कास्य गरी ३२ पदकका लागि प्रतिस्पर्धा हुन्छ । त्यही अनुरुपको तयारी छ ।

प्रतिकृया दिनुहोस