ब्लगशनिवार, फाल्गुण २६, २०७४

थाहै नपाई हुन्छ थाइरोइड

डा. सुमनराज ताम्राकार

थाइरोइड ग्रन्थीमा समस्या हुने बित्तिकै लक्षण नदेखिने भएकोले यसबाट प्रभावित आधाजसोलाई आभाससम्म हुँदैन।

समुद्री खानामा प्रशस्त मात्रामा आयोडिन हुन्छ । तर, समुद्रसँग नजोडिएको नेपालमा आयोडिनयुक्त खानेकुरा र वनस्पति कम छन् । आयोडिनकै कमीले नेपालमा गलगाँड र सुस्तमनस्थितिको समस्या बढी भएकोले फेब्रुअरीलाई आयोडिन महीनाको रूपमा मनाउन थालिएको हो । यो अभियानले समस्या घटेको मानिएको छ । 

मानिसको शरीरलाई दैनिक १५० माइक्रोग्राम आयोडिन आवश्यक पर्छ । सन्तुलित भोजन र पर्याप्त पानी खाए यति आवश्यकता सजिलै पूर्ति हुन्छ । दूध, मासु, सागपात र अन्नमा थोरै भए पनि आयोडिन हुन्छ । काउली, बन्दामा हुने गोइट्रोजन नामक पदार्थले भने थाइरोइड ग्रन्थीलाई आयोडिन उपयोग गर्नबाट रोक्ने हुनाले गलगाँड जस्ता समस्या उत्पन्न हुनसक्छ ।

आयोडिनको कमीले बालबालिकामा गलगाँड, सुस्तमनिस्थिति, लठेब्रोपन, कान नसुन्ने, आँखा डेडो हुने, मांसपेशी तथा नसा कमजोर हुने, शारीरिक वृद्धि नहुने, स्मरणशक्ति कमजोर हुनेलगायतका समस्या हुन्छ ।

बालबालिकाको शरीरमा शक्ति उत्पादन, उचित मात्रामा शारीरिक तापक्रम नियन्त्रणका लागि पनि आयोडिन अति जरूरी हुन्छ । घाँटीको अगाडिपट्टि रहने थाइरोइड ग्रन्थी (रुद्रघन्टी) को लागि आयोडिन अति आवश्यक तत्व हो । थाइरोइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनले शारीरिक वृद्धि र तन्दुरुस्तीमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

अनेक लक्षण
थाइरोइड ग्रन्थी सानो भए पनि यसले शरीरभरिकै प्रणालीको कामगराइमा सामञ्जस्य ल्याइरहेको हुन्छ । यो ग्रन्थीको कम वा बढी कामगराइले स्वास्थ्यमा समस्या ल्याउँछ । थाइरोइड हर्मोनको लेभल तल वा माथि हुने बित्तिकै लक्षण नदेखिने हुँदा यो समस्या भएका आधाजसोलाई मात्र यसको आभास हुने मानिन्छ ।

पछिल्लो समय नेपालमा थाइरोइड सम्बन्धी रगत जाँच गर्ने चलन बढेकाले यो समस्यामा बढोत्तरी पाइएको छ । थाइरोइडको शंका लागे रगतमा टीएसएच नामक हर्मोन जाँचिन्छ । त्यसको परिणाममा गडबडी देखिए थाइरोइड ग्रन्थीको कामगराइसम्बन्धी अन्य जाँच गराउनुपर्छ । ९० प्रतिशत गडबडी त थाइरोइडको कम कामगराइले नै हुन्छ ।

राति मज्जाले ९–१० घण्टा सुते पनि थकान महसूस हुनु, अति आलस्य हुनु, कम खाए पनि तौल बढ्नु, मूड बिग्रनु, अवसाद हुनु, चिन्ता लाग्नु, जोर्नी र मांसपेशी दुख्नु थाइरोइड ग्रन्थीको कामगराइमा कम भएको लक्षण हुनसक्छ । थाइरोइडको कारणबाट बढेको तौल शरीरका विभिन्न भागमा पानी थेग्रिनुको परिणाम हो । त्यस्तो तौल घटाउन गाह्रो हुन्छ ।

थाइरोइडको कामगराइमा कमी भएको व्यक्तिलाई जाडो लाग्ने, हातखुट्टा चिसिने, शारीरिक तापक्रम हरदम सामान्य भन्दा कम हुने हुन्छ । त्यस्तै, छाला पहेंलिने वा सुक्खा हुने, कपाल झर्ने, नङ भाँच्चिने, हात निदाउने, झम्झमाउने, कब्जियत हुने, रगतमा कोलेस्टेरोलको मात्रा बढ्न सक्छ । त्यस्तै ध्यान केन्द्रित नहुने, स्मरणशक्तिमा क्षय हुने, घाँटी सुन्निने, घुर्ने, स्वर धोद्रो हुने समस्या पनि हुनसक्छ ।

थाइरोइड ग्रन्थीको कामगराइ बढेर हुने स्वास्थ्य समस्या (हाइपरथाइरोइडिज्म) घटेर हुने भन्दा कम हुन्छ । यस अवस्थामा मन आत्तिने, हातखुट्टा काँप्ने, मांसपेशी दुख्ने, गर्मी खप्न नसक्ने, मुटु र नाडीको चाल बढ्ने हुन्छ ।

महिलामा थाइरोइड
महिलामा थाइरोइडको समस्या र असर पुरुषको तुलनामा बढी हुन्छ । थाइरोइडकै कारण महिलाहरूमा हर्मोन घटबड भई झ्र्को लाग्ने, महीनावारी गडबडी हुने र यौनेच्छा नहुनेदेखि निसन्तान हुनेसम्मका समस्या आउन सक्छ ।

गर्भवतीको मिर्गौलाबाट थाइरोइड हर्मोनको निष्काशन बढी भएर वा गर्भे शिशु र सालमा पनि आयोडिनको खपत बढ्न गई शरीरमा आयोडिनको कमी हुनसक्छ । थाइरोइड ग्रन्थीको काम कम भयो भने गर्भमा जटिलता स्वरुप रक्तचाप बढ्न सक्छ । महीना नपुगी बेथा लाग्ने वा पाठेघरको भित्ताबाट साल छुट्टिएर बेथापूर्व नै रक्तस्राव हुनसक्छ । सुत्केरी भएपछि पनि अधिक रक्तस्राव हुनसक्छ ।

थाइरोइड समस्याले महिलाको मुटुको कामगराइमा फरकपना आउने, गर्भ खेर जाने, रक्त अल्पता हुनसक्छ । त्यसमध्ये पनि पटक–पटक गर्भ खेर जाने समस्या चिन्ताजनक अवस्था हो ।

यसकारण पनि गर्भकालको थाइरोइड गडबडीलाई हल्का तवरले लिनुहुँदैन । यो अवस्थामा उमेर एवं तौल नपुगेको बच्चा जन्मिने, शिशुको स्नायु प्रणाली विकास नहुने र गर्भभित्रै मृत्यु पनि हुनसक्छ ।

एक हजार जना गर्भवती महिलामध्ये दुई जनामा थाइरोइड ग्रन्थीको कामगराइ बढ्ने समस्या हुनसक्छ । त्यस्तो समस्या हुँदा गर्भ खेर जाने, महीना नपुग्दै बेथा लाग्ने, गर्भे शिशुको तौल कम हुने, गर्भवती महिलाको मुटु फेल खाने हुन सक्छ । गर्भमा राम्रो भ्रूण वा शिशु हुनुपर्ने ठाउँमा अंगुरको दाना जस्तो मोलार देखिन सक्छ ।

गर्भावस्थामा थाइरोइडको समस्या देखा पर्‍यो भने त्यो पहिल्यै थियो या पछि आयो भनेर निक्र्योल गर्नुपर्छ । जन्मिएलगत्तै शिशुको पनि रगतमा थाइरोइडको जाँच गर्नुपर्छ ।

रोकथाम र व्यवस्थापन
नेपालमा आयोडिनको भरपर्दो स्रोत आयोडिन मिसाइएको नून नै हो । त्यसकारण ढिके वा बोराको नून होइन, प्याकेटको आयोडिनयुक्त नून प्रयोग गर्नुपर्छ । खानालाई धेरै पकाउँदा वा पटक–पटक तताउँदा आयोडिन नष्ट हुनेमा ध्यान दिनुपर्छ ।

थाइरोइड ग्रन्थीलाई स्वस्थ राख्न आयोडिन बाहेक जिंक, सेलेनियम, आइरन, भिटामिन डी र बी युक्त (मल्टिभिटामिन) खानेकुरा पनि खानुपर्छ । क्लोराइड, फ्लोराइड तथा ब्रोमाइडयुक्त खानेकुरा भने भरसक परहेज गर्नुपर्छ ।

थाइरोइड समस्याले गर्भावस्थामा घातक असर पुर्‍याउने प्रमाणित भइसकेकोले बेला–बेला थाइरोइड हर्मोन परीक्षण गराउनुपर्छ । थाइरोइड समस्याको शंका भएका महिलाले विशेषज्ञसँग परामर्श लिएर मात्र गर्भ आउन दिनु उपयुक्त हुन्छ ।

 

प्रतिकृया दिनुहोस