रिपोर्टबिहिवार, फाल्गुण २४, २०७४

‘बिचरा भन्ने दिन गए !’

सविता श्रेष्ठ

कृषि र घरेलु उद्यमबाट पर निजामती, प्रहरी, सेना, स्वास्थ्यसँगै राजनीतिमा पनि महिलाको उपस्थिति बलियो बन्दैछ ।

दाङकी सरस्वती चौधरी (४६) ले हस्तकला उद्योगमा काम थालेको १३ वर्ष भयो । तीन सन्तान हुर्किएर स्कूल जान थालेपछि श्रीमान्‌ले नै उनलाई बाहिर काम गर्न प्रोत्साहित गरे ।

अहिले श्रीमान् साउदी अरबमा छन् । श्रीमान्–श्रीमती दुवैको कमाइले बल्लतल्ल खर्चको जोहो हुने गरेको बताउँदै उनी भन्छिन्, “थोरै बचत पनि गरेका छौं ।” काठमाडौं, बल्खुकी आकृति श्रेष्ठ (२६) पनि हस्तकला उद्योगमै काम गर्छिन् । कमाएर अभिभावकलाई सहयोग गर्न सकेकोमा उनी खुशी छिन् ।

जरीना बज्राचार्य । तस्वीरहरुः बिक्रम राई

कुनै बेला चूलाचौकामै सीमित नेपाली महिलामा घरबाहिर निस्किएर काम गर्ने प्रवृत्ति बढेको छ । काममा जान थालेसँगै महिला आर्थिक रूपमा सक्षम बन्न थालेका छन् । निजामती कर्मचारी, प्रहरी, सेना, स्वास्थ्यसँगै राजनीतिमा पनि महिलाको उपस्थिति बाक्लिंदो छ ।

ललितपुरका निलाञ्जना शाक्य, जरिना बज्राचार्य र सरस्वती शाक्य ‘क्लासमेट’ हुन् । ३९ वर्षका उनीहरूबीच अर्को समानता पनि छ, सुनचाँदीका गरगहना बनाउने सीप । स्कूल सकिएपछि पसलमा अभिभावकलाई सघाउने क्रममा सिकेको त्यही सीप नै अहिले आत्मनिर्भरताको साधन बनेको छ ।

शारदा रिजाल ।

निलाञ्जनाले ६ वर्षदेखि पाटनमा देवी ज्यासः पसः सञ्चालन गरिरहेकी छिन् । अर्डर लिने, डिजाइन बनाउने सबै आफैं गर्छिन् । फिनिसिङका लागि मात्र अरूलाई दिन्छिन् । “जानेकै यही थियो, त्यसैले यही पेशा शुरू गरें” उनी भन्छिन् ।

भाइ बज्राचार्य एण्ड सन्सकी सञ्चालिका जरिना कालिगड पनि हुन् । उनले पनि माइतीमा नै सिकेको सीप व्यवसायमा प्रयोग गरेकी छिन् । “पसलमा बसेर मात्र हुँदैन, व्यवसायको सबै काम जान्नुपर्छ” उनी भन्छिन्, “कालिगडको सीप जान्दा डिजाइन, बुट्टाबारे ग्राहकलाई बुझाउन सजिलो भएको छ ।”

ललितपुर सुनचाँदी व्यवसायी संघमा काम गरिरहेकी सरस्वती भने बिहान, बेलुकी घरमै चाँदीका गहना बनाउँछिन् । प्याख औंठी, बाला, प्युचा, माकसी बनाउने उनी नयाँ डिजाइन बारे तालिम पनि लिइरहेकी छिन् । “यही सीपले आत्मनिर्भर बनाएको छ”, उनी भन्छिन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार सुनचाँदी व्यवसायलाई महिलाले नै धानेको बताउँछन् । “देशभरमा करीब २५ हजार सुनचाँदी व्यवसायी छन्” उनी भन्छन्, “सेल्स गर्ल मात्र नभएर कालिगडमा समेत महिलाको बोलवाला छ ।”

महिला उद्यमी महासंघकी अध्यक्ष शारदा रिजाल थोरै लगानीमा सञ्चालित साना उद्यमले महिलालाई आत्मनिर्भर बनाइरहेको बताउँछिन् । महासंघमा ३० जिल्लाका करीब तीन हजार उद्यमी आबद्ध छन्, जसमध्ये धेरै महिला हस्तकला उद्यममा सहभागी छन्् । त्यसबाहेक कृषि, कृषिमा आधारित उत्पादन, शिक्षा र सेवा क्षेत्रमा समेत महिलाको उपस्थिति बढेको छ ।

घरमै गरिने भएकोले पनि हस्तकला उत्पादनमा महिला सहभागिता बढी छ । हस्तकलाका सामग्री उत्पादनमा ६० प्रतिशत महिलाकै सहभागिता रहेको नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य बताउँछन् । गाउँ–गाउँमा महिलालाई नै लक्षित गरी हस्तकलाको सीप सम्बन्धी तालिम सञ्चालन गरिएकाले महिला सहभागिता बढेको शाक्यको भनाइ छ ।

राजनीतिमा छलाङ
निजामती सेवामा समावेशीकरणको व्यवस्था लागू भएपछि महिलाको संख्यामा वृद्धि भएको छ । २०६६/६७ देखि २०७३/७४ सम्म सात वर्षको अवधिमा २६ हजार १०६ जनाले सेवा प्रवेश गरेकोमा महिलाको प्रवेशदर ३२.८ प्रतिशत पुगेको छ ।

तथ्याङ्क विभागका अनुसार आर्थिक क्रियाकलापमा संलग्न हुने वृद्धिदर पनि पुरुषको भन्दा महिलाको नै बढी छ । २०४८ सालमा २.३० प्रतिशतले आर्थिक क्रियाकलापमा पुरुष सहभागिता बढेकोमा महिला २५ प्रतिशतले बढेका थिए ।

२०५८ मा ३६.५० प्रतिशतले पुरुषको सहभागिता बढ्दा महिलाको प्रतिशत ५७.४० प्रतिशत रहेको थियो । २०६८ मा १.५६ प्रतिशतले पुरुषको सहभागिता बढेकोमा महिलाको सहभागिता वृद्धिदर ८.११ प्रतिशत रहेको छ ।

अन्तरिम संविधान २०६३ ले राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेपछि राजनीतिमा महिला प्रतिनिधित्व ह्वात्तै बढ्यो ।

सरस्वती शाक्य ।

स्थानीय तहको निर्वाचन २०७४ मा स्थानीय तह प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य उम्मेदवार बनाउनुपर्ने र सदस्यहरूमा दुई महिलामध्ये एक दलित राख्नैपर्ने व्यवस्थाले महिलाको पहुँच थप स्थापित बन्न पुग्यो । स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभामा महिला सहभागिता ४०.७९ प्रतिशत रहेको छ । यी तीन तहमा १४ हजार ६५२ जना महिला छन् ।

महिला अधिकारकर्मी चाँदनी जोशी महिलाको बिचरा भन्ने दिन गएको बताउँछन् । पुरुषले मात्र गर्ने भनिने ‘नन ट्रयाडिसनल’ कार्यहरूमा समेत महिलाको सहभागिता हुन थालेको बताउँदै उनी भन्छिन्, “पुरुषको तुलनामा पछाडि नै भए पनि अवसरको सदुपयोग गर्दै नेपाली महिला लम्किइरहेका छन् ।”

त्यसो त घरबाहिर काम गर्न थालेसँगै महिलामा दोहोरो जिम्मेवारी थपिएको छ, जसमा उनीहरूमा भार थपिएको छ । “घरभित्रका काम महिला, पुरुषले बाँडेर गर्ने प्रचलन बसिसकेको छैन, यस्तो अभ्यास बढाइनुपर्छ”, जोशी भन्छिन् ।

 

प्रतिकृया दिनुहोस