कला/साहित्यसोमवार, फाल्गुण २१, २०७४

ययातिः यौन–अभीप्साको नियति

शंकर तिवारी

गिरिश कर्नाड भारतका विख्यात नाट्यकर्मी हुन् । उनै कर्नाडले महाभारतको कथामा आधारित भएर लेखेको नाटक ‘ययाति’ राजधानीको शिल्पी गोठाले नाटक घरमा मञ्चित भइरहेको छ । टंक चापागाईंले मिहिनेतपूर्वक यस नाटकलाई नेपालीमा अनुवाद गरी निर्देशन समेत गरेका छन् ।

महाभारतमा वर्णित पौराणिक पात्र ययाति कामवासना र भोगविलासमा आसक्त राजा थिए । देवयानीबाहेक कसैसँग शारीरिक सम्पर्क नराख्ने वचन दिएपछि शुक्राचार्यले छोरी देवयानी उनलाई सुम्पिए । तर, रानी देवयानीकी सुसारे शर्मिष्ठाको सौन्दर्यमा उनी लोभिए । लुकीछिपी सँगै बस्न थाले । यता ययातिपुत्र पुरुराज विवाहको पन्ध्र दिनपछि पहिलो पटक दरबार प्रवेश गर्दैछन् ।

देवयानी आफ्ना पिता शुक्राचार्यलाई गुहार्छिन् । आफ्नो वचन तोडेकोमा क्रोधित शुक्राचार्यले विवाह उत्सवमै ययातिलाई असमयमै बूढो हुने श्राप दिन्छन् । तर कोही मानिसले यौवन साट्न चाहेमा भने ययाति श्रापबाट जोगिन सक्छन् । पुरुराजको प्रवेशसँगै देवयानी दरबार छोडेर जान्छिन् ।

राज्यका कुनै युवकले पनि आफ्नो यौवन साट्न नमानेपछि ययाति आफ्नै कान्छा छोरा पुरुराजकहाँ पुग्छन् । राज्यको उत्तराधिकारी बनाउने शर्तमा यौवन सापटी पाउँछन् । तर पुरुकी नवविवाहिता चित्रलेखाले ससुरा ययातिसँग विद्रोह गर्छिन् । र, आत्महत्याको बाटो रोज्छिन् । चित्रलेखा विद्रोहपश्चात् मात्र उनले भोगविलासको क्षणभंगुरता महसूस गर्छन् । घोर पश्चात्तापमा पर्छन् र छोरालाई यौवन फिर्ता गरिदिन्छन् ।

ययातिका रुपमा घिमिरे युवराजले प्रभावशाली अभिनय प्रस्तुत गरेका छन् । कामुक राजा र बुढ्यौलीको रुपान्तरणलाई स्वाभाविक आवरण दिन उनी सक्षम देखिन्छन् । शर्मिष्ठाका रुपमा पवित्रा खड्काको अभिनयमा खोट लगाउने ठाउँ छैन । कथा अनुसार नै घिमिरे र खड्काको रसायन मिलेको अनुभूति दर्शकहरूले गर्न सक्छन् । देवयानीको पीडालाई सरस्वती अधिकारीले उत्कृष्ट शैलीमा उतारेकी छिन् ।

चित्रलेखाको भूमिका गरेकी अर्चना पन्थीको अभिनय पनि दमदार छ । युवराज पुरु बनेका प्रकेश सिन्धुलीय, सुुसारे स्वर्णलता आकांक्षा जीसीको अभिनय पनि सहज लाग्छ । कलाकारको भेषभुषा चयन स्तरीय देखिन्छ । स्टेज सामान्य देखिए पनि प्रभावकारी छ । यसअघि घिमिरे युवराजलाई नै मूल पात्र लिएर धार्मिक मिथकमै आधारित नाटक माधवी बाट प्रशंसा कमाएका निर्देशक चौलागाईंले ययाति मा पनि आफ्नो साख जोगाएका छन् ।

युवराज पुरुराज जस्तै वर्तमानमा पनि छोराछोरी आफ्ना बाबुआमाको अनेक महत्वाकांक्षाको शिकार भइरहेका छन् । थिएटर प्रज्ञाको प्रस्तुति रहेको सर्वकालीन महत्वको यो नाटक ३ चैतसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस