साझाको सेवा वीरगन्जमा पनि शुरु
साझा यातायातले आजदेखि वीरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।
गत असोज १६ गतेदेखि गोरखा र बाग्लुङमा आफ्नो सेवा विस्तार गरेको साझा यातायातले दशैमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी आजदेखि वीरगन्जमा पनि सेवा विस्तार गरेको हो ।
साझा यातायातले केही दिनमा नै भैरहवा हुँदै लुम्बिनीका लागि सेवा विस्तार हुने बताएको छ ।
दश वर्षपछि पहिलोपटक गत असोज १६ गतेदेखि साझाले आफ्नो सेवा उपत्यकाबाहिर विस्तार गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए । लामो समयपछि गत आइतबारदेखि दैनिकरुपमा काठमाडौँ—बागलुङका लागि दुई र काठमाडौँ—गोरखाका लागि दुईवटा बस चल्ने गरेका छन् ।
विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२/६३ बाट पूर्णरूपमा लामो रुटमा साझाका बस सञ्चालन हुन छाडेको थियो । झन्डै दुई हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दशैपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा भने २०७० वैशाखदेखि १६ वटा बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यकाबाहिर सञ्चालन गर्न लागेका बस उपत्यकामा सञ्चालन भइरहेका बस नै हुन् ।
सेवा विस्तार गरेको स्थानमा जानका लागि यात्रुले पुल्चोक र कलङ्कीबाट टिकट काट्न पाउनेछन् ।