धुलिखेल महोत्सव शुरु
काठमाडौं-धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि धुलिखेल महोत्सव शुरु भएको छ । 'विकास, सुशासन र अग्रगमनको आधार: नेपालको आर्थिक समृद्धिको बहार' नाराका साथ महोत्सव धुलिखेल रङ्गशालामा आयोजना भइरहेको हो ।
महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायत सेवा र वस्तुका १५० भन्दा बढी स्टल रहेको संघका अध्यक्ष मञ्जुकुमार कोजूले जानकारी दिएका छन् ।
मेलामा प्रदेश नम्बर ३ का लगायत राष्ट्रिय तथा वहुराष्ट्रिय उद्योग व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता छ ।
महोत्सवको मुख्य आकर्षण जिल्ला स्तरीय कृषि, पर्यटन र हस्तकलाका सामाग्री छन् ।
मेलाका अवसरमा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रियासमेत हुने अध्यक्ष कोजूले बताए ।
कृषि, पर्यटन, काभ्रे जिल्लाको औद्योगिक र व्यापारिक तथा व्यापार क्षेत्रमा व्यवस्थित वजारीकरण र आधुनिकीकरण गर्न एकै थलोमा उत्पादक, उत्पादन, उपभोक्ता, कृषि उपज विक्रेताहरु, सेवाहरु, व्यापारीहरु, घरेलु तथा साना उद्योगीहरु र सरोकारवालाहरुसँग सिधै सम्पर्क गर्न अहिले आयोजना भइरहेको महोत्सव महत्वपूर्ण रहने अध्यक्ष कोजूको दावी छ ।
महोत्सवलाई आकर्षक वनाउन चित्रकला प्रदर्शनी, विज्ञहरुसंगको अन्तरक्रिया र काभ्रे जिल्लाको विभिन्न गतिविधि (इतिहास, शिक्षा, स्वास्थ, पूर्वाधार, कला संस्कृति, जीवनशैली आदि) झल्कने फोटो प्रदर्शनी पनि गरिने छ ।
महोत्सवमा विभिन्न खेलको प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय सांस्कृतिक तथा अन्य प्रतियोगिता, खाना पकाउने प्रतियोगिताहरुको साथै साईकल र्याली, स्थानीय सास्कृतिक झाँकी प्रदर्शनी भइरहेको छ । महोत्सवमा करिव ५ करोडको कारोवार हुने संघको अनुमान छ ।
धुलिखेल उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको महोत्सवको जिल्ला समन्वय समिति काभ्रे, धुलिखेल नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, काभ्रे उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल संघ काभ्रे आयोजक छन् ।
त्यस्तै ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा तथा नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र, जिल्ला कृषि विकास कार्यालय काभ्रे, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय काभ्रे, जिल्ला पशुसेवा कार्यालय काभ्रे, धुलिखेल समाज काठमाण्डौ, सेफ एसोसिएसन काभ्रे, वनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोवुद्ध नगरपालिका, मण्डन देउपुर नगरपालिका, पनौती उद्योग वाणिज्य संघ, नमोवुद्ध उद्योग वाणिज्य संघ र पाँचखाल उद्योग वाणिज्य संघ सहआयोजक छन् ।