बैतडीमा घर, डडेल्धुरामा कर
बैतडीको तल्लोस्वराड मेलौलीका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य छन् ।
बैतडीको मेलौली नगरपालिका–८, का चार सयभन्दा बढी घरपरिवारले आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरा जिल्लामा तिर्दै आएका छन् ।
विसं २०३२ भन्दा अगाडि उक्त क्षेत्र डडेल्धुरा जिल्लामा राखिएको हुँदा अहिलेसम्म पनि डडेल्धुरामै राजश्व बुझाउँदै आएको मेलौली नगरपालिका–८ का वडासदस्य प्रेमसिंह विष्टले जानकारी दिए ।
सीमांकन गर्दा सुर्नया नदीलाई सीमाना बनाएर मेलौलीको विशालपुर क्षेत्र बैतडीमा गाभिए पनि जग्गाको नापी नहुँदा कर डडेल्धुराको भागेश्वर गाउँपालिकामा तिर्न जानुपर्ने बाध्यता रहेको छ ।
मेलौली–८ का बासिन्दालाई घरजग्गा कारोबार, कित्ताकाटदेखि जग्गा पास गर्नसमेत डडेल्धुरा नै पुग्नुपर्ने बाध्यता छ । सोही कारण स्थानीयले विद्युत्को उपयोग समेत गर्न पाएका छैनन् ।
स्थानीय बासिन्दाले बैतडी क्षेत्र ‘ख’ का प्रदेश सांसद लिलाधर भट्टलाई त्यस क्षेत्रको समस्याबारे जानकारी समेत गराएको बताएका छन् ।
आफूलाई विशालपुर बासिन्दाको समस्या थाहा हुने बित्तिकै नापी विभाग तथा जिल्ला नापी कार्यालयमा खबर गरेको र प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँग छलफल गरेको सांसद भट्टले बताए । उनले भने “समस्या समाधानका लागि पहल थालेको छु, छिट्टै समस्या समाधान हुन्छ ।” रासस