ससुराद्वारा बुहारीमाथि धारिलो हतियार प्रहार
पर्साको मुडलीमा भएको घरायसी विवादमा एक जना ससुराले बुहारीलाई घरेलु हतियार प्रहार गरी घाईते बनाईदिएका छन् ।
मुडली– ६ बस्ने ५५ वर्षीय ससुरा प्रभु राउत कुर्मीले बुहारी २५ वर्षीया अञ्जुदेवीलाई गडासीले टाउकोमा हानेर घाईते बनाएका हुन् । उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भईरहको छ ।
१६ असोज साँझ बुवाले अञ्जुदेवीलाई गडासीले हानेर घाइते बनाएको अञ्जुका श्रीमान अम्बिका पटेलले बताए ।
अम्बिका, भाई विजय, बुवा प्रभु पटेल र गाँउका एक जनाबीच गाँउमा सामूहिक लगानी गरेको रु ३४ हजार को विषयमा छलफल भईरहेको बेला त्यसको भाग आफूले पनि पाउनुपर्ने अञ्जुले दाबी गरेपछिससुरा प्रभु उठेर गडासीले बुहारीको टाउकोमा हानेका थिए ।
भान्सामा खाना बनाईरहेकै ठाउँमा अञ्जुदेविलाई देउरानी सोचितादेवीले समातेको र ससुरा प्रभुले गडासीले हानेको अम्बिकाले बताए ।
अञ्जुका अनुसार ससुरा प्रभुले यसअघि पनि पटक पटक स–सानो निहुँमा उनलाई कुटपीट गर्दै आएका छन् । “पहिला सासु हुन्जेल त माया नै गर्नुहुन्थ्यो,” अञ्जुले भनिन्, “तीन वर्षअघि सासुको मृत्यु भएपछि ससुराको व्यवहार फेरिएको छ ।”
ससुरा प्रभुकै कुटाईबाट एक वर्षअघि हात भाँचिएको पनि उनले जानकारी दिइन् ।
घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिईएको अञ्जुका बुवा नागेन्द्र राउत कुर्मीले जानकारी दिए ।
पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । “घटनाका बारे हामीकहाँ उजुरी आएको छ, आरोपीलाई पक्रन निर्देशन दिईसकेको छु,” उनले भने, “दुवै पक्षको कुरा सुनेपछि आवश्यक पक्रिया अगाडी बढाउँछौं ।”
सुरेश बिडारी, वीरगञ्ज