वन तथा वातावरण मन्त्रालयका निकायमा सम्बन्धित विषयका कर्मचारीलाई जिम्मेवारी दिन माग
वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा महाशाखाहरुमा सम्बन्धित विषयका कर्मचारीलाई जिम्मेवारी दिन माग गरिएको छ ।
वन तथा वातावरणसँग सम्बन्धित विभिन्न पेशागत संघ संस्थाहरुले स्वार्थअनुसार मातहतका निकायमा गैरविषयका कर्मचारीलाई जिम्मेवारी दिन लागिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनीहरुले वन तथा वातावरण मन्त्रालय अन्तर्गत गठन हुने निकायमा सम्बन्धित विषयका विज्ञ कर्मचारी रहनुपर्ने र अनावश्यक विभाग तथा महाशाखाहरु राख्न नहुने मागसमेत गरेका छन् ।
प्रजातान्त्रिक वन प्राविधिक संघका केन्द्रीय अध्यक्ष दामोदर शर्माले वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहने विभाग र महाशाखामा फरक क्षेत्रका विज्ञहरु राख्ने गरी प्रस्ताव तयार गरिएको बताए ।
उनका भनाइमा, प्रस्तावित वातावरण तथा जलाधार व्यवस्थापन विभाग र वातावरण तथा उद्यम महाशाखामा कृषि समुहको सह–सचिवलाई प्रमुख बनाउने तयारी गरिएको छ । “हामीले वन सचिवलाई भेटेर हाम्रो मागको बारेमा ध्यानाकर्षण गरेका छौं,” शर्मा भन्छन् “सम्बन्धित विषय भन्दा बाहिरका विज्ञलाई ल्याउँदा काममा प्रभावकारिता हुन सक्दैन ।”
अहिले वातावरण मन्त्रालय अन्तर्गतको वातावरण महाशाखामा प्रशासन समुह र वातावरण विभागमा कृषि समुहका कर्मचारी प्रमुख छन् ।
त्यसैगरी टिम्बर कर्पोरेसन अफ नेपाल, वन पैदावार विकास समिति, र जडिबुटी कम्पनीलाई एक ठाउँमा गाभेर वन प्राधिकरण बनाउन पनि माग गरिएको छ ।