रिपोर्टबिहिवार, फाल्गुण २४, २०७४

घाम ताप्ने कि रोग पाल्ने

मन्द महामारी बन्दैछ ‘भिटामिन–डी डिफिसेन्सी’

सविना देवकोटा

बदलिंदो शहरी जीवनशैलीका कारण भुसको आगो झैं फैलिएको ‘भिटामिन डी डिफिसेन्सी’ को महामारीबारे न जनता सचेत छन् न त सरकार नै।

विनिता वली, मोडलिङमा आधारित । तस्वीरः बिक्रम राई ।

तनहुँ, दमौलीकी ६२ वर्षीया जयन्ती आचार्य (नाम परिवर्तन) को शरीरका विभिन्न भागका सात वटा हड्डी भाँच्चिएको देखियो । न कुनै दुर्घटना न त हाडजोर्नीको बिमार, आचार्यको परिवार आश्चर्यमा पर्‍यो ।

तर कालीमाटीस्थित स्पार्क हेल्थ होमका हाडजोर्नी रोग विशेषज्ञ डा. सुनिल पौडेलका लागि भने यो कुनै नौलो घटना थिएन । उनले आचार्यलाई तुरुन्त रगतमा ‘भिटामिन डी’ को मात्रा जाँच गर्न भने ।

नभन्दै आचार्यको शरीरमा ‘भिटामिन डी’ को मात्रा प्रति मिलिलिटर रगतमा जम्मा ७.२ नानोग्राम मात्र थियो । “प्रति मिलिलिटर रगतमा कम्तीमा पनि ३० नानोग्राम हुनुपर्नेमा बुढ्यौली लागेसँगै छालाका छिद्रहरूले घामको किरण पर्याप्त लिन नसक्दा शरीरमा ‘भिटामिन डी’ को अभाव हुने गर्छ”, डा. पौडेल बताउँछन् । 

कक्षा १० मा अध्ययनरत काठमाडौं, ताहाचलकी लसता बज्राचार्य (१७) लाई गएको कात्तिकको पहिलो सातादेखि अचानक कम्मर दुख्न र मांसपेशी पनि बाउँडिन थाल्यो । कम्मरमुनिको नसा पनि च्यापिएर हिंड्नै अप्ठेरो हुन थाल्यो ।

धेरै थरी औषधि खाँदा पनि सञ्चो नभएपछि चिकित्सकको परामर्शमा रगत परीक्षण गर्दा ‘भिटामिन डी’ कमी भएको पत्ता लाग्यो । “अधिकांश समय कक्षाकोठामै बिताउने, घाममा नहिंड्ने गरेकाले ‘भिटामिन डी’ को कमी भएको रहेछ”, लसता भन्छिन् ।

काठमाडौंका राज शाही (२८) को सानै उमेरदेखि करङको मुख्य हड्डी (स्पाइन) नै बाङ्गिन थाल्यो । कराँतेमा रुचि भएका शाहीलाई उमेर बढेसँगै घाँटीको हड्डी र करङ दुख्ने समस्या पनि थपियो । चिकित्सकको सल्लाहमा रगत जाँच गर्दा उनमा पनि ‘भिटामिन डी’ को कमी देखिएको थियो । हाल उनी फिजियोथेरापी गराइरहेका छन् ।

पछिल्लो समय मन्द गतिमा घरघरमा भित्रिरहेको, एक हिसाबले ‘मन्द महामारी’ नै बनिसकेको गम्भीर स्वास्थ्य समस्या हो– ‘भिटामिन डी डिफिसेन्सी’ अर्थात् ‘भिटामिन डी’ को कमी ।

तर विडम्बना के छ भने यो समस्या भएका अधिकांशमा आफूलाई के र किन यस्तो भइरहेको छ भन्ने सामान्य जानकारी समेत छैन । अर्थात्, समस्या जति व्यापक छ, जनचेतना त्यही अनुपातमा कम भएको देखिन्छ ।

तस्वीरः गोपेन राई ।

छालासँग घामको अल्ट्राभायोलेट बी किरणको प्रत्यक्ष स्पर्शपछि कोलेस्टेरोलमा ‘भिटामिन डी’ पैदा हुन्छ । त्यसरी बनेको ‘भिटामिन डी’ सबैभन्दा पहिले कलेजो र त्यसपछि मिर्गौलामा पुगेर सक्रिय हुन्छ । “यो भिटामिन सक्रिय नभएसम्म भित्री छिद्रहरूले क्याल्सियम लिन सक्दैनन् जसका कारण ‘भिटामिन डी’ को कमी भई खासगरी हड्डी र दाँत कमजोर हुन्छन् ।

त्यसपछि नसा र मांसपेशीमा पनि असर देखिन्छ”, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी इन्डोक्राइनोलोजिष्ट डा. ज्योति भट्टराई भन्छिन् ।

कहालिलाग्दो तथ्यांक
विश्वमै ‘भिटामिन डी’ कमीको समस्या साझा बने पनि नेपालमा भने यसबारे बृहत् अध्ययन हुनै बाँकी छ । तर, छिटपुट गरिएका अध्ययन पनि भयावहता देखाउन पर्याप्त देखिन्छन् । 

सन् २०१२ मा ललितपुरस्थित हेल्थ होम केयर सेन्टरमा आएका ५० बिरामीमा गरिएको परीक्षणमा ७८.२ प्रतिशतमा ‘भिटामिन डी’ को कमी देखिएको थियो । नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, जोरपाटीमा कार्यरत डा. सुनिल श्रेष्ठको नेतृत्वमा उक्त अध्ययन गरिएको थियो ।

डा. महेशप्रकाश भट्टको टोलीले सन् २०१४–१५ मा पोखरामा गरेको अध्ययनमा पनि ७३.६८ प्रतिशतमा ‘भिटामिन डी’ को कमी देखिएको थियो ।

स्थानीय युनाइटेड रेफरेन्स ल्याबोरोटरीमा आएका २ हजार १५८ जना बिरामीमा गरिएको सर्वेक्षणको रिपोर्ट सन् २०१६ मा इन्टरनेशनल जर्नल अफ मेडिसिन एण्ड बायोमेडिकल साइन्सेजमा प्रकाशित भएको थियो ।

चितवनमा पनि समस्या उस्तै छ । भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारार्थ आएका १०८ बालबालिका तथा किशोरकिशोरीमा गरिएको अध्ययनमा ७४.१ प्रतिशतमा ‘भिटामिन डी’ को कमी पाइएको थियो ।

जर्नल अफ चितवन मेडिकल कलेजमा छापिएको यो अध्ययन अस्पतालकी बाल चिकित्सा विभागकी प्रमुख डा. शान्ति रेग्मीको टोलीले गरेको थियो ।

नर्वेको युनिभर्सिटी अफ ओस्लोको कम्युनिटी मेडिसिन विभागले सन् २०१३ मा नेपालका दुर्गम भेगका पाँच वर्ष मुनिका २८० जना बालबालिकामा गरेको अध्ययनमा ९१.१ प्रतिशतमा ‘भिटामिन डी’ को कमी पाइएको थियो ।

अध्ययनमा पर्याप्त स्तनपान गराइएका बच्चाहरूमा भने ‘भिटामिन डी’ को मात्रा सन्तुलित देखिएको जनाइएको थियो ।

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालकी वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुभाना थापा पाँच वर्ष मुनिका बालबालिकामा ‘भिटामिन डी’ को कमी दिनप्रतिदिन बढिरहेको बताउँछिन् । “यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा असर पारिरहेको छ”, उनी भन्छिन् ।

मुलुकका अन्य शहरको तुलनामा अत्यधिक प्रदूषणका कारण काठमाडौं उपत्यकावासी ‘भिटामिन डी’ कमीको उच्च जोखिममा रहेको हाडजोर्नी रोग विशेषज्ञ डा. पौडेल बताउँछन् । काठमाडौंका प्रत्येक पाँच जनामध्ये चार जना अर्थात् ८० प्रतिशतलाई ‘भिटामिन डी’ को कमी हुनसक्ने विज्ञहरूको अनुमान छ ।

चिकित्सकहरूका अनुसार, शरीरले पर्याप्त मात्रामा ‘भिटामिन डी’ पाउन दैनिक १५ देखि २० मिनेट नाङ्गो छालामा पर्ने गरी घाम ताप्नुपर्छ । किनभने सिसा, प्रदूषण, बादल, कपडा र क्रिमले घामबाट आउने अल्ट्राभायोलेट किरण छेकिदिन्छ र शरीरबाट छिर्न दिंदैन ।

“जनघनत्व बढेसँगै थपिएका कहिल्यै घाम नपस्ने गल्लीमा अवस्थित घर, घर–अफिसको दैनिकी, छाला डढ्छ भन्दै शरीरको सबै भाग लुगाले छोप्ने र देखिने भागमा पनि ‘क्रिम’ लगाउनाले पनि मानिसलाई घामबाट टाढा पुर्‍याएको छ”, पौडेल भन्छन् ।

घामको किरणले छालाको रङ नबिगारोस् भनी विभिन्न सौन्दर्य प्रसाधनका सामग्री, खासगरी क्रिमको प्रयोग सामान्य बन्दै गएको छ । छाला राम्रो र कतिपयले गोरो देखिने लोभमा प्रायः सबै उमेरका शहरवासी त्यस्ता वस्तुमा आकर्षित छन् ।

चिकित्सकका अनुसार मेडिकेटेड क्रिम, सन प्रोटेक्सन फ्याक्टर (एसपीएफ ८) प्रयोग गर्दा मात्र पनि छालाबाट अल्ट्राभायोलेट किरण नछिर्ने सम्भावना ९८ प्रतिशत रहन्छ तर बजारमा पाइने एसपीएफ ७५, १०० सम्म पाइन्छ । यस्ता क्रिमले ‘भिटामिन डी’ प्राप्तिमा हानि मात्र पुर्‍याइरहेको छ ।

पहिले पहिले उत्तरी गोलाद्र्धका कम घाम लाग्ने रूस, क्यानाडा, अलास्का, आइसल्याण्ड, फिनल्याण्ड जस्ता देशहरूमा मात्रै ‘भिटामिन डी’ को कमी देखिने आकलन गरिंदै आए पनि पछिल्लो समय भारत, पाकिस्तान, ब्राजिल, न्युजिल्याण्ड, अष्ट्रेलियालगायत पर्याप्त घाम लाग्ने देशहरूमा पनि उल्लेख्य मात्रामा ‘भिटामिन डी’ को कमी देखिन थालेको छ ।

झण्डै डेढ शताब्दीअघि विश्व औद्योगिक युगमा प्रवेश गरेसँगै शारीरिक श्रम गर्ने अभ्यासमा मात्रै नभएर प्रकृति र घामसँगको सामीप्यतामा पनि कमी आएकाले ‘भिटामिन डी’ को मात्रा घट्न थालेको विज्ञहरूको भनाइ छ ।

सबै रोगको सम्बन्ध
अनौठो त के देखिन्छ भने, अस्पताल आएका अधिकांश बिरामीलाई आफूमा ‘भिटामिन डी’ को कमी भएको थाहै हुन्न ।

जस्तो कि, पाँच वर्षदेखि थाइरोइडको उपचार गराइरहेकी पोखराकी चण्डिका गुरुङ (४२) हाडजोर्नी दुख्ने र खुट्टा टेक्नै नसक्ने भएपछि थला परिन् । परीक्षणका क्रममा उनमा पनि ‘भिटामिन डी’ को कमी देखियो ।

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. विष्णु पहारी ‘भिटामिन डी’ को कमी भएर बिरामीहरू नआउने भए पनि परीक्षणका क्रममा अधिकांश बिरामीमा ‘भिटामिन डी’ को मात्रा न्यून भेटिने गरेको बताउँछन् । “यसले अधिकांश रोगसँग ‘भिटामिन डी’ को कमी अन्तरसम्बन्धित रहेको देखाउँछ”, उनी भन्छन् ।

विश्वव्यापी रूपमा भएका अध्ययनका अनुसार मधुमेह, मुटुरोग, दम, डिप्रेसन, हृदयघात, पक्षघात, क्यान्सर, थाइरोइड, डिमेन्सिया, अल्जाइमर्स, पार्किन्सन्स् साथै कलेजो, मिर्गाैलामा हुने रोगहरूमा ‘भिटामिन डी’ को कमी पनि जोडिएर आउँछ । यौन क्षमतामा ह्रास आउने प्रमुख कारणमध्ये ‘भिटामिन डी’ को कमी पनि एक हो ।

मनोचिकित्सक डा. सरोज वझ ‘भिटामिन डी’ को कमीकै कारण डिप्रेसन नहुने भए पनि यो रोगसँग घामको नजिकको सम्बन्ध रहेको बताउँछन् । “मस्तिष्कमा सेरोटोनिन हर्मोनको उत्पादनमा कमी भएमा डिप्रेसन हुने गर्दछ ।

तर शरीरले सूर्यको प्रकाश पर्याप्त नपाउँदा सेरोटोनिनको उत्पादन मात्रा घट्छ”, उनी भन्छन् । कतिपय अवस्थामा डिप्रेसनका बिरामीलाई औषधिभन्दा ‘भिटामिन डी’ को चक्कीले ठीक गरेको उनको अनुभव छ ।

‘भिटामिन डी’ को एक मात्र प्राकृतिक स्रोत घाम भए पनि खाद्य पदार्थबाट समेत यसको अभाव केही हदसम्म पूर्ति गर्न सकिन्छ । यो सँगै सालमन जस्ता सामुद्रिक माछा, अण्डाको भित्री भाग र चिजमा पनि ‘भिटामिन डी’ पाइन्छ ।

शरीरमा ‘भिटामिन डी’ को मात्रा न्यून भएका बेला चिकित्सकको सल्लाहबमोजिम औषधि खान सकिन्छ । यूरोप तथा अमेरिकाका घामै नलाग्ने वा अति कम घाम लाग्ने शहरहरूमा भने अधिकांश खानेकुरामा ‘भिटामिन डी’ थपेर अर्थात् फोर्टिफाइड गरेर मात्र बेचिन्छ । नेपालमा भने हालसम्म पनि यस्तो अभ्यास शुरू भएको छैन ।

‘भिटामिन डी’ को कमी भएको भन्दै गर्भवती र महीनावारी रोकिएकाहरूलाई जथाभावी क्याल्सियम र ‘भिटामिन डी’ को चक्की दिन नहुने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । “जब प्रकृतिले सित्तैंमा घाम दिइरहेको छ भने, चक्कीतिर किन लाग्ने ?” उनी भन्छिन् ।

अमेरिकाका एक नेपालीलाई ‘भिटामिन डी’ को कमी भएका बेला चिकित्सकले औषधिको साटो नेपाल गएर मज्जाले घाम ताप्नु भनी दिएको सल्लाह सम्झ्ँदै उनी भन्छिन्, “बरु ‘भिटामिन डी’ र क्याल्सियम कमी हुन नदिन भान्सामा पाइने ज्वानो, तिल र आलस प्रयोग गर्न सकिन्छ ।”

स्त्री रोग विशेषज्ञ डा. सुमनराज ताम्राकार सुत्केरी र नवजात शिशु दुवैलाई घाममा राखेर तेल लगाइदिने नेपाली परम्परा निकै वैज्ञानिक भएको बताउँछन् ।

उनका अनुसार, घामको स्पर्शबाट पैदा हुने ‘भिटामिन डी’ ले शिशुमा रोग प्रतिरोधात्मक क्षमता र हड्डीसमेत मजबूत बनाउन सहयोग पुर्‍याउँछ । “तर, यस्तो बेला पर्याप्त घाम नपाएमा ‘भिटामिन डी’ को कमीले गर्भवतीमा उच्च रक्तचाप, महीना नपुग्दै र कम तौलको शिशु जन्मने जस्ता समस्या देखिन्छ”, डा. ताम्राकार भन्छन् ।

सरकारी बेवास्ता
विश्वका धेरै देशले ‘भिटामिन डी’ को कमीबाट जोगिन नीतिसमेत बनाएका छन् । छिमेकी भारतको इन्डियन मेडिकल एसोसिएसनले दुई वर्षअघि नै ‘भिटामिन डी डिफिसेन्सी’ बारे चिकित्सकहरूलाई नै तालिम आरम्भ गर्दै ‘राइज एण्ड साइन’ अभियान नै सञ्चालन गरेको छ ।

‘भिटामिन डी’ गणना गर्ने एपदेखि घरघरमै ‘भिटामिन डी’ को जाँचका शिविर र किटसमेत बेच्न थालिएको छ । र्‍यापर बाबा सेहगलले त भिटामिन डी शीर्षकमा गीतसमेत गाउन भ्याइसकेका छन् ।

तर, नेपालमा भने सरकारी स्तरबाट कुनै नीति तथा कार्यक्रम बनाउने त परको कुरा ‘भिटामिन डी’ को कमीबारे कुनै अध्ययन–अनुसन्धानसमेत गरिएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरी सरकारी तहबाट अहिलेसम्म ‘भिटामिन डी’ डिफिसेन्सीबारे कुनै अध्ययन नभएको स्वीकार्छन् ।

हाडजोर्नी रोग विशेषज्ञ डा. चक्रराज पाण्डे ‘भिटामिन डी’ कमीबारे गहन अध्ययन आवश्यक भएको बताउँछन् । पछिल्लो समय ‘रेगुलर होल बडी चेकअप’ गर्ने प्रवृत्ति बढेको र त्यही अनुरूप चिकित्सकले ‘भिटामिन डी’ को औषधि सिफारिश गर्न थालेको प्रति चासो व्यक्त गर्दै पाण्डे भन्छन्, “त्यसैले पनि तत्काल अध्ययन आवश्यक देखिन्छ ।”

मिर्गौला रोग विशेषज्ञ डा. विष्णु पहारी अधिकांश रोगहरूमा ‘भिटामिन डी’ को सम्बन्धकै कारण पनि यसबारे जनचेतना फैलाउने लगायतका कार्यक्रम थालनी गर्न ढिला भइसकेको बताउँछन् । “यसका लागि सरकारले तत्काल छुट्टै नीति तथा कार्यक्रम ल्याउनुपर्छ”, उनी भन्छन् ।

‘भिटामिन डी’ को कमीले थुप्रै समस्या देखिन थालेपछि पछिल्लो समय काठमाडौंको वीर, शिक्षण अस्पताल, राष्ट्रिय प्रयोगशाला (टेकू) र ग्राण्डीलगायतका अस्पतालहरूले ‘भिटामिन डी’ मापन तथा परीक्षण शुरू गरेका छन् ।

अस्पतालबाहेक विभिन्न सरकारी तथा निजी प्रयोगशालामा पनि यसको परीक्षण गरिन्छ । तर, यसको परीक्षण शुल्क भने महँगो छ । शिक्षण अस्पतालमा रु.११०० मा हुने यो परीक्षण ग्राण्डीमा रु.४२०० पर्छ ।

‘घामलाई सम्मान’

आदिमकालदेखि नै सूर्यको उपासना गर्ने हिन्दू परम्परा छ । परम्पराअनुसार उदाउँदो सूर्यलाई अर्घ चढाएर मात्र दिन शुरु हुन्छ । सूर्यका सात किरणको पर्याप्त तापले मानिसको मनोबल, आत्मविश्वास र ऊर्जा वृद्धि गर्ने गर्दछ ।

शरीरका प्रत्येक कोषलाई क्रियाशील बनाउँछ । विशेषगरी मध्याह्नअघिको घाम ताप्नाले विकार हट्छ र शरीरमा स्फूर्ति बढाउँछ ।

पुसको पारिलो घाम ताप्नुपर्छ, सुत्केरी र नवजात शिशुलाई घाममा बस्नुपर्छ भन्ने हाम्रो संस्कृति निकै वैज्ञानिक छ । पौष सूर्यको महीना हो ।

२७ नक्षत्रमध्ये पुष्य (तिष्य) नक्षत्रबाट नामकरण गरिएको पौषको १५ गतेबाट विस्तारै दिन लामो र पृथ्वी न्यानो हुन थाल्छ । पौषको घामलाई यही कारण पारिलो भनिएको हो ।

वास्तुशास्त्रमा घामलाई नै केन्द्रमा राखेर घरको मोहडा र नापनक्शा तयार गरिन्छ । बिहान घाम उदाएदेखि अस्ताएसम्म घाम लाग्ने हुनाले पहाडी भेगका लागि पूर्वदक्षिण मोहडा फर्केको घरलाई शुभ मानिन्छ । ज्योतिषशास्त्रमा पनि नवग्रहमध्ये सूर्यलाई अधिपति मानिन्छ ।


गोरो हुने कि स्वस्थ ?
‘कतै मेकअप उड्छ कि, कतै घामले छाला डढ्छ कि ∕’ सिने क्षेत्रका सेलिब्रेटीहरूको सधैंको चिन्ता हो, यो । ‘गोरो छाला नै सुन्दर’ हुने गलत मनोविज्ञान सेलिब्रेटी मात्र होइन आम मानिसमा पनि गडेको छ । बजारले यसलाई प्रवद्र्धन गरिरहेको छ ।

बाहिरी सुन्दरताको बलमा टिकेको व्यावसायिक चलचित्र बजारका उत्पादन र उत्प्रेरक दुवै हुन्– अभिनेता, अभिनेत्री । अझ अभिनेता भन्दा पनि अभिनेत्री अर्थात् नायिका ‘गोरी, राम्री’ हुनैपर्ने दबाबमा पर्छिन् ।

“यसका लागि हामी जतिसक्दो घाम छल्ने कोशिश गर्छौं । अनुहार बिग्रिन्छ भन्ने डरले अत्यधिक समय घामबाट टाढै रहन्छौं”, चर्चित अभिनेत्री केकी अधिकारी भन्छिन् । 

परिणाम, ‘भिटामिन डी’ को कमी । केकीले भर्खरै मात्र पूरै शरीर चेकअप गराउँदा उनको शरीरमा ‘भिटामिन डी’ को मात्रा एकदमै कम देखियो । चिकित्सकले केकीलाई ‘सप्लिमेन्ट’ खानुभन्दा घाम ताप्न सुझाए । “त्यसैले म सकभर बिहान घाम ताप्न थालेकी छु”, उनी भन्छिन् ।

अर्की अभिनेत्री ऋचा शर्मा त दुई वर्षदेखि ‘भिटामिन डी’ को सप्लिमेन्ट र क्याल्सियमको चक्की पनि लिइरहेकी छिन् । त्यसो त उनलाई थाइरोइडको समस्या पनि छ ।

कामका सिलसिलामा घाम ताप्न समय मिलाउनै गाह्रो हुने भएकाले सप्लिमेन्ट खान थालेको बताउँदै ऋचा अहिले सहज अनुभव गरिरहेकी छिन् । “विदेशमा जस्तो फोर्टिफाइड खानेकुरा पाइने भए धेरै सजिलो हुनेथियो”, उनी भन्छिन् ।

चिकित्सक भने छालाको रङ गोरो या शरीरलाई स्वस्थ राख्नेमध्ये एउटा मात्र रोज्नुपर्ने समय आएको बताउँछन् ।

 

प्रतिकृया दिनुहोस