भ्रमणमै सकियो २ अर्ब १५ करोड, मितव्ययिताको नीति बनाउँदै अर्थ मन्त्रालय
सरकारी अधिकारीहरुले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा मात्रै भ्रमणमा रु. २ अर्ब १४ करोड ८२ लाख खर्च गरेका छन् ।
यो रकम अघिल्लो वर्षको यही अवधिको तुलनामा ९५ दशमलव ३३ प्रतिशत बढी हो ।
सरकारले चालू आवमा लागि भ्रमणका लागि रु. १ अर्ब ७२ करोड ८६ लाख छुट्याएपनि पहिलो ६ महीनामै त्यसभन्दा करीब ४० लाख बढी खर्च भइसकेको छ ।
भ्रमण, तालीम, अनुगमन, मूल्यांकन लगायतका विविध शीर्षकमा खर्च अचाक्ली बढेको भन्दै सरकारी अधिकारीहरुले यसको नियन्त्रणको आवश्यकता औंल्याइरहेका छन् ।
बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले फजुल खर्च नियन्त्रणका लागि सरकारले मितव्ययीताको नीति सार्वजनिक गर्न लागेको जनाएका थिए ।
खर्च कटौटीका लागि मन्त्रालयले भ्रमण, मर्मत, परामर्श, इन्धन, तालीम गोष्ठी लगायतका शीर्षकमा खर्च कटौतिको योजना बनाइरहेको छ ।