३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल जिम्बाबेसँग ११६ रनले पराजित
वान डे विश्वकप छनोटको पहिलो दिन टीम नेपाल आयोजक जिम्बाबेसँग ११६ रनले पराजित भएको छ । ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २६४ रन जोड्न सफल भएको हो ।
नेपालका लागि शरद भेषवाकरले ५२, आरिफ शेखले ५०, कप्तान पारस खड्काले ४०, रोहित पौडेल ३० र दिपेन्द्रसिंह ऐरीले २३ रन जोडेका थिए ।
समूह बी मा रहेको नेपाललाई टस जितेर आयोजक जिम्बाबेले ब्याटीङको निम्तो दिएको थियो । जिम्बाबेले ६ विकेटको क्षतिमा पुरा ओभर खेलेर ३८० रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले दुई/दुई तथा सन्दिप लामिछाने र ललित राजवंशीले एक/एक विकेट लिए ।
जिम्बाबेका सिकन्दर राजा र बिआरएम टेलरले सेन्चुरी पुरा गरे । उनीहरु दुबैलाई सोमपालले पेभिलियन फर्काएका थिए ।
१९८३ देखि विश्वकप खेल्दै आएको जिम्बाबे वान–डे अन्तर्राष्ट्रिय वरीयतामा ११ औं स्थानको टीम हो । नेपालले भने नामिबियामा फागुन पहिलो साता सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता हुँदै छनोट यात्रा तय गरेको हो ।
समूह बीमा नेपाल, जिम्बावे, स्कटल्यान्ड, अफगानिस्तान र हङकङ र समूह एमा वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र यूएई छन् ।
दुबै समूहका शीर्ष तीन टोली सुपरसिक्स र फाइनल पुगेका टोली आगामी वर्षको वान डे विश्वकपका लागि छनोट हुनेछन् ।