ब्लगआइतवार, फाल्गुण २७, २०७४

गर्वको जीवन, सन्तुष्ट निधन (इन्द्रबहादुर राईको सम्झना)

केदार शर्मा

इन्द्रबहादुर राई (९१) को अवसानसँगै नेपाली वाङ्मयको एउटा युगको अन्त्य भएको छ।

२२फागुनमा इन्द्रबहादुर राईको देहावसानपछि बीबीसी नेपाली सेवा ले उहाँसितको पोहोर सालको कुराकानी उद्धृत गरेर समाचार बनायो । “... मेरा सबै कृति प्रकाशित छन् वा हुनेवाला छन्, र म एक प्रकारले खुशी व्यक्ति जाँदैछु ।

मर्नुभन्दा अघि सन्तुष्ट व्यक्ति पाउनु कठिन छ । म चाहिं त्यो व्यक्ति हुँ, म सक्छु”, सेवा भट्टराईसँगको कुराकानीमा उहाँले भन्नुभएको रहेछ ।

मलाई उहाँको निधनको समाचार सुनेर ‘दुःख’ लागेन । ‘उहाँलाई आफ्नो विश्वासको परमधाम मिलोस्’ भन्ने भाव मात्र आयो । बीबीसी अनलाइन मा समाचार पढेपछि त दुःख नलाग्नुको औचित्य पुष्टि भए झैं लाग्यो ।

औसतभन्दा बढी बाँचेर, संसारलाई सक्ने जति दिएर र पाउनुपर्ने जति पाएर, जीवनप्रतिको सन्तुष्टि र मृत्युप्रतिको स्वाभाविक विचार सार्वजनिक रूपमा अभिव्यक्त गरेर जानु भनेको सानो कुरा हो र ? उहाँ हामी सबैलाई गर्व लाग्ने जीवन बाँच्नुभएको थियो, जाँदा पनि उमेरका कारण हुने दुःखबिमार बाहेक शानदार तरीकाले नै जानुभयो । उहाँको महाप्रस्थानलाई ‘सुखद निधन’ भने हुन्छ । मैले त भनें ।

‘दीर्घजीवी हुनू’ भन्ने आसिक हामीले धेरै थरी शब्दमा धेरै पटक पाएका छौं । अरूलाई पनि दिएका छौं । दशैंको ‘आयुद्रोणसुते...’ देखि ‘चिरायु होस्’, ‘बीसासय वर्षको आयु होस्’ वा अरू शब्दमा र अनेक भाषामा पाइने/दिइने यस्ता आशीर्वादको अर्थ अहिले आएर, खासगरी इन्द्रबहादुर राईको निधनपछि खुले–खुले जस्तो लाग्दैछ मलाई । जीवन हुनु त यस्तो पो हुनु (र जानु त यस्तो सन्तुष्ट भएर पो जानु) !

लाग्दैछ, मान्यजनहरूले हामीलाई लामो आयुको आशीर्वाद दिएको वा मान्छेले दीर्घ जीवनको रहर गरेको धेरै वर्षसम्म बाँच्न मात्र होइन । धेरै बाँच्नुको अर्थ हो, लामो समयसम्म संसार देख्नु, हेर्नु, बुझ्नु र बुझेका कुरा अरूलाई भन्नु ।

मान्छेको सभ्यता तयार भएको पनि एउटा पुस्ताले सिके–जानेका, देखे–बुझेका कुरा अर्को पुस्तालाई सचेत रूपमा र अभिलेख रहने गरी भन्न जानेर नै हो ।

इन्द्रबहादुर राई पनि सचेत रूपमा पौने शताब्दीभन्दा बढी समयसम्म संसार देखेर, हेरेर, बुझ्ने प्रयास गरेर, देखे–बुझेका कुरालाई चिन्तनको रापले गालेर र ती कुरा हामीलाई सुनाएर, पढाएर जानुभयो । फेरि दोहोर्‍याऊँ, उहाँले आफ्नो मातृभूमि र पितृभूमिका नेपालीभाषी समाजलाई दिनुसम्म दिएर जानुभयो । उहाँ मेचीपारिको नेपाली समाजका बौद्धिक, विवेकी र विवादरहित अगुवा हुनुहुन्थ्यो ।

यता नेपालमा पनि उहाँको साहित्यिक स्थान उति नै अग्लो थियो । राम्रो कुरा, समाज पनि सधैंभरि उहाँको गुणग्राही रह्यो । ‘इन्द्रबहादुर राईले भन्नुभएको’ भन्ने बित्तिकै धेरै कुरा स्वतः प्रमाणित, सावित भए जस्ता हुन्थे । धेरैलाई त्यतिले नै पुग्थ्यो ।

संयोग र सौभाग्य, उहाँले ‘दिन थालेको’ ठाउँमै बस्छु म आज । २००९ सालको फागुनताका उहाँ प्रधानाध्यापकका रूपमा इलामको करफोक विद्या मन्दिरमा आउनुभएको कुरा सम्झिनुहुन्छ मेरा बा नरहरि शर्मा (७७), जो त्यसबेला कक्षा ६ मा पढ्नुहुन्थ्यो ।

१९८४ साल माघको जन्मदेखि हिसाब गरेर ल्याउँदा आईबी सर भने पच्चीसको हुनुहुँदोरहेछ । “फुर्तिलो हुनुहुन्थ्यो, अध्ययन अध्यापनमा प्रवीण, अनुशासनका साक्षात् अवतार हुनुहुन्थ्यो । तलदेखि माथिसम्मका कक्षामा निरीक्षण गर्न पुगिरहने हुँदा शिक्षक विद्यार्थी सबै सतर्क रहन्थे ।

उहाँ त्यसबेला पनि निबन्धहरू लेख्नुहुन्थ्यो, तर उहाँको साहित्यिक व्यक्तित्व मुखर भइसकेको थिएन”, बा सम्झिनुहुन्छ ।

मेरो साहित्यिक अभिरुचि हुर्किंदै गर्दा ‘आयामेली आन्दोलन’ वा ‘तेस्रो आयाम’ चर्चाको शिखरमा थियो । ‘तेस्रो आयाम’ नेपाली साहित्यमा सबभन्दा धेरै टिकेको र सबभन्दा धेरै चर्चा भएको आन्दोलन हो, जसले आयामेली हुँ नभन्नेहरूको रचनाकर्ममा पनि उकेरा लगाइदिएको थियो । तेस्रो आयामका प्रवर्तकहरूसित भेट्न मात्र पाउँदा पनि ठूलै मान्छे भएजस्तो लाग्थ्यो ।

अलि पछि कवि जीवन आचार्य (स्व.) का कारण बल्लभ दाइ (ईश्वर बल्लभ) सँग चिनजान भयो । मेची अञ्चलका सामाजिक सम्बन्धहरूले काँल्दाइ (बैरागी काइँला) सित नजिकिने निहुँ उपलब्ध गराइदिए । तर ‘उहाँहरूले समेत गुरु मानेका ‘आईबी राई’ भनेर हामीले जानेका इन्द्रबहादुर राईसित प्रत्यक्ष हुने अनुकूल परेको थिएन ।

२०५२ सालमा उहाँ ललितपुरमा जगदम्बा श्री पुरस्कार ग्रहण गर्न आउनुभएका बेला हो कि जस्तो लाग्छ, भेट हुँदा मैले आफूलाई ‘इलाम, करफोकको’ भनेर चिनाएको थिएँ । त्यसो भन्दा उहाँको ध्यान तानिन्छ कि भन्ने दाउ थियो । म सफल भएँ, सोधिहाल्नुभयो, “म दुई वर्ष बसेको ठाउँ हो त्यो । धेरैलाई चिन्छु । कसको छोरानाति हो तपाईं ? कसैलाई चिन्छु कि ?”

मैले भनेको थिएँ, “मेरा बालाई तपाईंले ... मा पढाउनु भएको थियो रे !” बाको नाम पनि भनें । उहाँको प्रतिक्रिया रोचक थियो, “तिनी त लेख्न खूब चाख राख्थे । अहिले पनि लेख्छन् ?”

अनि उहाँले थप्नुभएको थियो, “भनेपछि जीवनाथ तपाईंका काकाबाजे ?”

त्यसबेला करफोकमा पढाउने र पछि दार्जीलिङमै पढाएर सेवानिवृत्त हुनुभएका मेरा कान्छा हजुरबा जीवनाथ अधिकारी आफ्ना दौंतरी र सहकर्मी भएको सुनाउँदै उहाँले भन्नुभएको थियो, “जीवनाथका घर मास्तिर पहेंलपुर भएर फिलुङ्गे फुलेको मेरा आँखामा अहिले पनि नाचिबस्छ ।”

पछि २०६३ सालमा प्राध्यापक चूडामणि बन्धुको पछिपछि लागेर म उहाँको निवासमा पनि पुगें । हामी त्यसबेला मदन पुरस्कार पुस्तकालयका तर्फबाट नेपाली युनिकोडबारे कुरा गर्ने र चलाउन सिकाउने अभियानमा पूर्वोत्तर भारतको यात्रामा थियौं ।

प्रसङ्ग मिलाएर मैले आफूलाई फेरि चिनाएँ । उहाँले सम्झिनुभयो र सभामा नै भनिदिनुभयो, “भाषा साहित्यलाई माया गर्ने परिवारको हुनुहुन्छ उहाँ । मेरो विद्यार्थीको छोरो, मेरा साथीको नाति ।”

म फेरि दङ्ग परें ।

आईबी दाजु, आईबी सर, इन्द्रबहादुर राईज्यूका कामहरू हेर्दा लाग्छ, उहाँ समाजलाई चुनौती दिइरहनुहुन्थ्यो र त्यसलाई बौद्धिक रूपमा गतिशील बनाउन अनेक ‘लीला’ रचिरहनुहुन्थ्यो । आयामेली आन्दोलन होस् वा लीला लेखन, उहाँ हल्लाउन चाहनुहुन्थ्यो र हल्लाउन सक्नुहुन्थ्यो ।

एक पटक, मार्टिन चौतारीमा हो कि क्या हो, उहाँले भनेको सम्झिन्छु (शब्द यिनै होइनन्, तर उहाँको आशय यही थियो), “नेपालमा लेखिने साहित्यबाट दार्जीलिङ चुनौती चाहन्छ । शैलीमा, शिल्पमा र कथ्यमा । अहिले त्यस्तो चुनौती कुमार नगरकोटीका किताबले मात्र दिएका छन् ।”

इन्द्रबहादुर राईको अवसानलाई हामीले जसरी लिए पनि उहाँ सँगसँगै मेचीपारिको नेपाली÷गोर्खाली समाजका लागि र समग्र नेपाली वाङ्मयका लागि एउटा युगको अन्त्य भएको छ । उहाँको बौद्धिक परम्परालाई अघि बढाउने पात्र हुर्किइरहेका भए र अघि आए राम्रो हुनेछ । हामीले दुःख चाहिं त्यसो नभए मान्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस