अफगानिस्तानसँग हारेपछि नेपालको सुपर सिक्स यात्रा कठिन
वान डे विश्वकप क्रिकेट छनोटमा लगातार तेस्रो पराजय भोगेपछि टीम नेपालको सुपर सिक्स पुग्ने सभावना कमजोर बनेको छ । जिम्बाबेमा २६ फागुनमा नेपाललाई अफगानिस्तानले ६ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटीङ रोजेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १९४ रन जोडेको थियो । यो लक्ष्य अफगानिस्तानले चार विकेटकको क्षतिमा ३८.४ ओभरमै पुरा गरेको हो ।
कप्तान पारस खड्काले सर्वाधिक ७५ रनको योगदान दिए । दिपेन्द्र सिंह ऐरीले ३२, ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान २३/२३, सोमपाल कामी ९, अनिलकुमार शाह ७, करण केसी ६, रोहित कुमार पौडेल एक रनमा आउट भए । ९ रन जोडेका बसन्त रेग्मी अविजित रहे । सन्दिप लामिछाने र ललित राजंशीले भने खाता खोल्न सकेनन् ।
चार खेलबाट दुई अंक जोडेको अफगानिस्तानको सुपर सिक्स पुग्ने संभावना छ । दुई अंक नै जोडेको हङकङ अन्तिम खेलमा नेपालसँग पराजित भए रनरेटको आधारमा अफगानिस्तान दोस्रो चरणका लागि छनोट हुने संभावना कायम छ । विशाल अन्तरले हङकङलाई पराजित गर्न सकेको अवस्थामा भने नेपालको पनि सुपर सिक्स पुग्ने संभावना जीवितै छ ।
६/६ अंक जोडेको जिम्बाबे र स्कटल्याण्ड भने सुपर सिक्समा पुगीसकेका छन् ।