ब्लगबिहिवार, फाल्गुण २४, २०७४

पहिलो विद्युतीय शवदाह यन्त्र

कनकमणि दीक्षित

नेपालको पहिलो विद्युतीय शवदाह यन्त्र, जुन कहिल्यै प्रयोगमा आएन । तर आज समय परिवर्तन भएको छ । पशुपतिमा योभन्दा धेरै ठूलो शवदाह गृह चल्तीमा आएकै पाँच वर्ष भइसक्यो । ‘संस्कृति विरोधी’ भन्नेहरूको आवाज विलीन भइसक्यो ।

टेकूको पचली मन्दिरबाट कालोपुल जाने बाटाको दक्षिणपट्टि अनौठो सानो कोठे साइजको फलामे बाकस देखिन्छ । छेउबाट पाइप पनि जडान भएको यो कुनै औद्योगिक उत्पादनको यन्त्र जस्तो लाग्दछ । यो के हो, कसरी यहाँ आइपुग्यो भन्ने कुरा छेवैबाट दिनहुँ हिंड्ने/गुड्नेलाई थाहा हुने कुरै भएन । न चियोचर्चा– केही होला नि भनेर छाडिदिने हाम्रो चलन नै छ । 

यो फलामे ‘बाकस’ को आफ्नै रोचक इतिहास छ । सडक विस्तार र भवन वृद्धिको क्रममा ‘बाकस’ कबाडीखाना पुग्नु अगाडि यसबारे सानो चर्चा गरौं ।

पाठकले गएरै यसको ‘दर्शन’ गरे त झनै राम्रो ! वास्तवमा यो ‘बाकस’ को अवशेषले एकातिर दशकअघिको उच्चतम सामाजिक सोच दर्शाउँछ भने अर्कोतर्फ सर्वत्र देखिने ‘शहरपिता’ हरुको अकर्मण्यता ।

तस्वीरहरुः कनकमणि दीक्षित

कुरा करीब ३५ वर्षअघिको हो, जतिबेला कमल चित्रकार काठमाडौं नगर पंचायतका प्रमुख थिए । उनले सोचे– आधुनिकता उन्मुख काठमाडौंमा विद्युतीय शवदाह गृह चाहियो । त्यसको लागि चाहियो एउटा भवन अनि जलाउने ‘अभन्’, जहाँ बिजुलीले शवलाई केही बेरमै खरानी बनाउँदछ । चित्रकारले टेकू घाट नजिक मजबूत भवन बनाउन थाले अनि कलकत्ताबाट शव जलाउने ‘अभन्’ ल्याउने चाँजोपाँजो पनि मिलाए ।

भवन निर्माण सकियो, यन्त्र पनि आयो । अनि मैले सुनेसम्म दुई कुरा भयो त्यतिबेला । एकातर्फ संस्कृति विरोधी कार्य भयो, लासलाई खुला चितामा जलाउने परम्परा तोडेर प्रधानपञ्चले अनिष्ट गर्न आँटे भन्ने आवाज उठ्यो । अर्कोतर्फ भवन निर्माणमा प्राविधिक त्रुटिका कारणले गर्दा ‘अभन्’ लाई शवदाह गृहभित्र छिराउनै सकिएन । 

कुरा त्यतिकै रह्यो, शवदाह गृहको योजना अगाडि बढेन । अभन्‌लाई सडकछेउ यसै मिल्काइयो । र, आजसम्म हामीलाई विगतका आकांक्षा र कमजोरी सम्झाउँदैछ पचलीघाट सडकछेउ लावारिस यो यन्त्रले ।

यो फलामे बाकसलाई कबाडीखानामा लगेर टुक्रा टुक्रा पार्नुभन्दा पशुपतिको विद्युतीय शवदाह गृहकै एउटा कुनामा ‘म्युजियम पिस’ जस्तो गरी प्रदर्शनमा राखे राम्रो हुनेथियो ।

कुनैबेला घरविहीनले यो यन्त्रलाई सुरक्षित ओत बनाए । गत साता यो पंक्तिकार त्यहाँ पुग्दा भित्रपट्टि तखता र टोकरीलगायत विभिन्न सामग्री थुप्रिएका थिए । छेउमा डोजर चलिरहेको थियो, अस्थायी टहराहरू भत्काउँदै । लाग्यो, यो बाकसको मौन उपस्थिति पनि अब धेरै टिक्नेवाला छैन । खिचें तस्वीर ।

यही हो नेपालको पहिलो विद्युतीय शवदाह यन्त्र, जुन कहिल्यै प्रयोगमा आएन । तर आज समय परिवर्तन भएको छ । पशुपतिमा योभन्दा धेरै ठूलो शवदाह गृह चल्तीमा आएकै पाँच वर्ष भइसक्यो । ‘संस्कृति विरोधी’ भन्नेहरूको आवाज विलीन भइसक्यो ।

आज हामीले सम्झे हुने, प्रधानपञ्च उनै चित्रकारलाई, जसले साढे तीन दशक अगाडि नै उपत्यकावासीलाई आधुनिक शवदाह गृह आवश्यक पर्दैछ भनेर बुझे । प्रयोगमा आएन, त्यो अर्कै कुरा ।

र, यो फलामे बाकसलाई कबाडीखानामा लगेर टुक्रा टुक्रा पार्नुभन्दा पशुपतिको विद्युतीय शवदाह गृहकै एउटा कुनामा ‘म्युजियम पिस’ जस्तो गरी प्रदर्शनमा राखे राम्रो हुनेथियो । साना, ठूला कुरा र सोच सबै हाम्रो शहरी इतिहासका पाटा हुन् । यो फलामे बाकस पनि हो ।

प्रतिकृया दिनुहोस