ब्लगबिहिवार, फाल्गुण २४, २०७४

साथी बन्न सक्छु?

रविन गिरी

पुरुषले जति नै लैंगिक दुःख झेल्नु परे पनि त्यो महिलाको भन्दा कमै हुने भएकाले लैंगिक न्याय स्थापनामा पुरुषको दायित्व बढी छ।

भारतको राजधानी नयाँदिल्लीमा १६ डिसेम्बर २०१२ मा चिकित्साशास्त्रकी विद्यार्थी २३ वर्षीया ज्योति सिंहमाथि भएको सामूहिक बलात्कारको विषयमा बीबीसीले बनाएको वृत्तचित्र 'इन्डियाज् डटर्स' यतिबेला चर्चामा छ।

वृत्तचित्रमा बलात्कारीमध्येका एक मुकेश सिंहले भनेका छन्, 'रातिराति हिंड्ने केटी नै खराब हुन्, त्यस्तालाई यस्तै सजाय दिनुपर्छ, चूपचाप सहेकी भए त्यो केटी पनि मर्ने थिइन...।' 

नेपालमा वार्षिक ५२५ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भइरहेका छन्। सबै घटनाको उजुरी प्रहरीमा पुग्दैन। हामीकहाँ दैनिक तीन वटा बलात्कार भइरहेको महिला अधिकारको क्षेत्रमा काम गरिरहेका 'एक्टिभिष्ट' हरूको अनुमान छ।

यो अनुमान मात्रैले पनि हाम्रो समाज खतरनाक बन्दै गएको नै देखाउँछ। महिलामाथि हुने हिंसाका अनेक रूप छन्। काठमाडौंमा दुई साताअघि ट्युसन पढ्न गएका दुई किशोरीमाथि एसिड आक्रमण भयो। उनीहरूको उपचार भइरहेको छ, आक्रमणकारीको पहिचान हुनसकेको छैन। उसले पढ्न बसेका किशोरीहरूलाई किन एसिड छ्याप्यो, प्रष्ट भएको छैन।

मानवशास्त्री सुरेश ढकाल यतिबेला हामी 'बिरामी समाज' मा बसिरहेको बताउँछन्। बलात्कारमा होस् या एसिड आक्रमणमा, प्रकट भइरहेको हिंस्रक पुरुष प्रवृत्ति बिरामी समाजको उत्पादन हो। पितृसत्ताबाट पीडित समाज कहिल्यै स्वस्थ हुन नसक्ने मानवशास्त्री ढकाल बताउँछन्। “महिला भोग्या हुन्, तिनको बेग्लै अस्तित्व हुँदैन भन्ने पितृसत्तात्मक सोच नै बलात्कार वा एसिड आक्रमण जस्ता हिंसाका कारक हुन्” ढकाल भन्छन्।

पुरुषको 'शक्ति'
जन्मनासाथ लिंगका आधारमा 'पुरुष' उपाधि पाएको पुरुष त्यसैको आधारमा स्थापित 'शक्ति' को बलमा महिलामाथि राज गरिरहेको छ। पुरुसत्वबारे अध्ययन गरेका डा. सञ्जीव उप्रेती यसलाई पुरुषले जन्मँदै पाएको 'संरचनात्मक लाभांश' भन्छन्।

पुरुषलाई शक्तिशाली र महिलालाई कमजोर बनाएको समाज निर्मित विचारधाराबाट पुरुषमा अनेक प्रवृत्ति विकास भएको छ। “पुरुषलाई पुरुष भएकैले सबै अधिकार स्वतः आए जस्तो लाग्छ”, उप्रेती भन्छन्, “मानौं, सूर्य पूर्वबाट उदाएर पश्चिममा अस्ताउनु र महिलामाथिको अधिकार प्राकृतिक हुन्।”

पितृसत्ता पीडित समाजमा पुरुषले गरेको सामाजिक परिभाषामा नारी सहायक भूमिकामा मात्र उपयुक्त ठहरिए। कमजोर नारीले बेलाबेला आफ्नो भूमिका खोज्ने प्रयास गरिन्, तर सफल भइनन्।

निरन्तरको असफलतापछि केही नारीलाई लाग्यो, यही नै आफ्नो 'भाग्य' हो। र, केहीले पितृसत्तात्मक विचारधारालाई नै वरण गरे। पुरुषको शक्तिलाई जस्ताको तस्तै राख्नमा यस्ता नारीको पनि अहम् भूमिका रहेको डा. उप्रेती बताउँछन्।

कुनै घरमा बुहारीप्रति ससुरा उदार हुन्छन्, सासूले शोषण गर्छिन्। कतिपय आमाहरू 'छोरा भनेको रनवन गर्ने, बाहिरै काम गर्ने जात हो' भन्छन्। कोही 'श्रीमती पाल्न नसक्ने भए, किन बिहे गर्नु?' भन्दै श्रीमान्को अगाडि आफूलाई कमजोर प्रस्तुत गरिरहन्छन्।

महिलाको कुरा सुनिदिने, काममा सघाइदिने पुरुषलाई जोइटिंग्रे/स्त्रीलम्पटको आरोप लगाइन्छ। “यस्ता नारीहरूले भित्रैबाट पितृसत्तालाई वरण गरिसकेका हुन्छन्, उनीहरूलाई त्यसबाट बाहिर निस्कन कठिन भइरहेको छ”, डा. उप्रेती भन्छन्।

चार दशकदेखि महिला सशक्तीकरणको क्षेत्रमा क्रियाशील अधिकारकर्मी चाँदनी जोशी यो मनोविज्ञानलाई अस्वीकार गर्दिनन्। उनको विचारमा, पितृसत्तात्मक विचारधाराबाट निर्मित आजका पुरुषका कतिपय सोच नारी प्रगतिको बाधक हो भने पितृसत्ता र भाग्यवादको आन्तरिकीकरणबाट बाहिर ननिस्कनु नारीको कमजोरी।

“पितृसत्तात्मक सोच बोकिराख्ने पुरुषसँगको लडाइँ विस्तारै–विस्तारै जितिंदैछ”, जोशी भन्छिन्, “भाग्यवाद र पितृसत्ताको आन्तरिकीकरणको समस्यामा भने कमै उपलब्धि हासिल भएको छ।”

नारी कसरी स्वतन्त्र–शक्तिशाली हुनसक्छिन् त? सम्पत्तिमा महिलाको स्वामित्वलाई यो दिशामा सबभन्दा महत्वपूर्ण ठान्छन्, मानवशास्त्री ढकाल। नारीहरू आर्थिक रूपमा सबल नभइञ्जेल अरू परिवर्तनको खासै अर्थ–असर नहुने ढकाल बताउँछन्। “नारीमा आर्थिक सबलता आएपछि पितृसत्ताको जग हल्लिन्छ र सामाजिक न्यायसहितको राज्य स्थापना हुन्छ”, ढकाल भन्छन्, “अरू अधिकारका कुरा हल्लाखल्ला मात्र हुन्।”

पुरुषका 'दुःख'
पितृसत्तात्मक समाजमा महिला भएर जन्मेका मान्छेहरूलाई कमजोर र दुःखी बनाइएको छ। शक्तिशाली पुरुष चाहिं सुखी छन् त? यसको उत्तर पनि नकारात्मक नै छ। पुरुषका पितृसत्ता सिर्जित आफ्नै दुःख छन्। कहिलेकाहीं पुरुषहरू आफ्नो त्यो दुःख बिर्सन पनि हिंस्रक बन्छन्।

आफैंमा बहादुर हुनुपर्ने, देश–परदेश जतासुकै गएर, जेसुकै गरेर भए पनि परिवार पाल्न आर्जन गर्नुपर्ने, नरुने मात्र होइन, बाबु बन्नैपर्ने, पत्नीलाई यौन सन्तुष्टि दिनसक्ने क्षमता राख्नैपर्ने आदि पितृसत्तात्मक समाजले थोपरेका पुरुषका दुःख हुन्।

समाज अनुसार, फरक–फरक योग्यता र क्षमताको अपेक्षा पुरुषबाटै गरिन्छ। पितृसत्तामा महिलाले घर सम्हाल्ने, बालबच्चा जन्माउने–हुर्काउने र पुरुषले भनेको माने पुग्छ। यस्तो सामाजिक चिन्तनको अपेक्षाले पुरुषलाई जहिल्यै 'पुरुष' प्रमाणित हुने दबाबमा राख्छ।

त्यो खाले पुरुषत्वमा पराजित पुरुषको मानसिकता सबभन्दा हीन अवस्थामा पुग्ने डा. उप्रेती बताउँछन्। “बुढेसकालका पुरुषको सबभन्दा ठूलो चिन्ता नै आफ्नो सबैखाले पुंसत्व पराजित भएकोमा हुन्छ”, उप्रेती भन्छन्, “तर, पुरुषका जतिसुकै दुःख भए पनि महिलाको पीडा अघि कमै हुन्छन्।”

सन् ९० को दशकसम्म महिला सशक्तीकरणका क्षेत्रमा गरिएका लगानीले पुरुषको दुःखलाई बेवास्ता गर्दा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको मानियो। त्यसपछि महिला आन्दोलनमा पुरुष साझेदारीको अवधारणा आयो।

पुरुषको सहयोग विना महिलाको विकास दीर्घकालीन नहुने अधिकारकर्मी चाँदनी जोशी बताउँछिन्। “एकोहोरो महिला–महिला भन्नु भन्दा पुरुषमाथिको सामाजिक दबाब–दुःख र उनीहरूको साझेदारीप्रति ध्यान दिइनुपर्छ”, जोशी भन्छिन्।

पुरुषको 'दुःख' प्रति संवेदनशील नहुँदा पुरुषहरू झ्नै संक्रमणमा फँस्दै गएका छन्। अधिकारकर्मी जोशी महिलाको भन्दा औसत आयु कम हुनुमा पुरुषमाथिको सामाजिक–मानसिक दबाबको भूमिका रहेको हुनसक्ने बताउँछिन्।

एकोहोरो महिला सशक्तीकरण आन्दोलनले पुरुषको मानसिकतालाई जहाँको त्यहीं राख्न सक्ने खतरा उनी देख्छिन्। आजका अधिकारमुखी महिलाप्रति कसरी व्यवहार गर्ने भन्ने पुरुष मानसिकता निर्माण नहुँदा समस्या उत्पन्न भएको विश्लेषण आफ्नो ठाउँमा छँदैछ।

पितृसत्तात्मक विचारधारामा पुरुष–महिला सम्बन्ध 'लोग्ने–स्वास्नी' को हुन्छ। तर, पुसत्वका अध्येता डा. उप्रेती श्रीमान्–श्रीमती सम्बन्ध साथी–साथीको जस्तो नभई लैंगिक समस्या नसल्टिने बताउँछन्। डा. उप्रेती भन्छन्, “यतिबेलाको यक्ष प्रश्न भनेको हामी पुरुषले महिलाका पक्षमा के गर्न सक्छौं भन्ने हो, अलिकति घोत्लिने हो भने सुखद् परिणाम आउनेछ।”

(हिमाल खबरपत्रिकाको (२४–३० फागुन २०७१) मा प्रकाशित लेख । आज अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पुनः प्रकाशन गरिएको छ ।)

प्रतिकृया दिनुहोस