ब्लगबिहिवार, फाल्गुण २४, २०७४

महीनावारीमा प्रेम

सविना देवकोटा

महीनावारीप्रति पुरुष थोरै मात्र संवेदनशील भइदिए पनि पीडा कम हुने रहेछ ।

‘दिदी, तपाईंलाई गाह्रो भएको हो ?’ बसमा बसिरहेका युवकले सोधे ।

ती दिदीको छेवैमा म उभिइरहेकी थिएँ । उनको एउटा हात पेटमा र टाउको सिटको डण्डीमा थियो ।

एकछिनसम्म पनि दिदीको जवाफ आएन । तर, युवकले जवाफ कुरिबसेनन् । ‘बस्नुस् तपाईं, म उभिन्छु’ उनले सिट छाडिदिए ।

युवकको घरमा आफ्नै दिदी छन्/छैनन् थाहा थिएन । तर, उनले ती अपरिचितलाई आफ्नै दिदीलाई झै व्यवहार गरे ।

मलाई ग्लानि पनि भयो, छेवैमा उभिइरहेकी दिदीलाई पेट दुख्दा ती युवकले भन्दा पहिले मैले पो थाहा पाउनुपर्ने !

एकजना दिदीको भर्खरभर्खरै विवाह भएको थियो । नवविवाहित जोडीमा पक्कै पनि अनेकौं कौतुहल थिए ।

केही कौतुहल मेरा पनि थिए शायद । उहाँहरूको विवाहपछिको अनुभव म एकाग्र भएर सुनिरहेकी थिएँ ।

बिहेपछि पनि दिदीलाई महीनावारीका बेला पेट र ढाड उस्तै दुख्दोरहेछ । दिदी छट्पटिएको देखेर भिनाजु पहिलोपटक महीनावारी बारे साक्षर भएका रहेछन् । यस्तो सुनिरहँदा म आश्चर्यमा परें ।

भिनाजु भन्दै थिए रे– ‘घरमा आमा, दिदी बहिनी सबै महीनावारी हुन्थे । तर मैले कहिल्यै उनीहरूलाई पेट दुखेको, गाह्रो भएको थाहा पाइनँ । घरको कुरा घरभित्रै भएर पनि कहिल्यै थाहा भएन । महीनावारी बारे स्कूलमा पढाइ पनि हुन्थ्यो । तर पढेको कुरा घरमा दिदीबहिनीलाई हुन्छ भन्ने दृष्टिकोण कहिल्यै पलाएन !’

कक्षाकोठामा पढिने महीनावारीले जैविक परिभाषा मात्र दिंदो रहेछ । अन्ततः विवाहपछि मात्रै महीनावारीले बोकेको सांस्कृतिक परिभाषा र कर्तव्य बुझेको भिनाजुको निष्कर्ष थियो ।

दिदी भन्दै थिइन्– अहिले आफूलाई महीनावारी भएको थाहा पाएपछि भिनाजु कहिले हट वाटर ब्याग तताउन त कहिले बिरे नुनपानी पकाउन भान्सा छिरिहाल्नुहुन्छ रे ।

स्कूल पढ्दाको कुरा हो । महीनावारीका बेला अधिकांश केटी साथीहरूलाई पेट दुखेकै हुन्थ्यो । हामी छलफल गथ्र्यौं– के गर्दा दुख्न कम हुन्छ ?
कोही ‘पेन किलर’ खान्थे । कोही घोप्टो परेर सुत्थे । कोही रुन्थे, रुँदारुँदै निदाउँथे ।

एकजना साथीलाई भने पेट दुखेको बेला ढाडमा सिरानी राखेर सुत्नुपर्छ भनेर दाइले सिकाएका रहेछन् । “ढाडमा सिरानी राखेर सुत्नु, रगत बग्न सजिलो हुन्छ”, बहिनीले महीनावारीमा पीडा भोगेको देखेपछि दाइले इन्टरनेटमार्फत यो तरिका थाहा पाएका रहेछन् ।

नभन्दै सिरानी ढाडमा राखेर सुत्दा धेरै सजिलो हुँदोरहेछ । मैले पनि अनुभव गरें ।

महीनावारीमा पेट दुखेर खप्न गाह्रो भएर म अचेत हुन्थें । दुखेको पेट हल्का हुन्छ कि भन्दै मिनेटैपिच्छे ट्वाइलेट जाँदाजाँदै शरीर चिसो भएर आउँथ्यो । न राम्ररी काम गर्न सक्थें, न सुत्न । त्यस्तो बेला बुवाले मलाई नजिकै सुताउनुहुन्थ्यो । त्यसपछि भने शरीर बिस्तारै तातेर रगत बग्न सजिलो हुन्थ्यो ।

फेसबूक चलाइरहेकी थिएँ । छिमेकी अङ्कलले छोरी पहिलोपटक महीनावारी भएको उपलक्ष्यमा घरमा स–सानो उत्सव नै मनाएको तस्वीर राखेका रहेछन् ।

म दङ्ग परें ।

महीनावारी हुनु भनेको महिलामा निहित प्रजनन् क्षमताको जैविक प्रष्फुटन न हो । त्यस्तो प्रष्फुटन जसले जगतमा मानव सृष्टिको निरन्तरताको सुनिश्चितता गर्छ । शारीरिक पीडा त छँदैछ र पनि महीनावारीको पीडालाई उत्सवका रूपमा मनाउने र मनाउन प्रेरित गर्ने योभन्दा उपयुक्त उदाहरण मेरा लागि अरू शायदै हुन सक्थ्यो ।

सार्वजनिक बसमा, घरमा, बाटोमा दाजुभाइ, बुवा, अंकलले महीनावारी बुझिदिएको थोरै मात्र महसूस हुने हो भने मात्र पनि भावुक भइँदोरहेछ ।

प्रतिकृया दिनुहोस