सम्पादकीयमंगलवार, आश्विन १८, २०७३

बौद्धिकको बढेको जिम्मेवारी (सम्पादकीय)

किरण नेपाल

हरेक प्रतिकुलतामा शासकीय नेतृत्वमाथि हस्तक्षेपकारी भूमिकामार्फत समाजको सन्तुलन बिग्रन नदिएको बौद्धिक समुदाय अहिले पनि बलियो छ ।

‘बौद्धिक’ शब्दले नै बुझउँछ, त्यस्तो व्यक्ति जोसँग भएको ज्ञानलाई समाजले उपयोगी ठान्छ । समाजलाई कस्तो ज्ञान उपयोगी हुन्छ भन्ने चाहिं बौद्धिक र समाजको आवश्यकताले निर्धारण गर्छ ।

बौद्धिकमा निहित ज्ञानको सरल प्रवाहबाट समाज लाभान्वित बनेको अवस्थामा ती व्यक्ति ‘पब्लिक इन्टेलेक्चुअल’ कहलिन्छन् । त्यस्ता बौद्धिकहरू समाजले अपेक्षा गरेको वा आवश्यकता परेको बेला तत्क्षण साहसपूर्वक आफ्नो धारणा दिन अग्रसर हुन्छन् ।

आफ्ना तात्कालिक र दीर्घकालीन आवश्यकताहरूको निक्र्योलका लागि समाजले बौद्धिक समुदायमार्फत सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायतका विषयमा विमर्श र हस्तक्षेपसम्मको अपेक्षा राख्छ । त्यही विमर्श र हस्तक्षेपले समाजलाई अघि बढ्न प्रेरित गर्छ, गतिशील बनाउँछ ।

संसारको ठूलो हिस्सालाई क्रमशः बहुलवादी र लोकतान्त्रिक बनाउँदै लगेको वर्षौंदेखिको आप्रवासनले वर्ण, जात, धर्म, लिंग आदिका आधारमा आधिपत्य कायम गर्न सकिने समाजका हिजोका प्रभावी चरित्रहरूलाई क्रमशः क्षीण तुल्याउँदैछ ।

यस्तै चरित्रहरूको तीव्र अन्तरघुलनबाट आउने बदलावले समाजलाई समृद्धि र अवनतिको दोबाटोमा ल्याइपुर्‍याउँछ, जहाँ बौद्धिक समुदायको मार्गनिर्देश अपेक्षित हुन्छ, जसबाट समृद्धितर्फको यात्रामा लम्कन सकियोस् । नेपाली समाज आज फेरि एकपटक यस्तै दोबाटोमा उभिएको छ ।

नेपाल एकीकरणसँगै शुरू भएको बृहत्तर सामाजिक यात्राका क्रममा राज्य निर्माणले पूर्णता पाएको छ । त्यो राज्यभित्रको समाजले ‘नेपाली’ पहिचान पाएको छ । सैन्य, प्रशासनिक, नागरिक संयन्त्रहरू स्थापित भएका छन् र नेपालीपनको विकास निरन्तर चलिरहेको छ ।

राजनीतिक आन्दोलनहरूले शासनलाई नागरिक केन्द्रित बनाएका छन् । यसरी क्रमशः बहुलवादी बन्दै गएको समाजको चरित्र शासकीय संरचना अनुसार कहिले विस्तारित त कहिले संकुचित बने पनि शासनसत्तामा आधुनिक राजनीति प्रभावी बनेसँगै नेपाली समाजको बहुलवादी चरित्र विस्तारित भएको छ, धीमा गतिमै भए पनि ।

बहुलवादी समाज विस्तारको उत्कर्षकै परिणाम थियो, २०६२/६३ को जनआन्दोलन । सामन्तवादलाई विदा गरेको त्यही जनआन्दोलनपश्चात २०४६ सालको परिवर्तनले शुरू गरेको सामेलीकरणको अभ्यासले गति लियो । त्यो प्रक्रियाको नेतृत्व बहुदलीय व्यवस्था हाँक्ने दलहरूले गरे पनि तिनलाई उत्प्रेरित गर्ने र बाध्य पार्ने काम बौद्धिकहरूले गरेका थिए ।

सार्वजनिक हितको लागि अपेक्षित भूमिका अनुसारको हस्तक्षेप गर्नु बौद्धिकहरूको चरित्र हो । तिनै हस्तक्षेपहरूको परिणाम आजको पुस्तासामु संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राज्य प्राप्त छ, सामेलीपन फक्रने अपेक्षासहित ।

हो, सामाजिक अन्तरघुलनकै बीच केही आकांक्षा र प्रतिक्रियाको लहरबाट स्थिर सामेली समाज निर्माणमा अवरोध पुगेको छ । त्यसको व्यवस्थापन हुन नसक्दा आन्तरिक सवालहरू भूराजनीतिको शिकार बन्न थालेका छन् । नेपाली समाज यतिखेर बदलावको त्यो मुकाममा छ, जहाँबाट समृद्धि र अवनतिको बाटो छुट्टिन्छ ।

बहुलवादी समाजलाई थप सामेली र समृद्ध बनाउन शुरू भएको पहिचान र अधिकारको अभियानलाई जातीयता र क्षेत्रीयताको लेप लगाएर विकृत बनाइएकाले उन्नति वा अवनति, स्थिरता वा अस्थिरता, बहुलवाद वा अधिनायकवाद– कुन हावी हुन्छ, आकलन गर्न सहज छैन ।

समाजले कस्तो कोल्टे फेर्छ भन्ने आकलन सहज नभए पनि ‘कालो बादलमा चाँदीको घेरा’ झै हरेक प्रतिकूलतामा शासकीय नेतृत्वमाथि हस्तक्षेपकारी भूमिकामार्फत समाजको सन्तुलन बिग्रन नदिएको बौद्धिक समुदाय अहिले पनि बलियो छ ।

हो, समाजमा मौन संस्कृति पन्पिएको छ । आलोचनात्मक चेत देखाउने नागरिक र संस्थाहरूलाई निशाना बनाइँदैछ । र पनि, समाजले बौद्धिकहरूको कुरा सुनिरहेकै छ, बौद्धिकहरूले पनि आफ्ना कुरा भन्न, लेख्न छाडेका छैनन् ।

२०६७ सालमा ‘विद्रोहबाट सत्ताकब्जा’ को उद्देश्यसहित राजधानी घेराउ गरेको माओवादीको सर्वसत्तावादी रणनीति विफल पार्ने बौद्धिकहरू नै थिए, जो आज पनि बेथिति, समानान्तर राज्य सञ्चालनको अभ्यास र मौन संस्कृतिविरुद्ध आवाज उठाइरहेकै छन् ।

यस हिसाबले भन्न सकिन्छ व्यवस्था परिवर्तनपछिको सामाजिक अध्यायमा बौद्धिकहरुको जिम्मेवारी बढेको छ र बढेको जिम्मेवारीप्रति बौद्धिक तप्का सचेत पनि छ ।

राजनीतिक व्यवस्था परिवर्तन र परिवर्तित व्यवस्थाको निरन्तरता समाजको क्रमिक विकासको दुई भिन्न अध्याय हुन् । बौद्धिकहरू यी दुवै अध्यायमा प्रभावी हुन्छन्, तर फरक प्रस्तुतिबाट ।

२०६२/६३ को जनआन्दोलनमा ‘नागरिक समाज’ का रूपमा परिचित बौद्धिकहरू आज त्यही रूपमा क्रियाशील देखिंदैनन् । र, त्यतिवेलाका कतिपय बौद्धिकहरूको सार्वजनिक उपस्थिति नै हराएको छ भने कतिपयको पातलिएको छ । तत्कालीन केही बुद्धिजीवीहरू दलगत राजनीतिको शिकार भए भने कतिपय निराशाको गहिराइमा डुब्न पुगे ।

अध्याय फरक भएकाले नागरिक अगुवाहरूको रूप, क्रियाशीलता र प्रस्तुति फेरिएको छ । तर फरक अध्यायमा पनि क्रियाशील आजका बौद्धिकहरू राज्यसत्ताबाट भए/गरेका सार्वजनिक महत्वका निर्णयहरूमा आम नागरिकको पक्षमा तत्क्षण आफ्ना धारणा राख्न तम्तयार छन् ।

सार्वजनिक विमर्शको अग्रस्थानमा देखिएको नयाँ पुस्ताले नेपाली बौद्धिकतालाई समृद्ध बनाउने सम्भावना देखाएको छ, जसले समाजको शान्ति विथोलिने गरिका जातीय–क्षेत्रीय नारादेखि भारतीय नाकाबन्दीसम्मका प्रतिकूलतालाई निष्प्रभावी बनाउन सक्यो ।

मुलुकमा भइरहेको समानान्तर सत्ता चलाउने दुष्प्रयास विरुद्ध बौद्धिकहरूले देखाएको सक्रियता सलामयोग्य छ । उनीहरूको यो सक्रियताले नेपाली समाजलाई निरन्तर उर्ध्वगामी बनाइराख्नेछ । दशैंको शुभकामना ।

प्रतिकृया दिनुहोस